कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुक्तानी नमिल्दा अमेरिकामै रोकिए हतियार

घनश्याम खड्का

काठमाडौँ — भुक्तानी प्रक्रिया नमिल्दा नेपालले अमेरिकासँग खरिद गर्न लागेको अत्याधुनिक हतियार अन्तिम चरणमा आएर रोकिएको छ । दुई देशको खरिद प्रक्रियामा नियम नमिलेकाले हतियार नेपाल आउन नसकेको सेनाले जनाएको छ । 

‘हामीलाई चाहिने हतियारको गुणस्तर र संख्या सबै छिनोफानो भइसकेको छ,’ सेनाका प्रवक्ता यामप्रसाद ढकालले भने, ‘तर नेपालको खरिद प्रक्रियाको नियम र अमेरिकाको नियममा अन्तर पर्दा हतियार किन्ने काम अघि बढ्न सकेको छैन ।’


गत वर्ष ५ हजार थान अमेरिकी हतियार एम–१६ किन्ने ‘जी टु जी सम्झौता’ (एक देशको सरकारले अर्को देशको सरकारसँग सिधै गर्ने) भएको थियो । नेपालको सार्वजनिक खरिद प्रक्रियाअनुसार सरकारले कुनै सामान किन्दा किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने नियम छ । ‘त्यसअनुसार हामीले पहिलो किस्तामा १० प्रतिशत, हतियार नेपाल रवाना भएपछि ८० प्रतिशत र त्यो नेपाल आइपुगेपछि बाँकी १० प्रतिशत दिने प्रस्ताव गरेका थियौं,’ उनले भने, ‘अमेरिकी सरकारको चाहिँ सामान बेचेपछि सबै पैसा एकैपटक भुक्तानी लिने नियम रहेछ ।’


केहीअघि नेपाल आएका अमेरिकी उपरक्षामन्त्री जोसेफ फेल्टरले यसबारे उठेको एक प्रसंगमा हतियार नेपाल आउन नसक्नाका कारण ‘मोड अफ पेमेन्ट’ रहेको भन्दै त्यो छिटो सल्टाउन दुवै देशबीच कुराकानी भइरहेको बताएका थिए । ‘दुईमध्ये एक देशको नियममा अदलीबदली गर्नुपर्ने अवस्था छ,’ उनले भनेका थिए, ‘अमेरिकाको नियम संशोधन गर्न सजिलो छैन । हेरौं, समाधानका अरू पनि बाटा छन् कि !’


अमेरिकाले इन्डो प्यासिफिक रणनीतिको मुख्य साझेदारका रूपमा नेपाललाई पनि समेटेको घोषणा गरेका बेला आफ्नो हतियार नेपाली सेनालाई बेच्न पाउनु महत्त्वपूर्ण घटनाका रूपमा लिएको छ । विशेष गरी राष्ट्रसंघीय शान्ति मिसनमा सेनाले प्रयोग गर्दै आएको यो अमेरिकी राइफल अत्याधुनिक मानिन्छ ।


राणाकालीन भरुवा बन्दुकपछि थ्री नट थ्री बोक्दै आएको सेनाले आफूलाई आधुनिकीकरण गर्ने योजनाअन्तर्गत पञ्चायतकालमा बेल्जियममा बनेको एसएलआर, इजरायली गलिल र भारतीय इन्सास राइफल प्रयोग गर्दै आइरहेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि सेनाले अमेरिकासँग अत्याधुनिक मानिने एम–१६ किन्दै आएको छ ।


सेनासँग भएकामध्ये यो राइफलको मार क्षमता सबभन्दा बढी ५ सय ५० मिटर छ । सैनिक स्रोतका अनुसार दरबार हत्याकाण्ड हुनुअघि तत्कालीन युवराज दीपेन्द्रले राजा वीरेन्द्रलाई यही हतियार किन्न दबाब दिइरहेका थिए । नेपालमा त्यस बेला अमेरिकी सरकारले केही थान एम–१६ नमुनाका लागि पठाएको थियो, जसलाई दीपेन्द्रले आफ्नो खोपीमा राख्ने गर्थे ।


उनले २०५८ जेठ १९ गते शुक्रबारको रात्रिकालीन शाही डिनर समारोहमा त्यही राइफल प्रयोग गरी हत्याकाण्ड मच्चाएका थिए । दरबार हत्याकाण्डलगत्तै नेपालले पहिलो पटक अमेरिकासँग १७ हजार थान एम–१६ राइफल खरिद गरेको थियो । अहिले भने खास गरी शान्ति स्थापनाका लागि विभिन्न देशमा खटिएका नेपाली सेनाको प्रयोगका लागि उक्त राइफल किन्न लागिएको प्रवक्ता ढकालले बताए ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?