कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाथीभरामा जहिल्यै प्रतिकूल मौसममा उडान

उच्चपदस्थ व्यक्तिहरू जसरी पनि मन्दिर पुग्ने र माैसम बिग्रिए पनि पटक–पटककाे प्रयासमा दर्शन गरेर फर्कने गरेका छन्
आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरूको प्रायः उडान प्रतिकूल मौसममा हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्चपदस्थ व्यक्तिहरू पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर र्फकने गरेका छन् । 

पाथीभरामा जहिल्यै प्रतिकूल मौसममा उडान

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पाथीभरा दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना हुँदा उनीसहित सात जनाको ज्यान गयो । प्रतिकूल मौसम बेवास्ता गर्दै हेलिकप्टर उडाइएकाले दुर्घटनामा परेको टीकाटिप्पणी भइरहेको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ कात्तिक १० गते पाथीभरा दर्शनका लागि आएकी थिइन् । बाक्लो कुहिरोका कारण मन्दिर परिसरमा हेलिकप्टर अवतरण हुन नसकेपछि उनी एक घण्टा सदरमुकाम फुङलिङमै रोकिनुपरेको थियो । सेनाको ब्यारेकबाट गरिएको दोस्रो प्रयासमा मात्रै उनी मन्दिर पुग्न सफल भइन् ।


तत्कालीन उपराष्ट्रपति परमानन्द झाले पाथीभरा दर्शन गर्न एक दिन कुर्नुपरेको थियो । काठमाडौंबाट हेलिकप्टरमा आएका उनी मौसम बिगि्रएपछि सदरमुकाम फुङलिङमै बसे । भोलिपल्ट पनि राम्ररी खुलेको थिएन । अघिल्लो दिनभन्दा केही सुधार भएपछि हेलिकप्टरमै मन्दिर परिसरमा ओर्लिएर पाथीभरा दर्शन गरी फर्किए ।


तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हेलिकप्टर अवतरण हुनै सकेन । सशस्त्र द्वन्द्वमा माओवादीले ध्वस्त बनाएको जिल्ला वन र जनस्वास्थ्य कार्यालयको भवन पुनर्निर्माणपछि उद्घाटनका लागि आएका उनको मुख्य उद्देश्य पाथीभरा दर्शन थियो । दर्शनपछि फर्किएर दुई कार्यालयको भवन उदघाटन गर्ने कार्यसूची थियो । निकैबेर आकाशमा घुमाउँदा पनि मन्दिर परिसरमा हेलिकप्टर अवतरण गर्न नसकेपछि उनले ढिलो गरी सदरमुकाम फर्किएर भवन उद्घाटन गरेका थिए । त्यसलगत्तै काठमाडौं फर्किए । पछि फेरि आएर दर्शन गरेको पुजारीहरू बताउँछन् ।


तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको भ्रमण पनि अनुकूल मौसममा भएको थिएन । स्वागतका लागि मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष सजन पौडेलका अनुसार हेलिकप्टर अवतरण गरेको एक मिनेटमै कुहिरोले ढाकिएको थियो । उड्ने बेलाको मौसम पनि राम्रो थिएन । बाक्लो कुहिरैबीच हेलिकप्टर उडेको उनले जानकारी दिए । 'पाइलट सेनाका कर्णेल थिए, उनले हेलिकप्टर सिधै उचाइमा लगेर घुमाए,' पौडेलले थपे, 'अहिले सम्झँदा त्यो मौसम पनि राम्रो होइन रहेछ ।'


तत्कालीन राजा ज्ञानेन्द्र र छोरा पारस चढेको हेलिकप्टर मन्दिर परिसरमा बस्न नसकेपछि काफ्लेपाटीमा अवतरण गराइएको थियो, जुन मन्दिरभन्दा साढे चार किलोमिटर तल हो । 'दरबारकै आयोजनामा मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लगाइएको थियो,' पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका तत्कालीन उपाध्यक्ष रणबहादुर कार्कीले भने, 'उदघाटन र समापनमा राजा आउने भनेर अनेक पटक प्रयास गरिएको थियो ।'


प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित पाथीभरामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य पनि दर्शनका लागि गएका थिए । ऐश्वर्यले सुनको सिक्री चढाएकी थिइन् । रानीले चढाएको भनेर पछिसम्म त्यो सिक्री राखिएको समिति अध्यक्ष प्रजापति काफ्ले बताउँछन् ।

पुजारी डिल्ली आचार्यका अनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, झलनाथ खनाल र बाबुराम भट्टराई भने पदमा रहँदा पाथीभरा दर्शनका लागि आएका थिएनन् । पूर्वराष्ट्रपति रामवरण यादव पनि पाथीभरा आएनन् । प्रजातन्त्रपछिका बाँकी सबै सरकार प्रमुख दर्शनका लागि आएको उनले बताए ।


मीनेन्द्र रिजाललगायत केही नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा हिँडेरै मन्दिर पुगेका थिए । प्रधानमन्त्री केपी ओली तथा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र निर्वाचन गराउन बनेको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले हेलिकप्टरमै गएर पाथीभरा दर्शन गरेका थिए । प्रधानन्यायाधीशहरू, निर्वाचन आयोगका आयुक्त पनि दर्शनका लागि आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


क्षमापूजा गरियो

मन्त्री अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनापछि सोमबार मन्दिर परिसरमा क्षमापूजा गरिएको छ । जिल्ला समन्वय समिति संयोजक एवं पाथीभराको भेटी व्यवस्थापन समितिका संयोजक घनेन्द्र मादेनले गएर पूजा गरेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए ।


आगामी दिन यस्ता दुर्घटना ननिम्तिऊन् भनेर पाथीभरा मातासँग कामना गरिएको संयोजक मादेनले बताए । पूजामा भट्टराईसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका सदस्य कृष्ण सुवेदी र माथिल्लो फेदीका व्यवसायी सहभागी थिए । आफूहरूले मन्त्रोच्चारण गरेर क्षमापूजा गरेको मन्दिरका पुजारी डिल्ली आचार्यले बताए ।


पाथीभरा क्षेत्र विकास समितिले माथिल्लो फेदीमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । सभामा एक मिनेट मौनधारण गरिएको थियो । सभालाई जिल्ला समन्वय समिति संयोजक मादेनलगायतले सम्बोधन गरेका थिए । सम्बोधनमा तत्काल घटनास्थलमा पुग्ने जाँगर देखाउने कर्मचारी र स्थानीय बासिन्दालाई धन्यवाद दिइएको थियो ।


दुर्घटना भएको ४५ मिनेटमै माथिल्लो फेदी प्राथमिक स्वास्थ्य केन्द्रका अहेव उमनाथ पौडेल, पाथीभराका कर्मचारी सुमित लिम्बू र प्रहरी जवान उपेन्द्र राई घटनास्थल पुगेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?