कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

१८ दिनमा ४१५ किमि पैदल

विभिन्न मुलुकका ६० जना धुतांगधारी भिक्षु/भिक्षुणीद्वारा स्वयम्भूदेखि लुम्बिनीसम्म शान्ति पैदल यात्रा
मनोज पौडेल

लुम्बिनी — विभिन्न देशका भिक्षुले शान्तिका लागि ४ सय १५ किमि लामो पैदल यात्रा पूरा गरेका छन् । १८ दिन लगाएर उनीहरूले यो याक्रा शुत्रबार पूरा गरेका हुन् । थाई भिक्षु अचान दावको नेतृत्वमा विभिन्न मुलुकका ६० जना धुतांगधारी भिक्षु/भिक्षुणी र उपासक/उपासिकाले स्वयम्भू टु शाक्यमुनि शान्ति पैदल यात्रा सुरु गरेका थिए ।

१८ दिनमा ४१५ किमि पैदल

काठमाडौंको स्वयम्भूबाट पैदल यात्रा थालेका उनीहरू ललितपुरका विभिन्न विहार हुँदै थानकोट पुगे । त्यहाँबाट चन्द्रागिरि, चित्लाङ, कुलेखानी, हेटौंडा र नारायणगढ हुँदै दाउन्ने पुगेका थिए । त्यहाँबाट बुद्धको अस्तुधातु राखिएको पश्चिम नवलपरासीको रामग्राम आएर पूजा गरे ।


लुम्बिनी हुँदै बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक आमाबुबासँग भेटघाट गरेको स्थल निग्रोधारामा गए । भारतीय सम्राट अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा बनाएको अशोक स्तम्भ पुगे । शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तुबाट जन्मस्थल लुम्बिनी पुगेर विधिवत् यात्रा सम्पन्न गरेका छन् ।


शान्तिको धर्मदेशना गर्दै गौतम बुद्धले ४५ वर्षसम्म हजारौं माइल हिँडेर विभिन्न मुलुकमा धर्मदेशना गरेकाले आफूहरू पैदल यात्रामा निस्केको थाई भिक्षु सान्तचित्तोले बताए । ‘हामीले पनि उहाँको मार्ग अनुसरण गर्दै सच्चा अनुयायी बन्न कठिन पैदल यात्रा सम्पन्न गरेका हौं,’ उनले भने, ‘३ वटा बुद्धस्थल आसपास पैदल शान्तिको धर्मदेशना गर्न पाउँदा जीवनकै गतिलो पुण्य सञ्चय भयो ।’

भिक्षुहरू ३ दिन हिमपातमा परेका थिए ।


‘दामन र कुलेखानी आसपास हिउँमा हिँड्नुपर्‍यो,’ सहभागी नेपाली भिक्षु सुमंगलोले भने, ‘तैपनि भिक्षुहरूले कुनै कठिनाइ महसुस गरेनन्, सजिलै यात्रा गरे ।’ यात्रा कठिन भए पनि शान्तिको खोजीमा लागेकाले भिक्षुहरूलाई कुनै समस्या नभएको उनले बताए । ‘यात्राको सुरुआत र अन्त्यका लागि विश्वकै शान्ति र महत्त्वपूर्ण स्थल रोज्यौं,’ नेपाली भिक्षु वजिर प्रेमले भने, ‘सुरुआत बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण स्थल स्वयम्भू र अन्त्य बुद्ध जन्मस्थल लुम्बिनीमा गर्‍यौं ।’ उनीहरू दैनिक २० देखि ३५ किमि

हिँडेका थिए ।


‘दुःखकष्ट गरेर अघि बढे शान्ति र विकासले गति लिन्छ,’ भिक्षु सुमंगलोले भने, ‘त्यही भएर हामी बुद्धमार्ग अनुसरणमा लागेका हौं ।’ उनीहरू ठाउँ–ठाउँमा भिक्षा माग्दै, भोजन गर्दै हिँडेका थिए । बुद्धस्थलमा उनीहरूलाई स्थानीयले मैत्रीपूर्ण व्यवहार र सद्भाव दिए । भोजन दान गरे । उनीहरू सबैले आफ्ना लागि खान, बस्न र सुत्न चाहिने सामान आफैं बोकेर गएका थिए । ठाउँ–ठाउँमा स्थानीय बासिन्दालाई बुद्ध र शान्तिको शिक्षाबारे जानकारी गराएका थिए ।


नेपालमा पैदल यात्रा समाप्त गरेपछि भिक्षु/भिक्षुणी भारतीय बुद्धस्थलतिर लागेका छन् । भारतीय तीर्थस्थलमा भने उनीहरू बसबाट यात्रा गर्नेछन् । कुशीनगर, श्रावस्ती, वैशाली, राजगृह, नालन्दा र बौद्धगया भ्रमण गर्ने उनीहरूको कार्यक्रम छ । त्यसपछि कोलकाता फर्किएर थाइल्यान्ड जानेछन् । धुतांगधारी भिक्षु एकान्तबास र वनजंगलमा बसेर ध्यानसाधना र धर्मदेशना गर्ने भनेर चिनिन्छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?