चिकित्सा सेवामा शंका

सीप जाँचसमेत गर्न थालिए परीक्षा परिणाम अझ तल झर्छ तर जनताले राम्रो चिकित्सक पाउँछन्–प्रा.डा. धर्मकान्त बाँस्कोटा, अध्यक्ष नेपाल मेडिकल काउन्सिल 
अतुल मिश्र

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच नगर्दा मुलुकमा प्रदान गरिने चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा परेको छ । 

चिकित्सा सेवामा शंका

‘सीप परीक्षाबिना मुलुकमा चिकित्सा अभ्यास गर्न दिइने लाइसेन्सका कारण चिकित्सा सेवाको गुणस्तरीयता, विश्वसनीयता शंकाको घेरामा छ,’ चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले भने, ‘काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने अनुमति प्रदान गर्नुपर्छ ।’


डाक्टरहरूको सीपको परीक्षासमेत लिनुपर्ने माग वर्षौंदेखि उठ्दै आएको हो । काउन्सिलले लिने लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढ्दो छ । ‘सीप जाँचसमेत गर्न थालिए हाल देखिएको परीक्षा परिणाम अझ तल झर्छ, तर जनताले राम्रो चिकित्सक पाउँछन्,’ काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, ‘आर्थिक अभावले यो अत्यावश्यक प्रक्रिया सुरु गर्न सकेका छैनौं । हामीलाई सघाइए केही समयमै सुरु गर्न सक्छौं ।’


लाइसेन्स परीक्षामा ५० प्रतिशत ज्ञान आधारित र ५० प्रतिशत सीप आधारित परीक्षा हुनुपर्ने उनले बताए । काउन्सिलकै एक पदाधिकारीका अनुसार यसै साता एमडी/एमएस/एमडीएस गरेका विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ४० प्रतिशत डाक्टर फेल भएका छन् । स्रोतका अनुसार यो परीक्षामा सोधिएका प्रश्न एमबीबीएस गरेकाहरूले सहजै जवाफ दिन सक्ने खालका थिए । एमबीबीएस/बीडीएस गरेकाहरूको लाइसेन्स परीक्षामा केही वर्षयता सरदर करिब ५० प्रतिशत डाक्टर फेल भइरहेका छन् ।


‘डाक्टरले बिरामी जाँच गर्ने प्रक्रिया सिके कि सिकेनन् भनेर जाँच्ने प्रक्रिया छैन,’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले भने, ‘यसले गर्दा बिरामीले कमसल वा गलत उपचार पाउने प्रबल सम्भावना हुन्छ ।’


विश्वविद्यालयको फाइनल परीक्षामा सीप परीक्षाजस्तो लिइन्छ तर तिनीहरू पनि कमसल रहेको औंल्याउँदै डा. कोइरालाले भने, ‘विशेषगरी निजी मेडिकल कलेजहरूमा कडाइ कम हुन्छ । बाहिरबाट आउनेहरू के पढे, के पढेनन् थाहा भएन ।’ सीप परीक्षा नलिइँदा कमजोर चिकित्सकबाट सेवा लिनुपर्ने भएकाले तत्काल यस्तो परीक्षाको प्रक्रिया सुरु गर्नुपर्ने डा. कोइरालाले बताए ।


काउन्सिलका अनुसार सीप परीक्षाका लागि पूर्वाधार निर्माण गर्न आर्थिक अभाव छ । हाल काउन्सिलमा परीक्षा केन्द्र, स्वायत्तता, स्किल ल्याब, सिमुलसेन ल्याब अभाव छ । बाँस्कोटाका अनुसार सिमुलेसन ल्याबका लागि करिब ५ करोड, स्किल ल्याबका लागि १ करोड, एक सय जना अट्ने परीक्षा हल, एक सय जनाका लागि कम्प्युटरलगायत संरचना भए सीप परीक्षा लिन सकिन्छ ।


करिब ८ वर्षअघि स्नातकोत्तर गरेका चिकित्सकका लागि लिइने लाइसेन्स परीक्षामा सीप जाँचसमेत लिन सुरु गरिएको थियो । त्यसताका स्किल ल्याब, सिमुलेसन ल्याब, कम्प्युटरलगायत नहुँदा बाहिरबाट बिरामी ल्याएर उक्त परीक्षा लिने गरिन्थ्यो । यो प्रक्रिया केही महिनापछि बन्द भयो ।


सीप परीक्षा लिनु ठूलो कुरा भएको डा. कोइरालाको भनाइ छ । ‘यसका लागि काउन्सिलको क्षमता वृद्घि गर्ने कुरा हुन्छ । दीर्घकालका लागि नेपाललाई दिने फाइदाको अगाडि लगानी, तयारी आदि ठूलो कुरा हुँदै होइन र यो गर्नैपर्छ,’ उनले भने ।


मुलुकमा चिकित्सा अभ्यास गर्न चाहने एमबीबीएस/बीडीएस गरेका डाक्टरका लागि नियमित लाइसेन्स परीक्षा र स्नातकोत्तर गरेकाहरूका लागि विशेष परीक्षा हुने गर्छ । नियमित दर्ता प्रमाणपत्र परीक्षाका लागि नेपाल मेडिकल काउन्सिलले मान्यता प्रदान गरेको मेडिकल/डेन्टल विषयका आधारभूत शैक्षिक कार्यक्रम एमबीबीएस/बीडीएस उत्तीर्ण गरी कम्तीमा ६ महिनाको इन्टर्नसिप पूरा गरेकाहरू सरिक हुन्छन् ।


यस्तै विशेष दर्ता प्रमाणपत्रका लागि लिइने विशेष परीक्षामा स्वदेश वा विदेशबाट काउन्सिलले मान्यता प्रदान गरेको मेडिकल/डेन्टल कार्यक्रममा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरेपछि चिकित्साशास्त्रका सम्बन्धित एमडी/एमएस/एमडीएस विषयमा ३ वर्षको विशेषज्ञता हासिल गरेका चिकित्सक सहभागी हुन सक्छन् । मुलुकमा काउन्सिलमा दर्ता करिब २३ हजार चिकित्सक छन् । यीमध्ये करिब ७ हजार जना विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् ।

प्रकाशित : फाल्गुन २२, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?