जनमतसंग्रहबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले 'स्वतन्त्र मधेस गठबन्धन' का नेता सीके राउतसँग सरकारले जनमतसंग्रह स्वीकार गरे/नगरेको बारे संघीय संसद्‌मा प्रस्ट जवाफ दिन प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेको छ । 

स्वतन्त्र मधेस राज्यका लागि ६ वर्षदेखि आन्दोलन गर्दै आएका राउत र सरकारबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो । राउत नेपालको सार्वभौम अखण्डतालाई स्वीकार गर्दै राजनीतिको मूलधारमा प्रवेश गरे पनि 'स्वतन्त्र मधेस' का मुद्दामा सरकारले जनमतसंग्रह स्वीकार गरेको भन्ने उनको टिवटले शंका उब्जाएको निष्कर्ष कांग्रेसको छ । ११ बुँदे सहमतिमा भने तराई मधेसमा देखिएका असन्तुष्टिलाई 'जनअभिमतमा आधारित लोकतान्त्रिक विधि' बाट समाधान गर्ने उल्लेख छ ।

'राउत चुनावमा आउने कुरा राम्रो हो तर स्वतन्त्र मधेसका विषयमा आन्तरिक रूपमा भएको सहमति के हो, बाहिर आएकाबाहेक गुप्त सहमति भएको हो/होइन, प्रधानमन्त्रीले संसद्‌मा गम्भीरतासाथ जवाफ दिनुपर्छ,' केन्द्रीय सदस्य प्रकाशशरण महतले भने ।

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विखण्डनकारी राजनीति गरेका राउत मूलधारको राजनीतिमा प्रवेश गर्नु स्वागतयोग्य भए पनि जनमतसंग्रहको विषय अस्वीकार्य रहेको बताए । 'प्रत्यक्ष-अप्रत्यक्ष रूपमा राष्ट्रिय अखण्डतालाई विभाजित गर्ने गरी जनमतसंग्रह स्वीकार गरिएको हो भने गम्भीर विषय हो, यो कुनै हालतमा हुन सक्दैन,' उनले भने ।

प्रकाशित : फाल्गुन २५, २०७५ १८:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिके राउत संविधान मान्छु भनेर आए : प्रधानमन्त्री ओली 

शिव पुरी

रौतहट — प्रधानमन्त्री केपी ओलीले सिके राउत संविधान मान्न तयार भएपछि मूलधारको राजनीतिमा आएको बताएका छन् । संविधानले दिएको अधिकारभित्र रहेर जनअभिमत सम्मान गर्छु भन्ने प्रतिबद्धताका साथ राउत मूलधारको राजनीतिमा आएको उनले बताए ।

रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश नम्बर २ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतालाई सम्मान गर्ने, अखण्डताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य भएको बताए ।
‘म उहाँलाई सम्मान गर्छु’ प्रधानमन्त्री ओलीले भने, ‘अब बिखण्डनका राजनीति छाडि सक्नुभयो।’

नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी एकताबारे केही शङ्का नगर्न कार्यकर्तालाई आग्रह गरे। ‘पार्टी एकतापछि जिल्ला तहसम्म कमिटी गठनमा ढिलाइ भएकै हो,’ उनले भने, ‘चाँडै टुग्याउँछौं । एकतालाई अन्तिम रूप दिने काममा अब ढिलाइ हुँदैन।’
राजपा नेताहरुप्रति लक्षित गर्दै उनले भने, ‘एउटा प्रदेशमा एकपल्ट जनतालाई झुक्क्याएर अलिकति भोट पायो भनेर ठूला कुरा नगर्नुस्।’प्रधानमन्त्री ओलीले जनताले धेरै पटक धेरै पार्टीको सरकार हेरिसकेकाले आफू नेतृत्वको सरकारले समृद्ध नेपालको लक्ष्य पूरा गर्ने दाबी गरे। ‘अस्थायी सरकार बन्यो, कहिले कुन पार्टीको कहिले कुन पार्टीको,’ उनले भने, ‘जनता वाक्कदिक्क भए। अहिले कम्युनिस्ट बहुमतको सरकार छ। अब समृद्धिको अभियान चलिसकेको छ।’

अहिलेको सरकार कसैप्रति पूर्वाग्रह राख्ने नीतिमा नभएको स्पष्ट पारे। यो सरकार जनताको भएकाले मुलुक विकासको जिम्मेवारी निर्वाह गर्ने उनले विश्वास दिलाए । तराई/मधेसको विकासमा सरकार सदैव अघि बढ्ने पनि उनले सुनाए।

प्रकाशित : फाल्गुन २५, २०७५ १८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT