१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोसीटप्पुलाई निकुञ्ज बनाइने

सम्भाव्यता अध्ययन पूरा
प्रदीप मेन्याङ्बो

सुनसरी — चरा र अर्नाको राजधानी मानिएको पूर्वको पर्यटकीय स्थल कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउन गरिएको प्रारम्भीक सम्भाव्यता अध्ययन सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव नारायण रुपाखेती संयोजक रहेको तीन सदस्यीय टोलीले अध्ययन गरेको हो ।

कोसीटप्पुलाई निकुञ्ज बनाइने

आरक्षका संरक्षक प्रमुख (वार्डेन) रामदेव चौधरीकाअनुसार सरकारको दीर्घकालीन भिजन अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउन यसअघि वातावरण परीक्षण (आईईई) गरिएको थियो । कोशी टप्पु जीवजन्तु, चराचुरुङ्गी, वन, वनस्पति, हावापानी र जैविक विविधताको अध्ययन, अनुसन्धान र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।


निकुञ्ज बनाएर आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्दै राजस्व संकलन गर्न सकिने उद्देश्यले अध्ययन गरिएको हो । रुपाखेतीको टोलीले गरेको अध्ययनलाई प्रतिवेदन बनाएर विभागमा लैजाने र विभागले मन्त्रालयमा बुझाउनेछ । मन्त्रालयले मन्त्रिपरिषदमा थप छलफल र अनुमोदनका लागि उक्त प्रतिवेदन लैजानेछ ।


आरक्ष प्रमुख चौधरीले भने, ‘सैद्धान्तिक रूपमा आरक्ष भएपछि त्यहाँ रहेका वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन मात्र गर्नुपर्छ, उपभोग गर्न पाइन्न । तर कोशी टप्पुमा उपभोग पनि भइरहेकाले विधानत निकुञ्जमा रूपान्तरित गरेर अगाडि बढ्ने योजनाअनुसार प्रक्रिया सुरु गरेका छौं ।’


आरक्षमा पर्यटक आउने बस्ने, फिसिङ गर्ने, चराहरूको अवलोकन गर्ने, जंगल सफारी गर्ने, सरकारले तोकेको शुल्क तिरी प्रवेश गर्नेको संख्या बढेकाले निकुञ्जमा रुपान्तरण गर्न लागिएको उनले बताए ।


उनका अनुसार विभागले नै आरक्षलाई थप प्रक्रिया अपनाएर निकुञ्जमा रूपान्तरित गर्ने भिजन बनाएको हो । हाल आरक्षको क्षेत्रफल १ सय ७५ वर्गकिलोमिटर रहेको र १ सय ७३ वर्गकिमिलाई मध्यवर्ती क्षेत्र बनाइएको छ । निकुञ्ज बनाउनका लागि थप १ सय ५१ वर्गकिमि क्षेत्र विस्तार गर्नुपर्ने हुन्छ ।


जैविक विविधताले भरिपूर्ण आरक्षमा ५ सय ८७ प्रजातिका नदी तटीय वनस्पति, ४ सय ४१ अर्ना, जङ्गली हात्ती, सालक, ४० प्रजातिका स्तनधारी जनावर, खरमुजुर, कालो भुँडीफोर, सेतो भुँडी फोरलगायत ७ सय २६ प्रजातिका चरा, १ सय ४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतली पाइन्छन् । आरक्ष घोषणा गर्दा ०३२ सालमा ६३ वटामात्र थिए । हिंस्रक मांसाहारी जनावर बाघ, चितुवा नभएकाले अर्नालगायतका जीव जन्तुको वृद्धि भएको चौधरीले बताए । आरक्षमा उत्तरी ध्रुव साइवेरियाबाट समेत हजारौंको संख्यामा हाँस प्रजातिका चरा आउने गरेका छन् ।


संरक्षित क्षेत्रको वर्गीकरणअनुसार वन्यजन्तु आरक्षको अस्तित्वमा रहेको रैथाने अर्ना पाइने नेपालको एक मात्र आरक्षलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले आरक्षको विकल्प खोजिएको हो । कोशी टप्पु विश्व संरक्षण सङ्गको चौथो श्रेणीमा सूचीकृत छ । आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउने योजना अनुसार सरकारले दुई वर्ष पहिले १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा लगेको थियो । अर्नाको सट्टामा १५ वटा गैंडा दिने भनिए पनि हालसम्म प्राप्त नभएको उनले बताए ।


सप्तकोशीको किनारमा रहेको कोशी टप्पु सुनसरी, उदयपुर र सप्तरीको त्रिकोणात्मक सीमामा पर्छ । सरकारले २०६१ साल भदौ ३१ गते यस आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गरी सोहीअनुरूप विभिन्न काम गर्दै आएको छ । क्षेत्रविस्तार गरेर राष्ट्रिय निकुञ्ज बनाएमा उत्तरमा कोशीको किनार चुरेसँग जोडिने भएकाले पूर्वोत्तर भारतबाट आउने वन्यजन्तुको जैविक मार्ग संरक्षित हुनेछ ।


राष्ट्रिय निकुञ्जमा रुपान्तरित भएपछि चितवनबाट गैंडा समेत ल्याउने योजना रहेको छ । सरकारले गत असोजदेखि आरक्ष र निकुञ्जमा प्रवेश गर्ने सबैलाई प्रवेश शुल्क लिने व्यवस्था गरेपछि कोशी टप्पुमा मासिक दुई लाख रुपैयाँदेखि साढे तीनलाख रुपैयाँ राजस्व संकलन हुने गरेको छ । ती मध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय समुदायको हितमा खर्च हुँदै आएको आरक्ष प्रमुख चौधरीले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?