कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री चढेको जहाजलाई टावरले नचिन्दा...

सुरज कुँवर

काठमाडौँ — राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उडानलाई भीभीआईपी श्रेणीमा राखिन्छ । सुरक्षाका कारण यस्ता उडानलाई बिरलै होल्डमा राखिन्छ । मंगलबार भद्रपुर विमानस्थलबाट काठमाडौं र्फकंदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान भने काठमाडौंमा अवतरण गर्ने क्रममा करिब ६ मिनेट होल्डमा पर्‍यो । 

प्रधानमन्त्री चढेको जहाजलाई टावरले नचिन्दा...

प्रधानमन्त्री चढेकै विमान होल्डमा परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विषयमा छानबिन गर्न बिहीबार राज्यमन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय कमिटी गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार सहसचिव सुरेश आचार्य संयोजक रहेको समितिले एक साताभित्र विमान होल्ड हुनुको कारण पत्ता लगाई प्रतिवेदन बुझाउनुपर्नेछ । कमिटीमा मन्त्रालयकै उपसचिव प्रकाश शर्मा ढकाल, कानुनका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका पाइलट सुवास थापा र सदस्यसचिवमा नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नवीना कर्माचार्य छन् ।

कमिटी गठन हुनुअघि प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले आन्तरिक छानबिन गरेका थिए । महानिर्देशक गौतमले बुधबार पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र सचिव मोहनकृष्ण सापकोटालाई यस विषयमा ब्रिफ गरेका थिए । स्रोतका अनुसार गौतमले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई पनि यसबारे ब्रिफ गरिसकेका थिए । मन्त्रालयले भने सुरक्षाका दृष्टिकोणले छानबिन कमिटी बनाउनुपर्ने अवस्था आइपरेको जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री विमानमा रहेको जानकारी एयरलाइन्सले विमानस्थल कार्यालयमा दिनुपर्छ तर यतीले भद्रपुरमा भरेर बुझाएको फलाइट नम्बर ९२६ को प्लान फारममा प्रधानमन्त्री रहेको उल्लेख छैन । पाइलटले काठमाडौंमा अवतरण गराउन खोज्दा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले यो विमानलाई भक्तपुर-चाँगुनारायणमाथिको आकाशमा होल्डमा राखेको थियो ।

एक एटीसीका अनुसार कतार एयरवेजको विमान बौद्धतर्फको धावनमार्ग विन्दु टु-जिरोबाट दोहाका लागि उड्न लाइनअपमा थियो तर पछाडिबाट चलेको हावा (टेलविन्ड) का कारण उसले टेकअफ स्थगन गर्ने घोषणा गर्‍यो । त्यहाँबाट फर्केर फेरि पार्किङवेमा आई बस्यो । धावनमार्गको विन्दुमा छिर्दा र फर्किंदा केही मिनेट लाग्यो । लगत्तै धावनमार्गको पूर्वपट्ट रहेको दमकल घरबाट कुकुर आयो । कुकुर धावनमार्गमा प्रवेश गर्नु उडान सुरक्षाका लागि खतरा मानिन्छ ।

कुकुर धपाउँदा र कतारको विमानलाई पार्किङवेमा फर्काउँदा करिब ५/६ मिनेट प्रधानमन्त्रीको विमानले अकाशमा फन्को लगाउनुपरेको ती एटीसीले दाबी गरे । 'क्याप्टेनले हामीलाई जहाजमा प्रधानमन्त्री रहेको जानकारी गराएको भए कतारको विमानलाई धावनमार्गमा पस्नै नदिई प्रधानमन्त्रीको उडानलाई प्राथमिकता दिने थियौं,' एक एटीसीले त्यस दिनको घटनाबारे भने, 'पाइलटलाई हामीले तिम्रो जहाजलाई होल्डमा राख भनेर निर्देशन दिएपछि मात्रै उनले आफ्नो विमानमा भीभीआईपी रहेको सुनाए तर रेडियो फ्रिक्वेन्सीका कारण प्रस्ट सुनिएन, हामीले भीआईपी मात्रै सुन्यौं ।'

विमानस्थलको नियमअनुसार भीआईपी रहेको विमानलाई अवतरण वा उडानमा प्राथमिकता दिइँदैन । उक्त उडानको कमान्ड गर्ने पाइलटले भने दुईपटक एटीसीलाई जानकारी गराएको बताएका छन् । 'हामीले भीएचएफ रेडियो सेटबाट मेरो जहाजमा फलानो भीभीआईपी छ भन्न सुरक्षाका दृष्टिकोणले मिल्दैन,' क्याप्टेन प्रमोद पौडेलको भनाइ उद्धृत गर्दै एयरलाइन्स स्रोतले भन्यो, 'एउटा गन्तव्यबाट उडेको प्रधानमन्त्रीबारे सरकारी संयन्त्रलाई सूचना नहुनु गम्भीर लापरबाही हो । खासमा सिस्टमले भन्नुपर्ने हो तर पनि मैले दुईपटक भनेको छु । त्यो कुरा विमानको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) मा सुरक्षित हुन्छ । सम्बन्धित निकायले जाँच गरे हुन्छ ।'

प्राधिकरणले भीभीआईपी सवार विमान होल्ड भएको घटनालाई उड्डयन क्षेत्रको गम्भीर त्रुटि भनेको छ । 'भद्रपुरबाट प्रधानमन्त्री विमानमा चढेको त्यहाँको कार्यालयदेखि एटीसीसम्मलाई थाहा छ । एयरलाइन्सले फलाइट प्लानमा प्रधानमन्त्री रहेको उल्लेख गर्दैन । पाइलटले यसबारे उडानका क्रममा टावरलाई भनिदिँदैन, यसरी भीभीआईपी उडान गर्नु एभिएसनमा सिरियस ल्याप्सेस हो,' ती अधिकारीले भने । दैनिक ८० हारहारी विदेशी उडान/अवतरण र २ सय ८० हाराहारी आन्तरिक उडान/अवतरण हुने विमानस्थलमा भएको पछिल्लो यो घटनाले एटीसीहरू तनावमा परेका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?