प्याराग्लाइडिङ नियमन निजी कम्पनीलाई

सुरज कुँवर

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ नियमन गर्ने अधिकार निजी संस्थालाई दिने भएको छ । प्राधिकरणले प्याराग्लाइडर, ह्याङग्लाइडरजस्ता मनोरन्जनात्मक उड्डयन क्रियाकलाप व्यवस्थित रूपमा सञ्चालन गर्न निजी व्यावसायिक कम्पनीलाई आबद्ध गराउन लागेको हो । 

प्याराग्लाइडिङ नियमन निजी कम्पनीलाई

‘प्राधिकरणसँग मनोरन्जनात्मक उड्डयनसम्बन्धी विज्ञता नभएकाले नियमन जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिएको हो,’ पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले भने, ‘अन्य मुलुकमा पनि मनोरन्जनात्मक उड्डयन नियमन व्यावसायिक संस्थाले गर्दा रहेछन् । हामी त्यही मोडलमा जान लागेका हौं ।’


प्राधिकरणले ड्रोनदेखि जेट विमानसम्म नियमन गर्छ । गुरागाईंका अनुसार मनोरञ्जनात्मक उड्डयन क्रियाकलापबारे अध्ययन गर्न केही समयअघि प्राधिकरणका विज्ञहरूले विभिन्न मुलुकमा अध्ययन भ्रमण गरेका थिए ।


नेपालमा सबभन्दा धेरै प्याराग्लाइडिङ हुने क्षेत्र पोखरा हो । त्यहाँ ६४ वटा प्याराग्लाइडिङ कम्पनी छन् । प्रत्येक कम्पनीसँग २ देखि ६ वटासम्म यन्त्ररहित प्याराग्लाइड रहेको प्राधिकरणका प्रबन्धक देवेन्द्रप्रसाद पाण्डेले कान्तिपुरलाई जानकारी दिए । पोखरा विमानस्थलका अनुसार मौसमअनुकूल भएको दिन पोखरामा ४ सयसम्म प्याराग्लाइड उडान हुन्छन् । यस्ता उडान दुई खाले हुन्छन् । ट्यानडम उडानमा पाइलटसँग एक जना यात्रु रहन्छ । सोलो उडानमा पाइलट (प्याराग्लाइडर) मात्रै हुन्छ ।


आइतबार सोलो उडानमा रहेका विदेशी पर्यटकको फेवातालमा खसेर मृत्यु भएको छ । साराङकोटबाट उडान गरेका उनले हावाको चापमा प्याराग्लाइडलाई सन्तुलन गर्न नसक्दा फेवातालमा खसेको अनुमान गरिएको छ । ‘यस्तो सोलो उडानको प्राधिकरणले छानबिन टोली बनाई अध्ययन गर्दैन,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘यसबारे स्थानीय प्रशासन र प्रहरीले छानबिन गर्छ ।’ उनका अनुसार प्राधिकरणले सम्बन्धित कम्पनीबाट घटनाबारे जानकारी भने माग गर्छ ।


सोलो र ट्यानडम उडान गर्ने कम्पनीका उपकरण, पाइलट, पूर्वाधार, टेकअफ र ल्यान्ड गर्ने स्थल लगायतको नियमन भने पोखरा विमानस्थलले गर्दै आएको छ । प्राधिकरणले पोखराबाहेक ललितपुर, धरान र सुर्खेतमा प्याराग्लाइडिङ उडानको अनुमति दिएको छ । पोखराबाहेक अन्य स्थानको नियमन काठमाडौंबाट हुँदै आएको छ । निजी व्यावसायिक संस्थाले पोखरामा मात्र नियमन जिम्मा पाउन लागेको हो । धरान, सुर्खेत र ललितपुरमा हुने उडान भने प्राधिकरण आफैंले नियमन गर्ने छ ।


‘हामीले निवेदन मागेका थियौं,’ प्रबन्धक पाण्डेले भने, ‘पोखरामा रहेका नेपाल एयर स्पोर्ट्स एसोसिएसन र रिक्रिएसनल एभिएसन एसोसिएसन नेपालको आवेदन परेको छ ।’ यी दुईमध्ये प्राधिकरणले एउटालाई आधिकारिक एजेन्सी छनोट गर्नेछ । छानिएको संस्थाले प्राधिकरणलाई दुर्घटना अनुसन्धान, नियमन, अनुमतिपत्र जारी गर्दा सुझाव दिने काम गर्नुपर्ने छ ।


कुनै कम्पनी वा पाइलटको अनुमतिपत्र वा इजाजत निलम्बन/फुकुवा गर्नुपरे पनि एजेन्सीको सिफारिस लाग्ने छ । प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठसहित तीन जनाको टोली गत साता पोखरा पुगेर यी दुई संस्थाको भौतिक अवस्था अनुगमन गरेर फर्किसकेको छ । प्राधिकरणले हवाई उडान हुने क्षेत्र आसपास र रुटलाई असर पर्ने ठाउँमा प्याराग्लाइडिङ गर्न अनुमति दिँदैन । तर प्याराग्लाइडिङ लगायतका मनोरञ्जनात्मक उड्डयन हुने स्थानको एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन्स) जारी गर्छ ।


यस्ता प्रकाशनबारे एउटा गन्तव्यबाट अर्को गन्तव्यमा याक्रु बोकेर इन्जिनयुत्त विमान उडाउने पाइलटलाई जानकारी हुन्छ । पाइलटहरू उडानमा यस्ता स्थलबारे सजग हुन्छन् । मनोरञ्जनात्मक उड्डयन हुने क्षेत्रमा विमान/हेलिकप्टर लैजान मिल्दैन । हवाई रुटमा पनि प्याराग्लाइड लगायतका उपकरण उडान निषेध गरिएको छ ।


नेपाली सेनाले शिवरात्रिका दिन गर्ने प्याराग्लाइडिङ, प्यारासुट र प्याराजिनका लागि प्राधिकरणबाट अनुमति लिनुपर्छ । नेपालमा प्याराग्लाइडिङसम्बन्धी इजाजत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलबाट लिनुपर्छ । इजाजतपत्रसहित करिब एक दर्जन कागजातका आधारमा प्राधिकरणले आरएओसी (रिक्रिएसनल एभिएसन अपरेटर सर्टिफिकेट) जारी गर्छ । प्याराग्लाइडिङ उडाउने पाइलटको तालिम दिन स्याङ्जा र तनहुँमा दुइटा स्कुल छन् । यी स्कुलको पनि प्राधिकरणले नियमन गर्छ ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?