२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सरकारी चिकित्सकसँगको वार्ता निष्कर्ष विहीन 

अतुल मिश्र

काठमाडौँ — आन्दोलनरत सरकारी चिकित्सकहरूले बुधवारदेखि मुलुकभरका सरकारी स्वास्थ्य निकायमा आकस्मिक बाहेकको सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारी र सरकारी चिकित्सकबीच आन्दोलनका माग सम्बोधन गर्न सोमवार भएको वार्ता निष्कर्षमा पुग्न सकेन ।

सरकारी चिकित्सकसँगको वार्ता निष्कर्ष विहीन 

सरकारी चिकित्सक सङ्घ नेपाल(गोदान) र नेपाल चिकित्सक सङ्घका अध्यक्षलगायतका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव, स्वास्थ्य सचिवद्वयसँग सोमवार दुई घण्टा वार्ता गरेका थिए ।


‘वार्तामा सरकारी टोलीले समस्या रहेको स्वीकार मात्र गरे’, गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले भने–‘हाम्रो समस्यालाई समाधान गर्नेबारेमा सरकारमा कुनै तत्परता देखिएन । गोदानलाई सरकारी पक्षले पुनः वार्ताको लागि बोलाइनेसमेत जनाएको छ ।


मन्त्रालयले पुल दरबन्दी श्रृजना गरेर चिकित्सकहरूलाई योग्यता र दक्षता अनुसार स्थानीय तह र प्रदेशमा खटाउनु पर्ने मुख्य मागमा सहमति हुन नसकेको हो ।‘पुल दरबन्दीको मागमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले सहमति व्यक्त गरे पनि प्रक्रिया बारे कुनै निर्क्यौलमा पुग्न सकेका छैनन्’ पाण्डेले भने ।


मुलुकमा रहेका करिब एक हजार ४ सय सरकारी चिकित्सकले वार्ता सुरु भए पनि बुधवारदेखि आकस्मिक बाहेकको सेवा बहिष्कार गर्ने कार्यक्रम यथावत् रहेको जनाएका छन् । उनीहरूले बुधवार सरकारले मनाउने ‘स्वास्थ्य सेवा दिवस’ समेत बहिष्कार गर्ने जनाएका छन् ।


माग पूरा नभएमा सरकारी चिकित्सकले सामूहिक राजीनामा समेत सरकार लाइ बुझाउने तयारी गरेका छन् । करिब ६ सय सरकारी चिकित्सकको राजीनामा सङ्कलन भइसकेको छ ।


यसै बिच चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले आठौँ र त्यसभन्दा माथिका तहमा कार्यरत चिकित्सकहरूलाई सङ्घमा पुल दरबन्दी सिर्जना गरी समायोजन प्रक्रिया अगाडी बढाउन सरकारसँग माग गरेको छ । सङ्घले सोमवार विज्ञप्ति जारी गर्दै सरकारी चिकित्सकहरूको आन्दोलनप्रति ऐक्यबद्घता समेत प्रकट गरेको छ ।

प्रकाशित : फाल्गुन १३, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?