२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

औषधि नै पाउँदैनन् स्वाइन फ्लुका बिरामी

अतुल मिश्र

काठमाडौँ — मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए एच१एन१’ पीडीएम ०९ (स्वाइन फ्लु) को संक्रमणबाट बिरामीको मृत्यु हुनेत्रम रोकिएको छैन  । मौसमी इन्फ्लुएन्जा परीक्षणमा ढिलासुस्ती र उदासीनताले बिरामीको मृत्यु भइरहेको चिकित्सकको दाबी छ  ।

औषधि नै पाउँदैनन् स्वाइन फ्लुका बिरामी

उनीहरूका अनुसार फ्लुको आशंका भएका बिरामीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण प्रतिवेदन समयमै पाउन नसक्ने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट एन्टिभाइरल औषधि लिने प्रक्रिया झन्झटिलो भएकाले बिरामीको मृत्यु हुने गरेको छ ।


‘हाल अत्यधिक मात्रामा स्वाइन फ्लु देखिएको छ,’ त्रिवि शिक्षण अस्पताल आईसीयू विभाग प्रमुख डा. सुवासप्रसाद आचार्य भन्छन्, ‘प्रयोगशालाले समयमै परीक्षण प्रतिवेदन दिँदैन, एन्टिभाइरल औषधि टेमी फ्लु दिनसमेत कन्ज्युस्याइँ भइरहेको छ ।’ एन्टिभाइरल औषधि बजारमा किन्न पाइँदैन । कन्सल्टेन्ट डाक्टरले परीक्षण गर्न पठाएको नमुना पोजेटिभ आए मात्र सरकारी निकायले एन्टिभाइरल औषधि दिने गरेको उनले बताए ।

‘राष्ट्रिय प्रयोगशालाले सातामा दुई दिन मात्र यो परीक्षण गर्छ भने परीक्षण प्रतिवेदनका लागि ७२ घण्टा कुर्नुपर्छ । बिहीबार बेलुका परीक्षण गराउँदा ५ दिनपछि रिपोर्ट आउने अवस्था छ । समयमै एन्टिभाइरल औषधिसमेत नपाउँदा बिरामी भेन्टिलेटरमा पुग्छन्, रिपोर्ट आउँदा कतिको मृत्युसमेत भइसकेको हुन्छ ।’ निजी प्रयोगशालाले एक दिनमै परीक्षण गरेर रिपोर्ट दिए पनि त्यसको आधारमा महाशाखाले औषधि नदिने उनले बताए ।

शिक्षण अस्पतालकै छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास भन्छन्, ‘लक्षण देखिएको ४८ घण्टाभित्रै एन्टिभाइरल औषधि सुरु गर्दा रोगको कडापन र बिरामी अवधि दुवै घटछ भने आईसीयूमा भर्ना हुने वा भेन्टिलेटरमा जाने सम्भावनामा समेत कमी आउँछ ।’ परीक्षण गर्न पठाउँदा ३/४ दिनमा रिपोर्ट आउने औंल्याउँदै डा.दास भन्छन्, ‘त्यतिबेलासम्म कि बिरामी आफैं निको भइसक्छ वा आईसीयूमा पुगिसकेको हुन्छ ।’

उनले क्लिनिकल परीक्षणबाट स्वाइन फ्लुको आशंकासहित चिकित्सकले एन्टिभाइरल औषधि प्रस्तावित गरे सरकारले तुरुन्त उपलब्ध गराउनुपर्ने बताए । ‘हाल एन्टिभाइरल औषधिको समस्याजस्तै छ, बाहिर यो औषधि उपलब्ध छैन,’ नेपाल मेडिसिटी अस्पताल आईसीयू विभाग प्रमुख डा. दिप्तेश अर्याल भन्छन्, ‘उपयुक्त समयमा एन्टिभाइरल औषधि सेवन गर्न नपाउँदा बिरामीको मृत्यु हुनसक्छ ।’ ग्रान्डी इन्टरनेसनल हस्पिटलका अनुसार आईसीयूमा यो मौसममा स्वाइन फ्लु प्रभावित ४० जनाभन्दा बढी भर्ना भएका छन् भने करिब १० जनाको मृत्यु भइसकेको छ । शुक्रबारसमेत स्वाइन फ्लुले एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

गत बिहीबार मात्रै भेन्टिलेटरमा रहेकी स्वाइन फ्लु संक्रमित काभ्रेकी एक महिलाको निमोनियाँले गर्दा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । यो सिजनमा मेडिसिटिमा स्वाइन फ्लु प्रभावित १० जनाभन्दा बढीलाई भेन्टिलेटरमा राखिएकोमा करिब ५ जनाको मृत्यु भएको आईसीयू विभाग अर्यालले बताए । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका निर्देशक डा. कृष्णप्रसाद देवकोटाका अनुसार एक जना स्वाइन फ्लु संक्रमित आईसीयूमा भर्ना छन् भने एक जना शंकास्पद व्यक्ति वार्डमा भर्ना भएका छन् । गत साता स्वाइन फ्लु संक्रमित एक जनाको निधन भएको उनले जानकारी दिए ।

निजी अस्पतालमा भर्ना भएका स्वाइन फ्लु प्रभावितको मृत्यु भएपछि तिनका आफन्तहरू जँचाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइरहेको डा.शेरबहादुर पुनले बताए । ५ वर्षको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी अंग्रेजी महिना मार्चमा स्वाइन फ्लुको संक्रमण देखिने गरेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?