अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

सुरज कुँवर

काठमाडौँ — दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जीर्णोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने बिहान ८ बजे मात्रै सुचारु गरिनेछ । राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेका उडानमध्ये १५/२० प्रतिशत कटौती हुने देखिन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने । हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् ।


‘सबै तयारी पूरा भएको छ,’ नागरिक उड्डयन प्राधिकरणमातहत रहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले कान्तिपुरसँग भने, ‘अप्रिल १ तारिखदेखि चिनियाँ ठेकेदारले धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्धार) थाल्दै छ ।’ कुनै बाधा आइनपरे र समयमै काम सकिए मध्यअसारपछि विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्न सकिने उनले जनाए । अहिले यो विमानस्थल बिहान ५ बजे खुलेपछि राति ३ बजे बन्द हुँदै आएको छ । अत्यधिक पानी पर्दा वा अन्य कुनै समस्या आइपर्दा आकाशमै जहाज होल्डमा राखेर धावनमार्ग मर्मत हुने गरेको छ । ‘अबको जीर्णोद्धारपछि २० वर्षसम्म २४ घण्टा हाराहारी सञ्चालन गर्न सकिनेछ,’ निर्देशक पौडेलले कान्तिपुरसँग भने ।


प्राधिकरणले २०३२ सालमा २ किलोमिटर मात्रै लम्बाइ रहेको धावनमार्गमा एक किलोमिटर थपेर तीन किलोमिटर बनाएको थियो । त्यसयता सामान्य मर्मतसम्भार गर्दै धावनमार्ग सञ्चालन गरिएको थियो । आयोजना निर्देशक पौडेलका अनुसार ४३ वर्षयता यो काम पहिलो पटक गर्न लागिएको हो । यसका लागि प्राधिकरणले गरेको ग्लोबल टेन्डरबाट चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन छानिएको छ ।


यसले विशेष प्रविधियुक्त मिलिङ उपकरणबाट धावनमार्ग सुधार्नेछ । हरेक रात १ सय ५० मिटर लम्बाइ तथा २५ देखि ६० मिटरसम्म चौडाइका दरले धावनमार्ग सुधारिनेछ । ‘पुरानो जग भने फालिने छैन,’ पौडेलले भने, ‘हाल राखिएको स्थानअनुसार २० देखि २५ सेन्टिमिटर गहिराइसम्मको अलकत्रा खनेर नयाँ उच्च गुणस्तरको बिटुमिन राखिनेछ ।’


चिनियाँ ठेकेदार कम्पनीले धावनमार्ग जीर्णोद्धारको काम तीन महिनाभित्र सक्ने सम्झौता गरेको छ । धावनमार्गबाहेक, ट्याक्सी–वे र ड्रेनलगायतका पूर्वाधार सुधार्न १८ महिनाको अवधि दिइएको छ । यो परियोजनाका लागि उसले ३ अर्ब ७८ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको छ । यो परियोजनाको आर्थिक स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक विदेशी यात्रुबाट विमानस्थल विकास शुल्क शीर्षकमा उठाउने रकम हो । यो शीर्षकमा हरेक विदेशीले टिकटमा १ हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्छ ।


प्राधिकरणले आर्थिक वर्ष ०७१/७२ देखि यो शीर्षकमा रकम उठाउँदै आएको छ । हालसम्म ७ अर्ब ५९ करोड रुपैयाँ संकलन भइसकेको छ । अर्थ मन्त्रालयले यो रकम काठमाडौं विमानस्थलमा पूर्वाधार विकास र ऋण तिर्नका लागि संकलन गर्न अनुमति दिएको हो ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?