१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'चीनको लगानी नेपालको पनि हितमा हुनुपर्छ'

घनश्याम खड्का

काठमाडौँ — अमेरिकाले नेपालको पनि हितमा हुने गरी आउने चिनियाँ लगानीप्रति आफ्नो मुलुकको कुनै आपत्ति नहुने जनाएको छ ।

'चीनको लगानी नेपालको पनि हितमा हुनुपर्छ'

नेपाल भ्रमणमा रहेका दक्षिण तथा पूर्वी एसिया र प्रशान्त क्षेत्रीय देशहरूको सैन्य मामिला हेर्ने अमेरिकी उपरक्षामन्त्री जोसेफ फेल्टरले सोमबार सञ्चारकर्मीसँगको भेटमा नेपालको पनि हित हुने गरी भित्रिने चिनियाँ लगानी र सम्बन्धलाई अमेरिकाले स्वागत गर्ने बताएका हुन् ।


एसिया र प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न ट्रम्प प्रशासनले अख्तियार गरेको 'इन्डो प्यासिफिक स्ट्राटेजी' को सदस्य राष्ट्र नेपालको सार्वभौमिकता र स्वतन्त्रता रक्षा गर्न अमेरिकाले सहयोग गर्ने उल्लेख गर्दै फेल्टरले चीनप्रतिको धारणा खुला रूपमा राखेका थिए । 'इन्डो प्यासिफिक स्ट्राटेजी कुनै देशविरुद्ध लक्षित छैन, सार्वभौम मुलुक नेपालले अन्य मुलुकलगायत चीनसँग पनि रचनात्मक सम्बन्ध राख्न सक्छ,' फेल्टरले भने, 'चीनको मात्रै नभएर नेपालको पनि हित हुनेखालको सम्बन्धलाई अमेरिका स्वागत गर्छ ।'


चीनले गरिब देशहरूलाई ऋणको भार बोकाएर आफूले मात्रै फाइदा लिने गरेको इतिहास भएकाले त्यसप्रति अमेरिका सचेत भने भएको र इन्डो प्यासिफिक स्ट्राटेजी सदस्य मुलुकको सार्वभौमिकता जोगाउन सघाउने अमेरिकी योजना भएको पनि उनले खुलासा गरे ।


'चीनको लगानी भएका देशहरूमा ऋणको भार थपिने र अस्वस्थ आर्थिक सम्बन्ध हुने गरेको छ, श्रीलंकाको हम्बान्टोटा बन्दरगाहमा त्यस्तै भयो,' उपरक्षामन्त्री फेल्टरले भने, 'हामी आशा गर्छांै कि चीनले आफ्नो पारदर्शिता र लगानीको गुणस्तरमा सुधार गर्छ ताकि चीनको मात्रै होइन, नेपालजस्तो देशको पनि हित होस् ।'


चीनको महत्त्वाकांक्षी परियोजना 'वान बेल्ट वान रोड' मा पाँच वर्षअघि सम्झौता गरेको नेपालले रेल तथा सडक निर्माणमा उत्तरी छिमेकीको लगानी भित्र्याउने पहल गरिरहेको छ । गत डिसेम्बर अन्त्यमा अमेरिका गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बढदो प्रभाव रोक्ने ठानिएको इन्डो प्यासिफक स्ट्राटेजीमा नेपाल पनि संलग्न हुने सम्झौता गरेका थिए ।


दुई शक्ति राष्ट्रको आपसी खिचातानीमा नेपाल पर्न आँटेको भन्दै परराष्ट्र मामिला चनाखो भएर अघि बढाउनुपर्ने टिप्पणी कूटनीतिक वृत्तबाट बारम्बार हुँदै आएको छ । 'इन्डो प्यासिफिक स्ट्राटेजीमा सामेल भएबापत नेपालले कुनै देशसँग मात्रै सम्बन्ध विस्तार गर्न पाउने भन्ने पनि होइन,' उनले भने, 'यो त यस क्षेत्रका अन्य देशझैं नेपालको पनि सैन्य क्षमता विकास गर्ने नीति हो । स्वतन्त्र, समृद्ध नेपालका लागि हो । यो हाम्रो साझा चासो हो ।' यो रणनीतिले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र ओसियाना क्षेत्रका देशको सार्वभौमिकतालाई रक्षा गर्ने उनले बताए ।


'श्रीलंका, माल्दिभ्स, मलेसियालगायत देशमा चीनको क्रियाकलापले हाम्रो ध्यानाकर्षण गराएको छ,' फेल्टरले भने, 'हामी चाहन्छौं, इन्डो प्यासिफिक स्ट्राटेजीका सदस्य राष्ट्रहरूको सार्वभौमिक इच्छालाई कुनै शक्तिले परास्त गर्न नपाओस् ।'


'वान बेल्ट वान रोड' परियोजना केवल चीनको मात्रै हितमा भएकाले नेपाललगायत देश यसबारे सचेत हुनुपर्ने पनि उनले बताए ।


फेल्टरले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा र परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेट गरी नेपालको सैन्य शक्ति सुधारमा अमेरिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपाली सेनाले देखाएको उच्च व्यावसायिकता विश्वभर प्रख्यात भएको भन्दै फेल्टरले थापासँगको भेटमा नेपाली सेनाको प्रशंसासमेत गरे ।


सेनाको शान्ति स्थापना युनिटलाई आधुनिकीकरण गर्ने, दैवीप्रकोप उद्धार कार्यक्षमता बढाउने तालिम सञ्चालन गर्नेलगायत दुई देशको सैन्य सहकार्य गर्नसमेत अमेरिकाले प्रस्ताव गरेको छ । अमेरिकाले नेपाली सेनालाई ४ वटा एम २८ विमान पनि छिट्टै दिने जनाएको छ । 'हामी यो वर्षको अन्तमा दुई विमान र त्यसपछि छिट्टै अर्का दुई विमान दिनेछौं,' फेल्टरले भने ।

प्रकाशित : फाल्गुन १४, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?