सेतीका माछा जोगाउन चुनौती

लोप हुँदै रैथाने माछा
वसन्तप्रताप सिंह

बझाङ — स्वादका हिसाबले देशैभर प्रख्यात सेती नदीका माछा लोप हुने खतरा रहेको सरोकारवालाले बताएका छन् । अव्यवस्थित विकास निर्माण र मानवीय गतिविधिका कारण सेतीका माछा संकटमा परेका हुन् ।

सेतीका माछा जोगाउन चुनौती

लामो समयदेखि माछा मारेर जीविका चलाइरहेका मछुवार बालु गिरीले भने, ‘कुनै कुनै माछा त पाउनै छाडिसकेका छन् । ८/१० वर्ष पहिला हेर्ने हो भने अहिले पाइरहेका माछाको संख्या पनि निकै घटिसकेको छ ।’ उनले केही वर्षअघि १/२ घण्टामै ५/७ किलो माछा मार्न सकिने ठाउँमा अहिले दिनभरमा १ किलो पनि मार्न नसकिने बताए ।


सेती नदीमा पाइने तौलका हिसाबले पनि ठूलो मानिएको सट्टो (सहर) माछा केही वर्षयता लोप भइसकेको जयपृथ्वी नगरपालिकाका धनराज कामीले बताए । ‘सट्टो नदेखेको धेरै वर्ष भइसक्यो,’ उनले भने, ‘सायद त्यो माछा त हराइसक्यो जस्तो छ ।’ आफ्नो ४० वर्षको जीवनकालमा न्यूनतम ५ देखि अधिकतम ६५ किलोसम्मको सट्टो मारेको बताउने उनले पाँच वर्षयता यो माछा कसैले नपाएको बताए । सट्टो खाँदा गर्मी र लामखुट्टेको टोकाइबाट हुने औलो रोग पनि निको हुने गरेको उनले सुनाए ।


नदी र खोलाहरूमा माछाको उपलब्धता कम हुँदै गर्दा माछा मारेर गुजारा चलाइरहेकालाई समस्या भएको अर्का मछुवार गिठे सार्कीले बताए । उनले भने, ‘हामीलाई नुन/तेल चलाउनै गाह्रो भएको छ । अरू व्यवसाय गर्ने सीप छैन । माछा मार्ने सीप थियो, खोलामा माछा छैन ।’


केही वर्ष पहिलेसम्म प्रशस्त मात्रामा पाइने स्वादका हिसाबले प्रख्यात असला र चिउँ माछा घट्दै गएको उनीहरूले बताए । यस्तै, सेती र यसका सहायक नदीमा पाइने गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (सहर) राडी, च्याउटे, थाले, चिम्टीलगायत माछा पनि केही वर्षयता हराउन थालेको मछुवारले बताए ।


अव्यवस्थित तरिकाले खोला र नदी किनारमा निर्माण भएका सडकले नदीमा थुपारेको ढुंगा र गिट्टीका कारण माछाको बासस्थानमा समस्या भएकाले माछाको संख्या घटेको उनीहरूको अनुभव छ । पछिल्लो समय नदी र खोलामा जथाभावी फालिने सिसा, प्लास्टिकलगायत फोहोरका कारण पनि माछाका बासस्थान कम हुँदै गएको र माछाको संख्या घटेको मछुवार बताउँछन् ।


सानो आँखा भएका जालको प्रयोग, करेन्ट लगाउने, विस्फोटक पदार्थको प्रयोगले साना माछा मर्दा संख्या घटदै गएको छबिसपाथीभेराका लाल गिरीले बताए । यस्तै खिरोगडेरोलगायत जैविक विषादी हालेर माछा मार्ने, घनको प्रयोग गर्ने, खोला नै अर्कोतिर फर्काएर दुवाली थुन्ने गरेका कारण जलचरहरूको अवस्था जोखिममा परेको उनीहरूको भनाइ छ ।


माछामाथिका चुनौतीहरू घटाउन स्थानीय सरकारले नीति बनाएर काम गर्नुपर्ने बताउँदै उनीहरूले यस विषयमा तत्काल नसोचिए केही वर्षभित्रै सेती र यसको जलाधार प्रणालीमा रहेका माछा र जलीय जीवहरूको अस्तित्व समाप्त हुनेतर्फ सचेत गराएका छन् ।

पानी परियोजनाले एक वर्षयता पश्चिम सेती नदीलाई आधार मानेर बझाङको जलाधारभित्र जैविक विविधताको अध्ययन गरिरहेको छ । आफूहरूको अध्ययनले पनि जलीय जीवहरूको अवस्थामाथि चुनौती देखिएको बताउँदै स्थानीय सरकार र समुदाय मिलेर यसको न्यूनीकरणमा लाग्नुपर्ने पानी परियोजनाका नदी बेसिन टिम लिडर गणेश विकले बताए ।


छलफलमा सहभागी जनप्रतिनिधिले पनि यहाँका खोला/नदीको जैविक विविधतामा विकास निर्माण र मानवीय गतिविधिका कारण चुनौती बढ्दै गएको स्वीकार गरेका छन् । जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्रबहादुर खड्काले दिन प्रतिदिन बिग्रँदै गएको सेतीको अवस्थाप्रति आफूहरू चिन्तित रहेको बताए । उनले जलीय जैविक विविधता संरक्षणसम्बन्धी कानुन बनाएर लागू गर्ने बताए ।

प्रकाशित : फाल्गुन १७, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?