डाक्टर पठाइदिन मुख्यमन्त्रीलाई गुहार
नुवाकोट — दरबन्दी जिल्ला अस्पतालमा राखेर काठमाडौंमा कार्यरत चिकित्सकलाई जिल्ला फकाइदिन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसित अनुरोध गरिएको छ ।
प्रसूति विशेषज्ञ डा. जस्मिन श्रेष्ठ, बालरोग विशेषज्ञ डा. मधुसूदन कायस्थ र जनरल फिजिसियन डा. नियन्तादेवी कार्की अझै जिल्ला नफर्किएपछि नुवाकोट आइपुगेका मुख्यमन्त्रीलाई अस्पताल कर्मचारीले अस्पताल अवस्थाबारे यस्तो जानकारी गराएका हुन् । श्रेष्ठ परिवार नियोजन क्षेत्रपाटी, कायस्थ कान्ति बाल अस्पताल महाराजगन्ज र कार्की वीर अस्पतालमा काजमा छन् । दरबन्दीअनुसार चिकित्सक अभाव रहेको त्रिशूली अस्पताल विकास समितिले जनाएको छ ।
‘संघीय र प्रदेश मन्त्रालय धाइसक्यो,’ समिति अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले भने, ‘अझै काजबाट डाक्टरसाप फिर्ता आउनुभएन । प्राथमिक स्वास्थ्य केन्द्रको क्षमताझैं अस्पताल सञ्चालित छ । अस्पतालले स्थायी चिकित्सक अभावले जेनतेन ओपीडीको टिकट, ल्याब, बेड चार्जलगायतबाट उठेको रकमबाट सेवा प्रवाह गरेको समितिले जनायो ।
‘अस्पतालमा डाक्टरसापलाई पठाइदिन मिल्थ्यो कि,’ निमित्त मिसुले मुख्यमन्त्रीसमक्ष भनिन्, ‘लेखापाल र सहलेखापालसमेत छैनन् । के गर्ने होला ?’ जिल्ला अस्पतालले चिकित्सक माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटक/पटक विशेषज्ञ चिकित्सक पठाइदिन पत्राचार गरेको छ ।
५० शय्याको अस्पताल भए पनि दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाइ भोग्नुपरेको मन्त्रालयमा पठाइएको पत्रमा जाहेर गरिएको छ । अस्पतालमा धेरै समस्या प्रसूति सेवामा परेको छ । अस्पतालले अल्ट्रासान्ड, दुई जना एमडीजीपी, १/१ जना बालरोग विशेषज्ञ, एनेस्थेसिया सहायक, मेडिकल अधिकृत पठाइदिन सम्बन्धित निकायमा भन्दा समेत सुनुवाइ नभएको समितिले जनायो । यो अस्पतालमा नुवाकोट, रसुवा र धादिङका बिरामी उपचारका लागि आउँछन् ।
प्रकाशित : फाल्गुन २०, २०७५ ०८:१८