१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रहेनन् भाषाशास्त्री पोखरेल

विराटनगर — भाषाशास्त्री एवं अग्रज साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको आइतबार बिहान निधन भएको छ । ८६ वर्षीय उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । आइतबार बिहान करिब १ बजेतिर अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

रहेनन् भाषाशास्त्री पोखरेल

माघ पहिलो साता भारतको सिक्किमस्थित छोरी त्रिपुरा खरेलको घर गएका बेला पोखरेललाई मस्तिष्कघात भएको थियो । दुई दिन भारतकै सिलिगुढीमा उपचार गरिएको थियो । त्यसपछि तत्कालै काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो । केही सुधार भएपछि विराटनगर ल्याइएको थियो ।


केही दिन सामान्य भए पनि फेरि स्वास्थ्यमा असहजता देखिएपछि विराटनगरस्थित श्री अस्पतालमा राखेर उपचार गरिएको थियो । केही दिनअघि अस्पतालबाट घर फर्काइएको उनका छोरा मुनाल पोखरेलले बताए ।


विसं १९९० मा मकवानपुरको चिसापानीगढीमा जन्मिएका उनले भारतको कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका थिए । २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए ।


उनले विराटनगरको महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गरेका थिए । उनी प्राध्यापनबाट २०४६ मा सेवानिवृत्त भएका थिए । २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य रहेका उनैको नेतृत्वमा वृहत् नेपाली शब्दकोष निर्माण भएको थियो ।


पोखरेलका करिब चार दर्जन कृतिहरु प्रकाशित छन् । पछिल्लो समय उनी रुपारानी नामक महाकाव्यको लेखिरहेका थिए । नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशन गर्ने तयारी थियो । उनका चेला कवि, समालोचक हरि बरालका अनुसार उक्त कृति लगभग पूरा हुने अवस्थामा थियो ।


‘नेपाली भाषा र साहित्य’ ग्रन्थका लागि २०२१ सालको मदन पुरस्कारबाट सम्मानित पोखरेलले दर्जनौं पुरस्कार प्राप्त गरेका छन् । उनकी श्रीमतीको चार वर्षअघि निधन भएको थियो । पोखरेलका १ छोरा र २ छोरी छन् ।


आइतबार उनको परोपकारघाटमा अन्तिम संस्कार गरियो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए । त्यसअवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्राध्यापक डा. टंक न्यौपानेलगायतले नेपाली भाषा र साहित्यमा पोखरेलको योगदानबारे चर्चा गरेका थिए ।


प्रकाशित : फाल्गुन १२, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?