मधेसको 'थर्ड पोल' हुन सक्छन् राउत

अहिले भइरहेका राजनीतिक दलमा प्रवेश नगरे राउतको रोजाइ मधेसकेन्दि्रत नयाँ राजनीतिक दलको गठन हुन सक्छ ।
राजेश मिश्र

काठमाडौँ — मूलधारको राजनीतिमा आउने सीके राउतको कदमलाई स्वागत गर्दै राजपा नेता मनीष सुमनले फेसबुकमा लेखे- 'राउतलाई संसदीय राजनीतिमा स्वागत ।' विखण्डनको मुद्दाबाट पछि हटेर राउत मूलधारको राजनीतिमा आउनुले सकारात्मक तरंग दिएको छ ।

मधेसको 'थर्ड पोल' हुन सक्छन् राउत

'उहाँले हामीजस्तै संसदीय राजनीति र चुनावी प्रतिस्पर्धामा भाग लिन खोज्नुभएको हो भने त्यो अत्यन्तै सुखद र स्वागतयोग्य हो,' सुमनले भने, 'अखण्ड नेपालभित्रै हामीले हाम्रो सम्मान र अधिकार खोजेका हौं । उहाँ पनि यही लाइनमा आउनु सकारात्मक हो ।'


अहिले भइरहेका राजनीतिक दलमा प्रवेश नगरे राउतको रोजाइ मधेसकेन्दि्रत नयाँ राजनीतिक दलको गठन हुन सक्छ । शुक्रबारको सभासम्म उनले आगामी कदमबारे स्पष्ट गरिसकेका छैनन् ।


अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत सप्तरी महदेवाका राउतले सन् २०११ मा नेपाल फर्किएर स्वतन्त्र मधेस राष्ट्र स्थापनाको माग गर्दै राजनीतिक गतिविधि बढाएका थिए । स्वतन्त्र मधेस गठबन्धनको नामबाट गतिविधि गर्दै आएका उनलाई सरकारले 'देश टुक््रयाउँछु भन्ने प्रशिक्षण दिएको र कार्यक्रम गरेको' आरोपमा थुनामा राखेको थियो ।


प्राध्यापक सुरेन्द्र लाभले राउत मधेसमा 'थर्ड पोल' का रूपमा उदाउन सक्ने बताए । फोरम र राजपासँगै एउटा दल थपिने उनले अनुमान लगाए । 'अरूले गलत भनेकै थिए, राउत स्वयंले आफ्नो थेसिसलाई गलत मानेर यू टर्न भएका छन्, सही अर्थमा यू टर्न यही हो,' उनले भने, 'लामो संघर्ष गरेको माओवादीको गन्तव्य सुनिश्चित हुन सकेन । त्यसबाट पनि ज्ञान भएको हुनुपर्छ ।'


विखण्डनको पाठ रटाएका आफ्ना अनुयायी युवा पंक्तिलाई सम्झाउन राउतलाई चुनौती हुने उनले उल्लेख गरे । राउतका कतिपय अनुयायीले सामाजिक सञ्जालमार्फत उनको कदमको विरोधसमेत गरेका छन् ।


राज्य विप्लवको मुद्दामा थुनामा रहेका बेला राउतका अधिकांश मुद्दामा बहस गर्दै आएका राजविराजका वरिष्ठ अधिवक्ता हिम्मत सिंहले उनको यो कदमलाई 'सरप्राइजिङ' भने । 'कहाँबाट, कसले सल्लाह दियो, थाहा भएन,' उनले भने, 'उनले एकाएक नयाँ खालको राजनीतिक कदम चाल्नु मेरो लागि सरप्राइज हो । यो घटनाक्रमले उनले गरेको आन्दोलनको अवमूल्यन भएको छ ।'


राउतले आफ्नो भाषणमा जेलमा आफूमाथि भएको हिंसा सुनाएकाले विभिन्न जेलमा रहेका कार्यकर्ताको पीडा सम्झेर पनि यस्तो कदम चालेको हुनसक्ने उनले अनुमान गरे । पदकै पछि लागेर छवि धुमिल्याएका मधेसवादी नेतामाझ राउतको प्रतिस्पर्धाले मधेसको राजनीति 'भाइब्रेट' हुने उनले बताए ।


पछिल्ला दुई दिनमा राजपाबाट विजयी सांसद रेशम चौधरीलाई आजीवन कारावास, राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सर्वोच्चको आदेशबाट राउत रिहा र लगत्तै मूलधारको राजनीतिमा आउने घोषणाजस्ता महत्त्वपूर्ण राजनीतिक घटनाक्रम भएका छन् ।


नागरिक अगुवा दिग्विजय मिश्र यी सबै घटनाक्रमलाई प्रदेश २ को राजनीतिसँग जोडछन् । उनको बुझाइमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हातबाट गुमेको प्रदेश २ को राजनीतिलाई फर्काउने प्रयत्नस्वरूप 'स्मार्ट' कदम चालिरहेका छन् । 'निसाना प्रदेश २ को राजनीतिमाथि छ, तमाम प्रयास त्यसैका लागि भइरहेको छ,' उनले भने ।


राउतको मधेस अलग राष्ट्रको नाराले मूलधारको राजनीति गरिरहेका फोरम र राजपाका अगाडि पनि विश्वासको संकट थियो । संघीयता र प्रदेशको मुद्दा नै अविश्वासको घेरामा पर्दै आएको थियो । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले राउतको विखण्डनवादी राजनीतिले मधेसको मुद्दालाई कमजोर बनाएको बताए । 'प्रदेश माग्दा काठमाडौंले देशै मागेको सुन्थ्यो, विखण्डनको आवाजले मधेसको मुद्दालाई बल पुग्दैनथ्यो,' उनले भने, 'नेपालभित्रै अधिकार खोज्ने हाम्रो राजनीतिलाई राउतको कदमले सहयोग पुग्नेछ ।'


उनले मूलधारको राजनीतिमा राउतको प्रवेशले मधेसको मुद्दा झन् बलियो भएर आउने र त्यसलाई सम्बोधन गर्न राज्य बाध्य हुने विश्वास व्यक्त गरे । उनले आफूहरूको राजनीतिलाई गलत भन्दै आएका राउत त्यही लाइनलाई स्वीकार गरेर आउनु स्वागतयोग्य भएको बताए । आकस्मिक कदमले 'डिप्रेसन' मा पुगेका अनुयायीलाई सम्झाइबुझाइ मूलधारमै फर्काउने जिम्मेवारी पनि राउतले पूरा गर्नुपर्ने यादवले उल्लेख गरे ।

प्रकाशित : फाल्गुन २४, २०७५ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?