कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राउटे बालिकाको कलिलैमा बिहे

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — लेकबेंसी नगरपालिकास्थित भेरी नदी किनारमा बस्दै आएकी राउटे समुदायकी मयाराम शाही १२ वर्षकी भइन् । आफ्नो स्याहार आफैं गर्न सक्ने अवस्था नभएकी उनको गतसाता आफूभन्दा २० वर्ष जेठा दलबहादुर शाहीसँग विवाह भयो । राउटे बस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिइन् । 

राउटे बालिकाको कलिलैमा बिहे

यी दुईमात्र होइन, एक साता अवधिमा राउटे बस्तीका पाँच बालिकाको विवाह भएको छ । उनीहरूले विवाह गरेका अधिकांश पुरुषको उमेरमा धेरै अन्तर छ । राउटे बस्तीमा यी सबै विवाह राति गरिएका हुन् । तर पाँचै जना बालिकाले आफ्नो विवाह भएकोबारे थाहा नभएको बताए । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्म छन् ।

दलबहादुरको मयारामसँग भएको यो दोस्रो बिहे हो । पहिलेकी पत्नीको मृत्युपछि उनले मयारामसित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् । तर मयारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको समेत थाहा छैन । ‘उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन,’ दलबहादुरले भने, ‘सानै छे, उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वासमा छु ।’ उनले आफ्नो समुदायमा उमेर मिल्ने महिला नभएपछि कम उमेरकै सँग बिहे गर्न बाध्य भएको जनाए ।

सुरमानको पनि मयारामको जस्तै राति १२ बजे विवाह भयो । ‘उनी मेरा दाजु हुन्,’ उनले भनिन्, ‘उनलाई देख्दा नै डर लाग्छ, किन मेरो बिहे गरियो मलाई नै थाहा छैन ।’ शिवराजले आफ्नी पत्नी सानै भएकाले खाना खान र खेल्नसमेत सिकाउनुपर्ने बताए । राउटे बस्तीमा सुरेन्द्र शाही र मसुरी शाही तथा बागे र हीरासिंह शाहीको समेत गतसाता विवाह भयो ।

राउटेहरू रास्कोटी, कल्याल र स्ववंशी गरी तीन प्रकारका रहेको मुखिया सूर्यनारायण शाहीले बताए । उनका अनुसार आफ्नै उमेर समूहका महिला नभएका कारण अधिकांश युवा अविवाहित छन् । विवाहपछि केटा र केटीलाई छुट्टै राख्ने चलन रहेको उनको भनाइ छ । ‘विवाहपछि छुट्टै छाप्रो बनाएर उनीहरूलाई बसाउने

गरिन्छ,’ उनले भने ।

गाजलीले केटा पाइनन्

झन्डै २५ वर्षकी गाजली शाहीले भने आफ्नै उमेरका केटा नपाएर विवाह गरेकी छैनन् । उनको थर कल्याल शाही भएकाले रास्कोटी र स्ववंशीसँग उनको विवाह चल्छ । आफूले विवाह गर्न मिल्ने केटा सानै भएकाले विवाह नभएको उनी बताउँछिन् । ‘आफ्ना उमेरका कोही छैनन्, आफ्नो समुदायबाहेक अन्यसँग बिहे गर्न पाइँदैन,’ उनले भनिन्, ‘त्यसैले अहिलेसम्म मेरो बिहे भएको छैन ।’

तीन जाति रहेका राउटेको कल्याल जातिमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरका केटा/केटी नहुँदा अविवाहित बस्नुपर्ने बाध्यता रहेको छ । राउटेमा आफूभन्दा अघिल्लोको बिहे नगरी कम उमेरकाले बिहे गर्ने चलन छैन । उनका अनुसार कतिपय बालिकाले आमाबुवाको करकापमा विवाह गरेका हुन् । उनले सानो उमेरमा बिहे गर्न हुँदैन भनेर सम्झाउने गरे पनि अगुवा रिसाउने गरेको बताइन् ।

करिब ६ महिनादेखि राउटे समुदायमा बसेर काम गर्दै आएकी दुर्गा खत्रीले सानो उमेरमा विवाह गर्दा राउटे समुदायमा मातृ तथा शिशु मृत्युको जोखिम बढी रहेको बताइन् । ‘अधिकांश महिलालाई पाठेघरको समस्या छ,’ उनले भनिन्, ‘बालबालिका कुपोषणको समस्याले पीडित छन् ।’


प्रकाशित : फाल्गुन १३, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?