१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राउटेलाई जागिर

ज्योति कटुवाल

सुर्खेत — लामो समयदेखि लेकबेंसी नगरपालिकामा बस्दै आएका राउटेका मुखिया, पूर्वमुखियासहित ५ जनालाई परासामाजिक कार्यकर्ताको नियुक्तिपत्र दिइएको छ । आफ्नो समुदायमा मदिरा प्रयोग र बेचबिखन बन्द गर्ने, सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका काठ जथाभावी नकाट्ने, बालबालिकालाई औषधि खुवाउने तथा व्यक्तिगत सरसफाइमा लाग्न सहयोग गर्ने बुँदासहितको नियुक्तिपत्र प्रदान गरिएको हो । 

राउटेलाई जागिर

सामाजिक सेवा केन्द्र (सोसेक) र गुराँस गाउँपालिकाले उनीहरूलाई मासिक तलबको व्यवस्था गरी नियुक्तिपत्र प्रदान गरेको हो । पारिश्रमिक भने १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म दिने तय गरिएको छ । सामान्यतः अन्य समुदायसँग घुलमिल नहुने यो समुदायमा अहिले निकै परिवर्तन आएको छ । उनीहरू अहिले वनजंगल छाडेर सहरकेन्द्रित बनेका छन् ।


दैलेखको गुराँसे हुँदै उनीहरू अहिले सुर्खेतको भेरी नदी किनारमा बस्दै आएका छन् । अन्य समुदायसँग घुलमिल हुँदा उनीहरूको आनीबानीमा दिनप्रतिदिन परिवर्तन हुँदै गएको स्थानीय श्याम विकले बताए । ‘साना नानी पनि अन्य समुदायमा गएर नाच्ने, गाउने गर्न थालेका छन्,’ उनले भने,‘पछिल्लो समय राउटे मोबाइलमा गीत हेर्ने, फिल्म हेर्नेलगायत मनोरञ्जनका क्रियाकलापमा सहभागी हुँदै छन् ।’


स्थानीय दुर्गा खत्रीका अनुसार अहिले राउटेले सरसफाइमा ध्यान दिन थालेका छन् । ‘पहिले औषधि भनेपछि निकै पर भाग्ने उनीहरूले अहिले सामान्य चोटपटक लाग्दा पनि औषधि खोज्ने गरेका छन्,’ उनले भनिन्, ‘जडीबुटीको उपचार उनीहरूले विस्तारै त्याग्दै आइरहेका छन् ।’ सामाजिक सेवा केन्द्र सोसेक पूर्वअध्यक्ष सीता रानाले बाहिरका व्यक्तिहरूलाई राख्नुभन्दा उनीहरूलाई कर्मचारी बनाउँदा उनीहरूमा धेरै परिवर्तन आउने बताइन् ।


उनका अनुसार अहिले राउटेका सामाजिक अवस्थामा सुधार आउन थालेको छ । उनले राउटे समुदायले सरसफाइमा समेत ध्यान दिन थालेको जानकारी दिइन् । ‘नियुक्तिपत्र दिएपछि उनीहरूमा सामाजिक काम गर्न उत्साह जाग्ने विश्वास छ,’ उनले भनिन्, ‘उनीहरूमा समयानुकूल विभिन्न परिवर्तन आउनेमा हामी आशावादी छौं ।’


राउटेका मखिया सूर्यनारायण शाहीले संघसंस्थाको सहयोगले आफूहरूमा धेरै परिवर्तन आएको बताए । ‘हामीले खानपानमा पनि सुधार ल्याइरहेका छौं,’ उनले भने, ‘एउटै समाज भए पनि सबै फरकफरक स्वभावका भएकाले परिवर्तन हुन समय लाग्छ नै ।’

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?