कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दार्चुलामा जिप दुर्घटना, ११ जनाको मृत्यु

मनोज बडु

दार्चुला — शुक्रबार सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । राति करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म १ ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खस्दा १ नाबालकसहित ११ जनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएकाे छ ।  एक जना गम्भीर घाइते छन् । 

दार्चुलामा जिप दुर्घटना, ११ जनाको मृत्यु

रात परेको र भीरका कारण शव संकलन गर्न अप्ठेरो परेको छ । सडकबाट तल महाकाली नदी किनारमा खसेको जिपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ । प्रहरीले घटनास्थलमा ७ जना महिला, तीन पुरुष र एक नावालकको शव फेला पारेको दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएको छ । गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।


२०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो । दुहु गाउँपालिका ५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो । तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा बढी जसो यात्रुहरु उत्रिने र सवारी साधन खाली लगेर पछि फेरि बस्ने गर्थे । तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे । प्रशासनले खाली जिप र ट्याक्टरहरुमा गुड्न दिने भनेपनि सवारी धनीहरुले यात्रुहरुलाई बोक्ने गरेकोले ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

...................

शुक्रबार राति ८ बजेतिर खलंगाबाट छुटेको म १ ज २८० नम्बरको जिप भीरबाट महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा आधा दर्जन बढी घाइते छन् ।

जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको स्थानीयवासी हिक्मतबहादुर वमले बताए ।


घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । राति भएकाले उद्धारमा समस्या भएको स्थानीयवासी वमले बताए ।


अहिले उद्धार चलिरहेको छ । उद्धारमा स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । जिप चालक दीपक धामी घाइते छन् । उनीसहित घाइतेहरुलाई अस्पताल पुर्‍याइँदै छ ।

प्रकाशित : फाल्गुन १७, २०७५ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?