महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य अप्सराको प्रश्न : म कसरी अनागरिक ?

कुशल तिमल्सिना

काठमाडौँ — झापाकी अप्सरी बेगमले थाइल्यान्डमा सम्पन्न महिला विश्वकपको एसियाली छनोट प्रतियोगितामार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरिन् । योसँगै उनको पहिचान नेपालको पहिलो मुस्लिम अन्तर्राष्ट्रिय महिला क्रिकेटरका रूपमा रह्यो ।

महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य अप्सराको प्रश्न : म कसरी अनागरिक ?

यू १९ हुँदै क्षेत्रीय टोलीबाट राष्ट्रिय प्रतियोगितामा स्थापित भएकी मध्यक्रमकी ब्याट्सवुमन अप्सरीको करिअरको ग्राफ उकालो लाग्दै छ । डेब्यु अन्तर्राष्ट्रिय खेलमा हङकङविरुद्ध उनले २४ रनको निर्णायक इनिङ्स खेलेर आफूलाई प्रमाणित गरिन्, जसकै कारण नेपालले जित हात पार्‍यो ।

अप्सरीले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान कायम गरिन् । देशको गौरव राख्ने खेलाडीले आफ्नै पहिचान भने अहिलेसम्म पाएकी छैनन् । १९ वर्ष भइसक्दा पनि नागरिकता बन्न सकेको छैन । नागरिकता नभएकैले पासपोर्ट नबन्दा पहिलो अन्तर्राष्ट्रिय सहभागिताबाट वञ्चित भइन् । दोस्रोपल्ट भने ट्राभल डकुमेन्ट्सको सहारामा थाइल्यान्ड उडिन् । उता पुगेपछि अध्यागमनले रोक्यो र जमानी बसे प्रशिक्षक विनोद दास ।

कथा यस्तो हो

२०५६ असार २३ गते झापाको मेचीनगर नगरपालिका साबिकको वडा नम्बर १० (अहिले ६) मा जन्मिएकी अप्सरीका बुबा आफफ मियाँ हुन् । उनको नागरिकता जन्मका आधारमा २०६३ सालमा बनेको छ । आमा लैमा बेगमको नागरिकता २०५५ सालमा वंशजका आधारमा प्राप्त गरेको देखिन्छ । हजुरबुबा र हजुरआमा दुवैको नागरिकता वंशजकै आधारमा छ । अप्सरीका दाइले पनि वंशजकै आधारमा नागरिकता पाए ।

३ वर्षअघि १६ वर्ष पुगेदेखि नागरिकता बनाउन जाँदा जिल्ला प्रशासन कार्यालयले बाबुले जन्मका आधारमा लिएकाले छोरीको नागरिकता बनाउन नमिल्ने जवाफ दिइरह्यो । राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा नागरिकता चाहिएन तर राष्ट्रिय टोलीमा छानिएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पासपोर्ट बनाउन नागरिकता नभई भएन ।

दुई महिनाअघि थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटका लागि राष्ट्रिय टोलीबाट छानिएपछि नागरिकता बनाउने प्रयासमा उनले खेपेको दुःख भनिसाध्य छैन । नागरिकता बनाउन नसकेरै त्यो प्रतियोगिता गुमाइन् । ‘राष्ट्रिय टोलीमा परेको र प्रतियोगिता खेल्न विदेश जान लागेको भनेर प्रमाण पेश गर्दा पनि मैले नागरिकता पाइनँ, ममीका नामबाट नागरिकता पाऊँ भन्दा पनि कानुन बनिनसकेको जवाफ पाएँ,’ मध्यक्रममा हार्ड हिटरको उपमा पाएकी अप्सरीले भनिन्, ‘एक मन क्रिकेट खेल्नै छाडिदिऊँ भनेर हार खाइसकेकी थिएँ तर सिनियर दिदीहरू र विनोद सर (दास) ले धेरै हौसला र साथ दिनुभयो ।’


