कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जंगल स्याहार्दै

आनन्द गौतम

ताप्लेजुङ — उपाध्यक्ष भए पनि जगेडा रानी सामुदायिक वनका शेरबहादुर फावेन जंगलमा पसेर अहिलेसम्म सफाइमा जुटेका थिएनन् । उनलाई जंगलमा कटनीछटनी कसरी गर्ने ज्ञानसमेत थिएन ।

जंगल स्याहार्दै

सामुदायिक वनको सदस्य भएको ११ वर्षपछि पहिलोपटक खुकुरी, बन्चरो, हँसियालगायत हतियार बोकेर जंगल पसेको उनको टोलीले ४ हेक्टर सफाइ गर्‍यो । धेरै भएको हाँगा एउटामात्रै राख्यो, ठुटाहरू पन्छाइदियो र अनावश्यक झाडी हटाएर जंगल क्षेत्र सफा पार्‍यो ।


छिमेकी वडा फाकुम्बाकी लाक्पा जाङ्मु पनि यसैगरी सरसफाइमा लागिन् । यसअघि घाँस र स्याउलाका लागि मात्रै जंगल पस्ने उनले विशुद्ध वन सफाइकै लागि भने पहिलोपटक जुटिन् । नेरुवा सामुदायिक वनकी सदस्य उनीसँग उनकी देउरानीहरू पेमाडोमा, मिङमालमु, ल्हामु र पेम्बा दिकी शेर्पा पनि गएका थिए । ३ दिनसम्म सामुदायिक वनको कार्ययोजना बनाएका उनीहरूले चौथोदेखि छैटौं दिनसम्म सरसफाइ गरे । ‘कस्तो रूख हटाउने, सरसफाइमा कस्ता हतियार कसरी प्रयोग गर्ने भनेर पहिला तालिम लियौं, त्यसपछि जंगल पस्यौं,’ लाक्पाले भनिन्, ‘सिकेपछि काम गर्न सजिलो हुँदो रहेछ ।’


साँघु र फाकुम्बा मात्रै नभएर आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेको कोलबोटे काली सामुदायिक वनको पनि कटनीछटनी गरियो । उपभोक्तालाई प्रशिक्षित गर्न पुगेका जिल्ला वन डिभिजनका अधिकृत श्रीमोहनलाल कर्णले रूख, छटनी गर्दा पहिला तल्लो भागबाट काट्न र अन्तिममा माथिबाट छिनाउन सुझाव दिए । ‘रूख बिरुवाको उत्पादन बीउ, हाँगाबिंगा र ठुटाबाट पलाएर पनि हुन्छ,’ उनले भने, ‘हामीलाई चाहिएको प्रजाति के हो त्यसलाई पहिला यकिन गर्नुपर्छ, केलाई सुरक्षा गर्ने, हुर्काउने, बढाउने निश्चित गर्नुपर्छ । अनि त्यसको व्यवस्थापन गर्नुपर्छ ।’


लगुवा हतियारको प्रयोग गरी चट्ट छिनाए, त्यसले बिरुवा हुर्कनमा समस्या नपर्ने कर्ण बताउँछन् । ‘काट्दा पहिला चोट तलबाट लगाउनुपर्छ । त्यसपछि नलाछिने गरेर च्वाट्ट छिनाउनुपर्छ । नत्र कीरा लाग्छ । ठुटा काट्दा लगुवा औजार प्रयोग गर्नुपर्छ । सकभर ठुटालाई छड्के काट्नुपर्छ । छड्के काटे पानी तर्केर जान्छ ।


पानी नजमेपछि कीरा पर्दैन । कीरा नपरेपछि रोग लाग्दैन,’ उनले थपे, ‘एउटा ठुटो रूखबाट १०/१२ वटा मुना पलायो भने जुन मुना फेदैबाट आएको छ त्यसलाई राख्नुपर्छ । जुन मुना माटोसँग नजिक हुन्छ त्यसले माटोबाट खान पाउँछ र सजिलै बढ्छ । त्यसैले माटोबाट नजिक भएको सोझो सुरिलो छानेर राख्नुपर्छ ।’ बिरुवा र रूखको दूरी मिलाएर राख्न पनि उनले सुझाए ।


सामुदायिक वनलाई जिम्मेवारी लिएको तर पूरा नगरेको गुनासो सरकारी निकायको छ । डिभिजन कार्यालय ताप्लेजुङका पूर्ववन अधिकृत विष्णुलाल घिमिरेको गुनासो यस्तै थियो । उपभोक्ताले वनको सरसफाइमा ध्यान नदिएको गुनासो गर्ने गरेका थिए । मान्छेको जस्तै वनको पनि सरसफाइ अनिवार्य भएको कर्ण बताउँछन् । वर्षमा एकपटक सरसफाइ गर्नुपर्ने उनको धारणा छ । तर सरसफाइ कसरी गर्ने भनेर अहिलेसम्म कसैले नसिकाएको उपभोक्ताले सुनाए ।


यी सामुदायिक वनको सरसफाइ पनि तीनजुरे मिल्के लालीगुँरास संरक्षण क्षेत्र आयोजनाको सहयोग र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखाको समन्वयमा भएको हो ।


कर्ण भने कर्मचारीको अभावमा काम गर्न कठिन भएको बताउँछन् । ‘एउटा इलाकामा एक जनाका दरले पुग्ने गरी अधिकृत पनि छैनन्,’ उनले भने, ‘कर्मचारी आउँदै आउँदैनन्, आए पनि बस्दैनन्, त्यसैले काम गर्न कठिन छ ।’ जिल्लामा १ सय १२ सामुदायिक वन छन् । विश्व वन्यजन्तु कोषको सहयोगमा सञ्चालित आयोजना ताप्लेजुङ, तेह्रथुम र संखुवासभाका १३ स्थानीय तहलाई समेटेर सञ्चालित छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?