राष्ट्र बैंक पप्पुलाई नदिइने

पप्पुपछि सबैभन्दा कम दररेट प्रस्ताव गर्ने सिको समानान्तर जेभीलाई ठेक्का
विमल खतिवडा

काठमाडौँ — लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले कम प्रस्ताव गर्नेमध्ये दोस्रो रहेको सिको समानान्तर जेभीलाई ठेक्का दिन लागेको हो । उक्त कम्पनीको प्रस्तावित ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८६ करोड २२ लाख ७१ हजार छ । 

राष्ट्र बैंक पप्पुलाई नदिइने

इकाईले असारमा भवन निर्माणका लागि टेन्डर आह्वान गरेकामा सबभन्दा कम दररेट प्रस्ताव गरेको पप्पुले असोजमा ठेक्का पाउने निश्चित थियो । तर, विवादित कम्पनीलाई दिन लागिएको भन्दै आलोचना भएपछि निर्णय रोकिएको थियो । त्यसपछि प्राधिकरणले आवश्यक निर्णयका लागि प्रधानमन्त्री कार्यालय पठाएकोमा ६ महिनापछि बल्ल टुंगो लागेको हो । इकाइले फागुन १६ गते गोरखापत्रमा प्रकाशित गरेको सिको समानान्तरको ठेक्का स्वीकृत गर्ने ७ दिने आशयको सूचनाको म्याद बिहीबार सकिएको छ ।


‘जसको ठेक्का स्वीकृत गर्ने, उसैको आशयको सूचना निकालिएको हो, अब ठेक्का स्वीकृत हुन्छ,’इकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले भने,‘सुरुमा पप्पु कन्स्ट्रक्सनले कम प्रस्ताव पेस गरेको थियो तर मूल्यांकनकै क्रममा थियो ।’ उनका अनुसार पप्पुलाई अख्तियारबाट मुद्दा दायर भएको र सार्वजनिक खरिद ऐनको कार्यालयले पनि कालोसूचीमा राख्ने सूचना जारी गरेकाले मूल्यांकन टोली द्विविधामा परेको थियो ।

‘पप्पु कन्स्ट्रक्सनका बारेमा यस्ता कुरा आइरहेका थिए, राष्ट्र बैंकले पत्र पठाएर निर्माणका क्रममा विभिन्न कुरा आइरहेको छ, विचार गरिदिनु भनेको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने सवालमा पुनर्निर्माण प्राधिकरणमा लेखेर पठायौँ, प्राधिकरण कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा लेखेर पठाइएको थियो, जवाफ आउन केही समय लाग्यो ।’ उनका अनुसार विट भ्यालिडिटी पिरियड सकिनुभन्दा केही समयअगाडि थप गर्नुपर्‍यो भनेर निर्माण व्यवसायीलाई जानकारी गराउने गरिन्छ ।


‘विट भ्यालिडिटी पिरियड प्रायः सुरुमा ९० दिनको हुन्छ, यो मूल्यांकनका क्रममा भएकाले निर्माण व्यवसायीले बिट भ्यालिडिटि पिरियड र विट सेक्युरिटी दुवै थप्नुपर्ने हुन्छ,’ उनले भने, ‘पछिल्लोपटक पप्पु कन्स्ट्रक्सनले थपेन, प्रधानमन्त्री कार्यालयबाट पनि प्रक्रिया अगाडि बढाउनु भन्ने पत्र आयो, त्यही अनुसार हामीले सूचना निकालेका हौं ।’ ठेक्काको निर्णय आइतबार हुने प्याकुरेलले बताए ।


भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीले २ अर्ब ८ करोडदेखि २ अर्ब ४४ करोडसम्मको प्रस्ताव पेस गरेका थिए । पप्पुले चाइनिज कम्पनी एसआरबिसीसँग मिलेर ठेक्का हालेको थियो ।


ठेक्का ओगटै समयमा काम नसक्ने, निर्माण गरेका पूर्वाधार गुणस्तरहीन भएको सर्वजनिकपछि सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिनसमेत गरेको थियो । सबैभन्दा धेरै पुलको ठेक्का लिएर समयमै नसक्नेमा पप्पु कन्स्ट्रक्सन पर्छ । राष्ट्र बैंकको थापाथलीस्थित अर्को भवनको निर्माण भने तीव्र रुपमा भइरहेको छ । बैशाखमा टेण्डर आह्वान गरिएको भवनको ठेक्का बिलिल कन्टेक जेभीले लिएको छ । ३० महिनाभित्र सक्ने गरी १ अर्ब ८७ करोडमा ठेक्का दिइएको हो ।

प्रकाशित : फाल्गुन २३, २०७५ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?