त्यसको एक महिनापछि हालै थाइल्यान्डमै भएको विश्वकप छनोटमा भने उनले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसका आधारमा राहदानी विभागबाट ट्राभल डकुमेन्ट पाइन् । ‘सिफारिसका लागि समेत मन्त्रालयले चार दिनसम्म झुलायो । जगत सर (राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा) लाई सँगै लिएर गएपछि बल्ल डकुमेन्ट्स बन्यो,’ उनले भनिन्, ‘जाने बेलामा नेपालको अध्यागमनबाट त जसोतसो मिलाइयो, थाइल्यान्डको अध्यागमनले नमानेपछि विनोद सर जमानी बसेकाले प्रतियोगिता खेल्न पाएँ ।’

थाइल्यान्डमा नेपालले खेलेका ६ मध्ये ३ खेलमा उनले अवसर पाइन् । यूएईविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा डेब्यु गरिन् । पहिलो खेलमा रन बनाउन नसके पनि हङकङविरुद्धको अर्को खेलमा उनले ३५ बलमा ३ चौकासहित २४ रनको महत्त्वपूर्ण इनिङ्स खेलिन् । खेलमा नेपाली ब्याट्सवुमनले बनाएको सर्वाधिक रन हो यो । यो खेल नेपालले ४ विकेटले जितेको थियो । चीनविरुद्ध भने उनले १ रन मात्र बनाउन सकिन् ।

‘पहिलो खेलमा डराएकी थिएँ र आफ्नो स्वभावअनुसार खेल्न सकिनँ । लेन्थबाट बाहिर बल आएको थियो, डिफेन्ड गर्न लाग्दा एज लागेर आउट भएँ,’ डेब्यु खेलमा तेस्रो नम्बरमा ब्याटिङ गरेकी अप्सरीले भनिन्, ‘हङकङविरुद्ध चाहिँ डर हराएको थियो, त्यसैले राम्रो खेल्न सकेँ ।’

पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा परेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु करिअरकै कोसेढुंगा मानेकी अप्सरीले क्याम्पमा धेरै सिक्न पाएको र आफ्नो कमजोरी पत्ता लगाउने अवसर मिलेको बताइन् । मुस्लिम समुदायबाट प्रतिनिधित्व गरेकी अप्सरीले ८ वर्षअघि मात्र ब्याट समाउन सिकेकी हुन् । राष्ट्रिय टोलीकी कप्तान रुविना क्षत्री पनि सोही ठाउँकै भएकाले उनलाई क्रिकेट सिक्न र अवसर पाउन धेरै कसरत गर्नुपरेन, जति नागरिकको पहिचान पाउन गर्नु परिरहेको छ ।

दुई वर्षअघि सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक पूर्वाञ्चलले जित्दा टिमकी महत्त्वपूर्ण सदस्य अप्सरीलाई काँकडभिट्टामा सिलाइकटाइको सामान्य व्यवसाय गरेर बसेको उनको परिवारले सुरुदेखि नै साथ दियो । परिवार, पहिलो प्रशिक्षक विरु श्रेष्ठ र कप्तान रुविना क्षत्रीको विश्वासमा आफू यहाँसम्म पुगेको उनले बताइन् ।

‘हाम्रो मुस्लिम समाजमा सानैमा बिहे गरिदिने परम्पराजस्तै छ, डेढ वर्षअघि मेरो पनि विवाहको कुरा नातेदारबाट आएको थियो । मैले करिअरमा केन्द्रित हुने भनेपछि सेलायो,’ उनले भनिन्, ‘मैले पहिलो मुस्लिम महिला क्रिकेटरको पहिचान बनाएको छु, करिअरमा अहिलेसम्म मुस्लिम भएकै कारणले समस्या भने बेहोर्नुपरेको छैन ।’

मुस्लिम भएकैले आफूले नागरिकता नपाएको हो कि भन्ने आशंका भने अप्सरीले गरिन् । ‘त्यहाँ अन्य समुदायका मानिसलाई नागरिकतामा कुनै समस्या छैन तर मुस्लिम समुदायका मजस्ता उमेर पुगेकाहरू नागरिकता नपाउने धेरै छन्,’ उनले भनिन्, ‘कानुनले कसरी काम गर्छ, थाहा छैन तर १९ वर्षदेखि नेपालमै बसेर अन्तर्राष्ट्रिय क्रिकेटरसम्म भइसक्दा पनि नागरिकता बन्न मेरो कुन योग्यता पुगेन ?’

प्रकाशित : फाल्गुन १७, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?