३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नारीको निर्णय सर्वोपरि

आनन्द गौतम

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका ६ लेलेपको इलाडाँडामा पैदलमार्ग छेउमै तीन वटामात्रै घर छन् । यो पर्यटकीय गाउँ ओलाङचुङगोला जाने बाटोमा पर्छ । यो यस्तो गाउँ हो, जहाँ ओलाङचुङगोला पुग्न बेलुका बास बस्नुपर्छ अनि बिहानको खाना खाएरमात्रै हिंड्नुपर्छ ।
यहाँबाट ओलाङचुङगोला नपुग्दासम्म बीच बाटोमा खाने, बस्ने व्यवस्था छैन ।

नारीको निर्णय सर्वोपरि

तमोर नदीको किनारै किनार भएर पुगिने गोलामा उकालो जाँदा हाइअल्टिच्युट हुने भएकाले सुस्तिरको यात्रा गर्नुपर्छ । बिहान ९/१० बजे खाना खाएर हिंडे बेलुका साँझपखसम्ममा पुगिन्छ । हिंडाइका आधारमा समय निर्धारण हुन्छ ।


होमस्टेजस्तै हुन् यी घर । यहाँ बेलुकाको बास बस्न र बिहानको खाना घरायसी वातावरणमा पाइन्छ । तर, यहाँको अर्को विशेषता भनेको पाहुनाले खाए/बसेको हिसाबचाहिँ आमाहरूले गर्छन् ।


यदि तपाईंले आफ्नो हिसाबको पैसा घरधनी पुरुषलाई बुझाउनुभयो भने पनि त्यो आमाकै हातमा पुग्छ, उत्तिखेरै । हरेक पुरुषले पैसा बुझाउनेलाई कि ‘आमालाई दिनु नि’ भन्छन्, कि त आफैंले थापेर तत्काल आमाको हातमा थमाउँछन् । फिर्ता गर्नुपर्ने भए आमाबाटै हुन्छ ।


ङिमाग्याबु शेर्पासँग १६ वर्षअघि प्रेमविवाह गरेकी कविता लिम्बू आफ्ना पतिले राम्रो व्यवहार गरेको बताउँछिन् । हाँस्दै उनले भनिन्, ‘राम्रै सम्मान गर्छन् र त अन्तरजातीय बिहे गरेको नि ।’ यहाँ दावा र ङिमाकिपा शेर्पा, नाम्ग्या र पासाङल्हामु शेर्पा तथा ङिमाग्याबु र कविता लिम्बू शेर्पाको मात्रै घर छ ।


‘सबै व्यवहार महिलाले गर्ने भएकाले व्यवहार पनि यस्तै देखिएको हो,’ कविताले थपिन्, ‘प्रायः पुरुषहरू ट्रेकिङमा हिंड्ने, बाहिरी काम गर्ने गर्नुहुन्छ, घरायसी व्यवहार हामी गर्छौं ।’ ङिमाकिपा भने आफूले यस्तो व्यवहार आफ्नो सासूबाट सिकेको र आफ्ना सन्ततिलाई पनि यस्तै सिकाएको बताउँछिन् ।


दावा र ङिमाकिपा नाम्ग्या र पासाङल्हामु तथा ङिमाग्याबु र कविताका बाबुआमा तथा सासू–ससुरा हुन् । घरबाहिरको काम गर्ने भए पनि हरेक पुरुषले निर्णय लिनुअघि र कहीँकतै जानुपरे आमालाई सोध््ने गरेको दाबाले सुनाए । तर यो प्रथा यहाँको गाउँमा मात्रै होइन । यो क्षेत्रमै आमाको निर्णय सर्वमान्य हुन्छ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने हरेक गाउँमा आमा समूह छ ।


‘आमाले जे निर्णय गर्छन् त्यो गाउँमा कार्यान्वयन हुन्छ,’ कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बोले भने, ‘आमा समूहले वन संरक्षण, डढेलो नियन्त्रण, परिवार नियोजनजस्ता महत्त्वपूर्ण निर्णय गरेका छन् ।’ कार्यान्वयनमा समेत सफलता भएकाले अगुवा महिला तथा समूहलाई अब्राहम संरक्षणलगायत पुरस्कार दिएको उनले बताए ।


आमा समूहले आफ्नो कोषको रकमबाट संरक्षण क्षेत्रका हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । यसले विपन्न वर्गकाले उच्च शिक्षा हासिल गर्न पाएको ङिमादिकी शेर्पा बताउँछिन् ।


सभा/सम्मेलनमा उपस्थिति पनि पुरुषको तुलनामा महिलाको बढी हुने फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ बताउँछन् । कञ्चनजंघा क्षेक्रमा त्रियाशील समूहमा कोष रकम ४ करोड रुपैयाँभन्दा बढी छ । अहिले सबै रकमलाई सहकारीकरण गरिँदैछ । यसको नेतृत्व पनि आमाहरूले गरिरहेको फेम्बो बताउँछन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?