भरतमोहन अधिकारी – निजी क्षेत्रसँग हातेमालो गर्ने नेता

विनोद भण्डारी

विराटनगर — सुनसरी–मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायीले दिवंगत पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलाई मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने नेताका रुपमा सम्झेका छन् ।

भरतमोहन अधिकारी – निजी क्षेत्रसँग हातेमालो गर्ने नेता

‘अधिकारी स्वच्छ छविका मिलनसार नेता थिए’ उनका समकालीन मोरङ व्यापार संघका पूर्वअध्यक्ष ताराचन खेतानले भने, ‘उनी अर्थमन्त्री हुँदा निजी क्षेत्रसँग हातेमालो गरेर मुलुकलाई समृद्धितर्फ लैजाने नीति अख्तियारी गरेका थिए ।’


अधिकारीले नै अख्तियारी गरेको नीतिका कारण मुलुकमा मूल्य अभिबृद्धि कर (भ्याट) र आय करको सफल कार्यान्वयन भएको उनको बुझाई छ । ‘अधिकारी गलत काम गर्ने व्यवसायीलाई कारवाही गर्ने र ठिक काम गर्नेलाई प्रोत्साहन गर्ने नेता थिए’ ७६ वर्षीय खेतानले भने ।


उनी आफनै विद्यालय सहपाठी मन्तुराम अग्रवालले विभिन्न बाणिज्य बैंकहरुको रकम लिएर फरार हुँदा यहाँका उद्योगी व्यवसायीसमक्ष आक्रामक भएको सम्झन्छन् । ‘सरकारी नीति, भारतीय नीति र आफनै व्यवस्थापकीय कमजोरीले उद्योगहरु बन्द हुन्छ’ खेतानले अधिकारीको भनाई उधृत गर्दै भने, ‘समस्याको समाधान गर्नुको सट्टा बैंकको रकम खाएर भाग्नु आपराधिक कार्य हो र त्यो कारवाहीको भागीदार हुनै पर्छ ।’


उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोरा अधिकारीलाई मुलुकको आर्थिक विकासको ‘टर्निङ प्वाइन्ट’ का रुपमा बुझ्छन् । अधिकारीलाई नीजि क्षेत्रको समस्या चाँडो बुझ्ने र समाधान पनि चाँडै गर्ने नेताका रुपमा उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेश जाजुले सम्झेका छन् । ‘उद्योग व्यवसायका समस्या बोकेर उनीसँग पुगेका नीजि क्षेत्रका पदाधिकारी कहिल्यै रित्तो हात फर्कनु परेन’ जाजुले भने ‘अधिकारी नीजि क्षेत्रका मुद्दा चाँडो बुझ्ने र समाधानको बाटो पनि चाँडै खोज्ने नेता थिए ।’


मोरङलाई राजनीतिक कर्म क्षेत्र बनाएका अधिकारी पूर्वका उद्योगी व्यवसायीका अभिभावकझैं रहेको उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् । ‘यस क्षेत्रको नीजि क्षेत्रलाई गरेको सहयोगककै कारण विराटनगरवासीले उहाँको नागरिक अभिनन्दन पनि गरेका थिए’ राउतले भने, ‘अधिकारी पूर्वको नीजि क्षेत्रको लागि आशाका किरण थिए ।’


बृद्ध भत्ताको सुरुवात गर्ने अधिकारीको आफनो गाउँ आफै बनाउ भन्ने अभियानले गाउँ र शहरलाई जोड्न सफल भएको उनको भनाइ छ । अधिकारी उनी मोरङको तत्कालिन निर्वाचन क्षेत्र नं २ बाट २०४८, ०५१ र ०५६ सालको संसदीय निर्वाचनका निर्वाचित भएका थिए ।


‘विराटनगरका उद्योगी व्यवसायी र अधिकारीबीच पारिवारिक सम्बन्ध थियो’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, ‘अधिकारी सधै नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने र राहत दिनुपर्ने पक्षमा थिए ।’ अर्थमन्त्री हुँदा र सांसदमात्र हुँदा पनि अधिकारीले नीजि क्षेत्रका मुद्दालाई प्राथामिकता दिएको सारडाले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?