१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पहिरो पीडितले लालपुर्जा पाए

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — सुरक्षित स्थानको लालपुर्जा पाएलगत्तै बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बिम्बु गाउँका लतमान तामाङ खुसी भए  । भूकम्पलगत्तै बिम्बु भीर खसेर घरसहित बस्ती नै ध्वस्त बनाएपछि विस्थापित तामाङले बल्ल सुरक्षित जग्गा पाएका हुन्  ।

बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले पीडितलाई लालपुर्जा वितरण गरेकी थिइन् ।


सामुदायिक आत्मनिर्भर केन्द्र (सीएसआरसी) र पिपुल इन निडको सहजीकरणमा सरकारी प्रावधानअनुसार दुई रोपनी जग्गाको लालपुर्जा लिएको उनले सुनाए । ‘अब चाहिँ बस्न पाइने भयो,’ उनले भने । घर बनाउने सुरक्षित स्थानको टुंगो लागेपछि ४९ वर्षीया गढीमाया तामाङले अब चाहिँ सरकार आएको जस्तो अनुभूति भएको बताइन् । विस्थापित १४ परिवारले २८ रोपनी जग्गाको लालपुर्जा पाएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख पाख्रिनले बताइन् । ‘पूर्वाधार, संस्थाको सहजीकरणमा विस्थापितलाई सुरक्षित बास दिलाउने अभियानलाई पहलकदमी लिइरहेका छौं,’ उनले भनिन् ।


दुर्गम घुम्थाङको पल्लो ऋषिघ्याङमा भूकम्पपीडितको इच्छाअनुसार २८ रोपनी जग्गा खरिद गरिएको उनले प्रस्ट्याइन् । भूकम्पपीडितलाई लालपुर्जा दिएसँगै जग्गा खरिदकर्तालाई २७ लाख ४७ हजार ८ सय ५० को चेक हस्तान्तरण गरिएको थियो । सुरक्षित स्थानमा जग्गा प्रक्रिया मिलाउन लामो समयको कसरत गरिएको थियो । ‘भूकम्पपछि कृषि पेसामा निर्भर रहेका भूकम्पपीडितलाई त्यही वातावरणमा मिलाउन समय धेरै लागेको छ,’ उनले भनिन् ।


जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख जयप्रकाश गुप्ताका अनुसार जिल्लाभर ८ सय ४८ विस्थापित परिवार छन् । ‘स्थानीय सरकार, संस्थाको समन्वयमा २ सय २२ परिवारले यसरी नै लालपुर्जा पाइसकेका छन्,’ उनले भने । भूकम्पपछि विस्थापित भएका बिम्बुगाउँका १४ परिवारका लागि सरकारी प्रक्रियालाई टेकेर लालपुर्जा दिइएको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?