प्रदेश सांसद मल्ललाई अपहरण गरेको विप्लव कार्यकर्ताको स्वीकार, आजै छाडिने

बसन्तप्रताप सिंह

बझाङ — सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले अपहरण गरेका छन् । विप्लवका बझाङ जिल्लाका एकजना कमाण्डरले सांसद मल्ल आफूहरूको नियन्त्रणमा रहेको कान्तिपुरलाई जानकारी दिए ।

प्रदेश सांसद मल्ललाई अपहरण गरेको विप्लव कार्यकर्ताको स्वीकार, आजै छाडिने

उनका अनुसार सांसद मल्ललाई सम्मानका साथ राखिएको छ । देवकी मल्लले प्रदेश सांसदको हैसियतमा भएर पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा प्रभावकारी भूमिका खेल्न नसकेको विषयमा सोधपुछको लागि नियन्त्रणमा लिएको उनले बताए । उनले सोधपुछपछि सांसद मल्ललाई आजै छोडिने बताएका छन् ।


अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बिन्दु चन्दलाई सरकारले गिरफ्तार गरको, बझाङको देउरामा हुन लागेको महिला संगठनको कार्यक्रममा प्रहरीले दमन गरेकोले मल्ललाई अपरहण गरिएको समेत उनले बताए ।


नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो । केदारस्युँ गाउँपालिकाको सैन्सुबाट मल्ल अपहरणमा परेकी हुन् ।


प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पनि सांसद मल्लको अपहरणबारे जिल्ला प्रशासन कार्यालयमा सूचना आएको र यस विषयमा बुझ्ने काम भइरहेको बताएका छन् ।

मल्ललाई अपहरण गरेर 30/35 जना विप्लवका कार्यकर्ताले बुङगल नगरपालिकाको जंगलतर्फ लगेको स्थानीयले बताएका छन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?