३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतबाट पहाड हेर्न कोइलाबास

दुर्गालाल केसी

कोइलाबास, दाङ — जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको मुख्य नाका कोइलाबासमा अन्य चहलपहल कमै भए पनि पहाड हेर्न आउने भारतीयको भने बेलाबेला भीड लाग्ने गर्छ । बिदाको दिन पारेर भारतबाट बालबालिका र उनीहरूका अभिभावक यहाँ आउने गरेका छन् ।

भारतबाट पहाड हेर्न कोइलाबास

भारतको तुलसीपुर बजारनजिक पर्ने भएकाले त्यहाँका स्कुले बालबालिका बिदाको दिन घुम्न र पहाड हेर्न आउने गरेका हुन् । तुलसीपुरका १२ वर्षीय प्रभात शर्माले पहिलोपटक पहाड देखे । कोइलाबास नाका पार गरेर केही उकालो लागेपछि उनले पहाडको आनन्द लिए । ‘सानैदेखि सहरमा बसेकाले पहाड हेर्न पाइएको थिएन । कोइलाबास नजिकै भए पनि आजसम्म आउन पाएको थिइनँ,’ उनले भने, ‘पहाडको चिसो हावापानी, रूख/बिरुवा, भिरालो जमिन देख्दा नयाँ अनुभव भयो ।’


तुलसीपुरकै १० वर्षीया नन्कु यादवले पनि कोइलाबास पुगेर पहाड देखिन् । भारतमा नजिक पहाड नभएकाले नेपाल आएर हेरेको उनले बताइन् । ‘साथीहरूसँग रमाउँदै यहाँ आउन पाइयो । बिदाको दिन र सहरबजारको प्रदूषणबाट टाढा आउँदा रमाइलो भयो,’ उनले भनिन्, ‘नेपाल पनि देखियो । पहाडबारे धेरै थाहा भयो ।’ अभिभावकले पहाड, यसको संरचना, पहाडमा पाइने वनस्पति, जडीबुटी, रूख/बिरुवा र प्राकृतिक स्रोतसाधनबारे जानकारी दिने गर्छन् ।


नाकासम्म गाडीमा आउँछन्, त्यसपछि हिँड्दै पहाडतिर उकालो लाग्छन् । दिउँसो डाँडामा बसेर खाजा खान्छन्, रमाउँछन् । गढवा गाउँपालिका ८ स्थित कोइलाबास कुनै बेलाको चर्चित नाका थियो । व्यापारिक रूपमा निकै चहलपहल हुने उक्त नाका अहिले चर्चामा छैन । सहज भारत आवतजावतका लागि भने प्रयोग भइरहेको छ ।


पहिले राप्ती अञ्चलका सम्पूर्ण सामान यही नाकाबाट निकासी तथा पैठारी हुने भएकाले व्यावसायिक रूपमा पनि नाका महत्त्वपूर्ण थियो । पूर्व–पश्चिम राजमार्ग बनेपछि ३ दशकदेखि कोइलाबासको चहलपहल कम भएको हो । कोइलाबास बजारमा अहिले चहलपहल शून्य छ । घरहरू भत्किने क्रम जारी छ ।


लमही–कोइलाबास सडक कालोपत्रे हुन थालेपछि चहलपहल बढ्न थालेको हो । राम्रा होटल पनि खुल्न थालेका छन् । पहिले कोइलाबासमा भन्सार, विद्युत्, इलाका हुलाक, स्वास्थ्य चौकी, सीमा प्रहरी चौकी, राष्ट्र बैंकको सटही काउन्टर, नेपाल बैंक लिमिटेडको शाखा, वन विभाग, क्वारेन्टाइन चेक पोस्ट, जडीबुटी निकासी, जनकपुर चुरोट कारखाना र साल्ट ट्रेडिङका कार्यालय थिए । अहिले वडा कार्यालय, भन्सार, इलाका हुलाक, विद्युत्, नेपाल प्रहरी र सशस्त्र प्रहरी एकाइ मात्रै छन् ।


सेवाग्राही घट्दै गएपछि सरकारी कार्यालय पनि घट्दै गएका हुन् । सशस्त्र द्वन्द्वमा विस्थापित भएका अधिकांश कार्यालय फर्किएनन् । बजारको चहलपहल कम भए पनि पहाडमा रमाउन भारतीयहरू आउने गरेको वडाध्यक्ष सद्दाम सिद्दिकीले बताए । ‘बिदाको दिन अभिभावक र बालबालिका लाइन लागेर आउँछन् । दिनभर पहाडतिर घुम्छन्, रमाउँछन् अनि बेलुकातिर फर्कन्छन्,’ उनले भने, ‘यसले केही रौनक थपेको छ । बिदाको दिन चहलपहल राम्रै हुन्छ ।’


भन्सार नियमित चले अझै चहलपहल बढ्न सक्ने उनले बताए । सडक कालोपत्रे भइसकेपछि पहाडको टुप्पासम्म पुग्न र देउखुरी उपत्यका हेर्न पनि सहज हुने उनले बताए । ‘माथि डाँडामा पुगेपछि देउखुरी उपत्यका हेर्न सकिन्छ । भारतको भूमि पनि देख्न सकिन्छ,’ उनले भने, ‘यो रमाइलो पर्यटकीय क्षेत्र हुन सक्छ । अब १ वर्षभित्र सडक कालोपत्रे भएर आवतजावत बढ्ने आशा गरेका छौं ।’

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?