२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

धरहरा पुनःनिर्माणको कामले गति लियो

रासस

काठमाडौँ — एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब आठ प्रतिशत काम सकिएको छ । 
जमिनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । 

धरहरा पुनःनिर्माणको कामले गति लियो

प्रमुख मानन्धरका अनुसार जमिनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ ।


विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्ने बताएका थिए । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।


पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।


निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।


धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।


एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ । अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?