समृद्ध नगरका योजनाकार थिए दाहाल

इलाम र धनकुटा — राजनीतिक संक्रमणको लामो अवधिमा देशैभरि स्थानीय तहमा विकास–निर्माण ठप्प हुँदा इलाम नगरपालिका भने हरितनगरको अवधारणासहित अघि बढेको थियो । पर्यटकीय पूर्वाधार विकासदेखि जनजीविकाका हरेक पक्षमा नगरको सोच पूर्वका अरू नगरभन्दा भिन्न लाग्थ्यो । 

समृद्ध नगरका योजनाकार थिए दाहाल

पहाडकी रानी उपनाम पाएको जिल्ला सदरमुकामलाई सिंगार्न इलाम नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज दाहालसँग प्रस्ट खाका थियो । उनकै अगुवाइमा बनाइएका पूर्वाधार अहिले पनि नगरपालिकाको पर्यटन विकासका सारथि हुन् ।

मुलुककै पुरानो चियाबारी क्षेत्रमा ट्रेकिङ रोड, चियाबारीमा पोखरी, भ्युटावर, ठाउँ–ठाउँमा प्यागोडा शैलीको चौतारा निर्माणलगायत काममा दाहालले देखाएको तत्परता जोकोहीको मानसपटलबाट हटेको छैन । गौतम बुद्ध सभागृह र शीतभण्डारको काम पनि दाहालकै नेतृत्वमा भएका हुन् ।

इलामलाई टिकाउन हवाई मैदान चाहिन्छ भन्दै उनले सुकिलुम्बा विमानस्थल निर्माण गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए । नगरपालिकालाई प्लास्टिकमुक्त सहर बनाउने अभियान उनकै अगुवाइमा चलेको थियो । बुधबार हेलिकप्टर दुर्घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रहेका दाहालको निधन भएको खबरले इलाम शोकमग्न छ । ‘सुन्दर इलाम निर्माणका लागि अहोरात्र खटिएका दाहाल दुर्घटनामा पर्दा यी संरचनाले उनको याद झनै ताजा बनाइदियो,’ स्थानीय युवा विशाल लिम्बूले भने, ‘बजार क्षेत्रमा अनेकौं पूर्वाधारसँगै प्यागोडा शैलीको चौतारा निर्माण उनकै भिजन थियो ।’

स्थानीय सरकार गठनपछि पनि दाहालकै कार्यकालमा भएका योजनाअनुसार काम भइरहेको छ । ‘यो खबरले सहन नसक्ने पीडा बोध भएको छ,’ नगरप्रमुख महेश बस्नेतले भने, ‘हामीले दिने सच्चा श्रद्धाञ्जली भनेकै उहाँले कल्पना गरेका कामको निरन्तरता र पूर्णता हुनेछ ।’

घटना सार्वजनिक भएसँगै नगरपालिकामा लामो समय सँगै काम गरेका कर्मचारी भावविहवल छन् । दाहालले २०६५ माघ ५ देखि २०६९ वैशाख ३१ सम्म इलाम नगरपालिकाको बागडोर सम्हालेका थिए । ‘चार वर्ष सहकार्य गर्दा युवराज सरको काम गर्ने तौरतरिकाले प्रभावित बनाएको थियो,’ नगरपालिकाका शाखा अधिकृत राम शाहले भने, ‘उहाँलाई काम गर्न रकमको चिन्ता कहिल्यै हुँदैनथ्यो । काम गर्नुपर्छ, स्रोत आफैं जुट्छ भन्ने उहाँको मान्यता थियो ।’


धनकुटावासी शोकमा

दाहालको गृहजिल्ला धनकुटामा शोक छाएको छ । खबर पाएलगत्तै बुधबार जिल्लाका बजार, पसल र चोकचोकमा भेला भएर स्थानीयले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

दाहालको घर धनकुटा–४, देब्रेबास, स्कुलडाँडाको घुम्तीमा पर्छ । जागिरे जीवनको प्रारम्भमा जिल्लामै रहेर काम गरेका उनी बाल्यकालदेखि नै मिजासिलो स्वभावका रहेको स्थानीय बताउँछन् । देब्रेबासका स्थानीयले शोकसभा आयोजना गर्नुका साथै शोकपुस्तिका राख्ने तयारी गरेका छन् । होनहार व्यक्तित्व गुमाउनुपरेको वडासदस्य होमप्रसाद अधिकारीले फ्रतिक्रिया दिए । ‘मुलुकले नै होनाहार व्यत्ति गुमाउनुपरेको छ,’ उनले भने, ‘यस्तो घडीमा समग्र जिल्लावासी शोकाकुल छन् ।’

पूर्वसांसद हेमराज भण्डारीका अनुसार केही दिनभित्रै बेलहारामा बन्न लागेको विमानस्थल क्षेत्र अवलोकन गर्न पर्यटनमन्त्री रवीन्द्र अधिकारी र दाहाल आउने तयारीमा थिए । मंगलबार दुवैसँग राजधानीमा भेटघाट गरेका भण्डारीले घटनाबाट आफू मर्माहत बनेको बताए ।

धनकुटामै रहेकी दाहालकी कान्छी बहिनी जमुना बुधबार साँझसम्म विक्षिप्त अवस्थामा छिन् । दाजुले अघिल्लो दिन फोनमा चाँडै भेट गर्न आउने बताएको उनले सम्झिइन् । विराटनगर बस्दै आएकी ८५ वर्षीया आमालाई घटनाले बढी पिरोलेको जमुनाले बताइन् । ‘अकल्पनीय घटनाबाट धैर्य गर्नर् कठिन भएको छ,’ उनले भनिन् ।

दाहालका बाल्यकालका साथी कमल श्रेष्ठले घटना सुनेदेखि नै असह्य पीडा भएको बताए । दाहाल मुखियादेखि क्रमशः सबै पदमा लोकसेवा आयोगबाट उत्तीर्ण हुँदै उपसचिवसम्म पुगेका थिए । उनले जिल्लामा पनि हुलाकलगायत कार्यालयमा काम गरेका थिए ।

याे पनि पढ्नुहाेस् :

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

प्रकाशित : फाल्गुन १६, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?