१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लुम्बिनी भ्रमण वर्ष : फजुल खर्चमै करोडौं सक्ने तयारी

उद्घाटनमा ७० लाख, बैठक भत्ता–खाजा खर्चमा ४६ लाख, सरसफाइमा ४० लाख, कार्यपत्रलाई २० लाख, खीर महोत्सवलाई १३ लाख र राष्ट्रिय झन्डामा १० लाख खर्च बाँडफाँट 
घनश्याम गौतम

रूपन्देही — प्रदेश सरकारले आगामी वर्ष मनाउन लागेको लुम्बिनी भ्रमण वर्षका लागि प्रस्तावित रकममध्येको धेरै बजेट फजुल खर्चमै सकिने देखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउन प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

लुम्बिनी भ्रमण वर्ष : फजुल खर्चमै करोडौं सक्ने तयारी

पर्यटन मन्त्रालयले प्रस्ताव गरेको ४ करोड १९ लाख ६० हजार रुपैयाँ खर्च बैठकले स्वीकृत गर्दै आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । प्रस्तावित खर्चअनुसार उद्घाटन कार्यक्रममा ७० लाख र समापनमा मात्र १५ लाख रुपैयाँ खर्च हुनेछ । उद्घाटन ०७६ वैशाखको बुद्ध पूर्णिमाका दिन र समापन चैते पूर्णिमामा गर्ने सरकारको प्रस्ताव छ ।


मन्त्रालयले तयार गरेको भ्रमण वर्षको वार्षिक कार्यतालिकाअनुसार ६ मुख्य शीर्षकमा ३२ उपशीर्षक अन्तर्गत रकम खर्च गरिनेछ । पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीमा फुड फेस्टिवल र खीर महोत्सव हुनेछ । त्यसका लागि १३ लाख रुपैयाँ छ । मायादेवी मन्दिरमा दैनिक दीप प्रज्ज्वलनमा १२ लाख खर्च गर्ने तयारी छ । प्रचारप्रसारका लागि मात्र १ करोड २५ लाख रुपैयाँ छ ।


त्यसमा सडक प्रदर्शनी, झन्डा निर्माण, स्टिकर, ब्रोसर, होर्डिङ बोर्डलगायतमा ठूलो रकम छुट्याइएको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकालाई ३५ लाख, बुद्धबारेको सडक प्रदर्शनीमा २२ लाख ६० हजार, राष्ट्रिय झन्डा निर्माणमा १० लाख ५० हजार रुपैयाँ छ । २० लाख रुपैयाँका ब्रोसर बन्नेछन् । बुद्ध सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ र डस्टबिन खरिदमा ४० लाख रुपैयाँ खर्च हुनेछ ।

निबन्ध लेखन, साहित्य प्रतियोगिता, क्षमता विकासलगायतमा २७ लाख र अन्तर्राष्ट्रिय स्तरको बौद्ध दर्शन र लुम्बिनीका बारेमा एकपटक प्रस्तुत हुने कार्यपत्रका लागि २० लाख रुपैयाँ रकम छ । त्यस्तै समिति गठन, बैठक भत्ता र खाजा खर्चमा ४६ लाख ६० हजार खर्च हुने प्रस्ताव छ । कार्यक्रमले मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सवका लागि पनि १५ लाख रुपैयाँ खर्च गर्नेछ ।

सरकारले प्रदेश ५ को समृद्धिको आधार पर्यटनलाई पनि मानेको छ । त्यसका लागि गत वर्षको नीति कार्यक्रममा समेत पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । सिंगो प्रदेशको पर्यटन आधार मानिएको लुम्बिनी आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन र बसाइ लम्ब्याऊने गरी कार्यक्रम तयार गर्ने नीति कार्यत्रममै उल्लेख भए पनि भ्रमण वर्षमा त्यो नीतिअनुसार कुनै कार्यक्रम देखिँदैन । लुम्बिनीसँग जोडिएर रहेका तिलौराकोट, रामग्राम, देवदह, गोटिहवा, कुदान, निग्लिहवा, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमानदीलगायतका क्षेत्रमा भ्रमण वर्षमा हुने कुनै कार्यक्रम उल्लेख छैन ।


धेरै कार्यक्रम लुम्बिनी क्षेत्रलाई नै केन्द्रित गरेर तयार गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले बताए । लुम्बिनी क्षेत्रलाई विश्वमै चिनाउने गरी कार्यक्रम तयार गरिएको उनको दाबी छ । ‘धेरै कार्यक्रम प्रचारमुखी नै बनाइएको छ,’ उनले भने, ‘पर्यटन क्षेक्रको विकासका लागि नियमित बजेटबाट छुट्टै कार्यत्रम रहेकाले अहिले प्रचारमुखी नै गराइएको हो ।’ धेरै बजेट आवश्यकताअनुसार खर्च हुने भएकाले फजुल भन्न नमिल्ने उनको तर्क छ । उनले बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका ७ वटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा रहेको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि गरिने उनले बताए ।


भ्रमण वर्ष मनाउन र त्यसको तयारीका लागि मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति बनेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीको संयोजकत्वमा १३ सदस्यीय कार्यकारी समिति छ । मूल समितिको तीनपटक मात्र बस्ने बैठकको भत्ता र खाजा खर्चका लागि ६ लाख र कार्यकारी समितिको १४ पटक बस्ने बैठकका लागि ५ लाख ६० हजार रुपैयाँ खर्च छुट्याइएको छ ।


मन्त्री गिरीले पूर्वाधार निर्माणको काम छुट्टै भइरहेकाले लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्‍याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको बताए । ‘बजेट कति खर्च हुन्छ भन्ने ठूलो कुरा होइन,’ उनले भने, ‘त्यसले कस्तो सन्देश दिन्छ र परिणाम के आउँछ भन्ने महत्त्वपूर्ण हो ।’ प्रस्तावित सबै रकमलाई पर्यटन प्रवर्द्धनमा पूर्ण उपयोगी हुने गरी नै खर्च गरिने उनले दाबी गरे । लुम्बिनीको महत्त्व तथा बुद्धको शान्तिको सन्देशलाई संसारभर फैलाउन र विश्वका बौद्धमार्गीका अलावा शान्तिप्रेमीलाई लुम्बिनीमा भ्रमण गराउने गरी कार्यक्रम हुने उनले बताए ।


मन्त्रालयका सचिव धनञ्जय पौडेलले प्रस्तावित कार्यक्रम पर्यटक भित्र्याउने उद्देश्यबाटै प्रेरित भएकाले प्रदेशको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा महत्त्वपूर्ण साबित हुने बताए । ‘हामीले प्रदेश ५ लाई पर्यटक प्रदेशका रूपमा पहिचान स्थापित गर्ने गरी कार्यक्रम तयार गरेका छौं,’ उनले भने, ‘त्यसका लागि पर्यटक गाइड तयार गर्नेदेखि मायादेवी मन्दिरमा नियमित दीप प्रज्ज्वलनसम्मका सबै काम हुन्छन् ।’


गौतम बुद्ध जन्मेको वैशाख पूर्णिमाबाट कार्यक्रम शुभारम्भ गरेर त्यसपछिका हरेक पूर्णिमामा विशेष कार्यक्रम हुने उनले बताए । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिसससँगको समन्वयमा काम गर्ने गरी कार्यक्रम तयार गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?