३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हिउँदे अन्नबालीमा क्षति

प्रदेश ब्युरो

सुर्खेत — लगातारको भारी हिमपातले उच्च लेकाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालीकोटवासी बढी प्रभावित भएका छन् । अत्यधिक चिसो बढेपछि स्थानीयलाई घर बाहिर निस्कनै समस्या छ । पुस अन्तिमदेखि लेकाली क्षेत्रमा लगातार भारी हिमपात भइरहेको छ । पहिलेको हिउँ नबिलाउँदै फेरि थपिने क्रम बढेपछि स्थानीयलाई सास्ती भएको हो ।

हिउँदे अन्नबालीमा क्षति

हिमपातका कारण स्थानीयलाई एक गाउँबाट अर्को गाउँसम्म आउजाउ गर्न समस्या भएको छ । हवाई तथा यातायात सेवासमेत प्रभावित बनेपछि स्थानीय थप मर्कामा परेका छन् । चिसोका कारण बालबालिका र वृद्धलाई बढी समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ ।


जुम्ला सदरमुकाम खलंगामा दुई फिटभन्दा बढी हिउँ जमेको छ । लगातार हिमपात र वर्षाका कारण पशु चौपायालाई समेत समस्या भएको स्थानीय माया शाहीले बताइन् । उनका अनुसार हिमपातले हिउँदेबाली राम्ररी फस्टाएको छ ।


हिमपातले सदरमुकाम खलंगालगायत व्यापारिक केन्द्र बन्द छन् । सरकारी तथा गैरसरकारी कार्यालयका सबै सेवा प्रभावित भएका छन् । विद्यालय खुल्न सकिरहेका छैनन् । कर्णाली राजमार्ग पनि प्रभावित छ ।


माघयता १३ पटक हिमपात

माघ लागेयता कालीकोटमा १३ औं पटक हिमपात भयो । हिमपातले जनजीवन प्रभावित बनेको छ । बुधबार बिहानैदेखि सदरमुकाम मान्मसहितका बस्तीमा हिउँ परिरहेको छ । हिमपातले विद्यालय नियमित हुन सकेका छैनन् । अन्य काम पनि प्रभावित भएको छ । फागुनमा आलु लगाउनुपर्ने लेकाली भेगमा बाक्लो हिमपातपछि कृषकलाई जग्गा खनजोत गर्न पनि कठिन भएको छ ।


बुधबार कालीकोटका ९ वटै स्थानीय तहका मध्यबस्तीसम्म हिउँ झरेको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए । उनका अनुसार फोई, रतडा, रुरु, रुप्सा, भर्ताको थुनीलगायतमा तीन फिटभन्दा बढी हिउँ जमेको छ । लेकाली भेकमा ५ फिटसम्म हिउँ परेको छ । माघ पहिलो सातादेखिको हिमपातले गाउँमा बस्न कठिन भएको फोइमहादेवका कृषक भक्तिप्रसाद पाण्डेले बताए । उनले हिउँ परेकाले स्याउ खेती सप्रिने भएकाले धेरै दुःख नलागेको सुनाए ।


हिमपातले अन्नबाली नष्ट

मंगलबार रातिदेखि भएको हिमपातले जाजरकोटमा अन्नबाली नष्ट भएको छ । करिब १० घण्टादेखि यहाँका उच्च भूभागमा निरन्तर हिमपात भएको हो । गहुँ, जौ, तोरीलगायत अन्नबालीमा क्षति गरेको छ ।


बाक्लो हिमपातले थिचेपछि फल्न लागेको अन्नबाली भाँचिँदा नष्ट भएको स्थानीय किसान बताउँछन् । बारेकोट, कुशे, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाको केही भूभागमा लगाएको अन्नबाली नष्ट भएको छ । लगातारको हिमपातले पाखोबारीमा लगाएको गहुँ र तोरी भाँचेर नष्ट गरेको कुशे ५ का दलबहादुर थापाले बताए । बाला निकालेर पाक्न लागेको गहुँजति हिउँले भाँच्दा नष्ट भयो ।


हिमपातका कारण छिमेकीका घरमा समेत आउजाउ गर्न नसकिने अवस्था आएको स्थानीयले जनाएका छन् । लगातारको वर्षाले यातायातका साधन नचल्दा स्थानीयको आउजाउ ठप्प भएको छ । हिमपात र वर्षाले जाडो ह्वात्तै बढेपछि विद्यालय बन्द छन् । हिमपात तथा वर्षातका कारण बजार र गाउँ सुनसान छन् । वर्षातका कारण खलंगामा पहिरोको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।


(जाजरकोटबाट भीमबहादुर सिंह, कालीकोटबाट तुलाराम पाण्डे र जुम्लाबाट एलपी देवकोटा)

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?