मागेरै गुजारा

मेनुका ढुंगाना

अछाम — कुडबस्ती गाउँ हुँदै पीपलतोलीसम्म अन्न माग्न मंगलसेन ५ की टंकी बादी बिहानै निस्किइन् । उनको बस्ने ठेगान पनि छैन । गाउँभरबाट मागेर ल्याएको दाल, चामल मंगलसेनको छेउमा रहेको सानो झुपडीमा लगेर पकाउँछिन् । जेनतेन एक साँझको गुजारा चल्छ । फेरि अर्को दिन अर्को गाउँ हिँड्छन्, उसैगरी गुजारा चलाउँछिन्  ।

मागेरै गुजारा

उमेरले ६० नाघेकी टंकीको १० वर्षयता यसैगरी दैनिकी चलिरहेको छ । ‘केही घरमा पुग्दा गाली गर्छन् । दुःख गरी कमाउँछौं, तिमीहरूलाई कसरी दिने भन्दै थर्काउँछन् । केहीले त आँगनमा उभिन पनि दिँदैनन्,’ उनले भनिन्, ‘मेरै उमेरका बूढापाकाले भने धेरथोर दाल–चामल दिन्छन् ।’ चाडपर्व र विवाह व्रतबन्धमा व्यावसायिक रूपमा नाचगान र मनोरञ्जनको जिम्मा लिने बादी समुदायको यो पेसा संकटमा परेपछि मागेरै गुजारा चलाउनुपरेको उनले सुनाइन् । ‘हाम्रो समुदायका बादी पुरुषले बाजा बनाउने र हामी नाचगान गर्थ्यौं । बिस्तारै यो चलन हट्यो,’ उनले सुनाइन्, ‘काम गर्ने उमेर भएका बम्बई जान थाले । हामीजस्तो सहारा नभएका मागेरै गुजारा चलाउँछौं ।’


बादी समुदायले तत्कालीन समयमा आफ्नो सोच्नेभन्दा पनि राजा रजौटा र सामन्तकै इच्छाबमोजिम मनोरञ्जन प्रदान गर्न समय बिताएको सुपारी बादी बताउँछिन् । ‘जातीय रूपमा विभेद भोगिरहेको हाम्रो समुदायले दलित समुदायभित्र पनि सबैभन्दा बढी विभेद भोग्नुपरेको छ । मागेरै गुजारा चलाउनुपर्ने बाध्यताले हामी झन् हेपिएका छौं,’ उनले भनिन् । १२ वर्षअघि विभिन्न माग राख्दै संघर्षमा उत्रिएका बादी समुदाय र सरकारबीच २६ बुँदे सहमति हुँदा ममिता बादी निकै खुसी भइन् ।


दुई छाक टार्नकै लागि अरूको दैलोदैलोमा बस्नुपर्ने दिनको अन्त्य भएजस्तो लाग्थ्यो । राज्यले खाने, लगाउने र बस्ने व्यवस्था गरे कष्टपूर्ण दिनको अन्त्य हुन्छ भन्ने लागेको थियो । तर, १२ वर्षसम्म सरकारले कुनै वास्ता नगर्दा ममितालगायत बादी समुदाय नै निराश बनेको छ ।


२०६५ मा बादी समुदायका महिलालाई यौन शोषण मुक्त र पुनःस्थापनाको घोषणा गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन नसकेको उनी बताउँछिन् । २०६५ पुस २३ को मन्त्रिपरिषद् बैठकले बादी महिलालाई यौन शोषणमुक्त र पुनःस्थापनाको घोषणा गरेको थियो । घोषणा भएको १० वर्ष बित्दा पनि त्यसको कार्यान्वयन नहुँदा बादी समुदायले समस्या झेल्दै आएका छन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?