१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बसुन्धरा विस्फोट चन्द समूहले नै गराएको आशंका

जनकराज सापकोटा

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नै विस्फोट गराएको प्रहरीको आशंका छ । घरको भुइँतलामा पार्किङ गरिएको बा१०च ६७८९ नम्बरको गाडीमुनि गराइएको विस्फोटको कसैले जिम्मा नलिए पनि सोही समूहले गराएको हुन सक्ने आधार फेला परेको प्रहरी स्रोतको दाबी छ । 

बसुन्धरा विस्फोट चन्द समूहले नै गराएको आशंका

प्रहरी प्रधान कार्यालयको पोस्ट ब्लास्ट इन्भेस्टिगेसन टोलीका एक सदस्यका अनुसार शक्तिशाली विस्फोटमा गाडी जलेर घरमा आगो सल्केको थियो । विस्फोटलगत्तै नेपाली सेनाको एक टोली पुगेको र उसले पनि अनुसन्धान अगाडि बढाएको स्रोतले बतायो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार उक्त विस्फोटमा परी सडकमा हिँडिरहेका शैलेन्द्र खडका, छिमेकमा बस्ने मिलन बस्नेत, दिवाकर गुरुङ र ममता गौतम सामान्य घाइते भएका थिए । उपचारपछि उनीहरू शुक्रबार राति नै घर फर्केका छन् ।


गुरुङ गाडी पार्क गरेर घर छिरेको केहीबेरमै विस्फोट भएको थियो । गाडीमा आगो लागेर धूवाँको मुस्लो देखिएको केहीबेरमै प्रहरी पनि घटनास्थल पुगेको थियो । महानगरीय प्रहरी कार्यालयले शनिबारै उपत्यकाका तीनै जिल्लाका प्रहरी प्रमुख र वृत्त प्रमुखसहित आकस्मिक बैठक डाकेको थियो । बैठकमा चन्द समूहको टार्गेटमा व्यापारिक घराना, अन्तर्राष्ट्रियस्तरका कम्पनी र म्यानपावर व्यवसायी रहेकाले थप सतर्क रहन डीआईजी शैलेश थापा क्षत्रीले निर्देशन दिएका थिए । स्रोतका अनुसार रोहनले आफूसित चन्द समूहले चन्दा मागेको वा धम्की दिएको बारे प्रहरीलाई केही खुलाएका छैनन् ।


विस्फोटलगत्तै उक्त समूहका उपत्यका ब्युरोका नेताहरूमाथि निगरानी बढाउन खोजे पनि प्राविधिक सूचनाको अभावमा अनुसन्धान अगाडि बढाउन नसकेको प्रहरीको दाबी छ । घटनास्थलमा सक्रिय मोबाइलहरूको विवरण केलाउन टेलिकम सेवा प्रदायक संस्थाबाट कल डिटेल रेकर्ड झिकाउन आवश्यक हुन्छ । त्यसका लागि अदालतको लिखित अनुमति चाहिन्छ । शनिबार अदालत बिदा भएकाले अनुसन्धान प्रभावित भएको प्रहरीको दाबी छ । तत्कालै कल डिटेल रेकर्ड चाहिने परिस्थितिमा प्रहरी अधिकारीहरूले अदालतसँग मौखिम अनुमति लिएर भोलिपल्टै मात्रै कागजी प्रक्रिया मिलाउने गरेका छन् । तर बसुन्धरा विस्फोटमा उच्च तहसम्मकै राजनीतिक कनेक्सन हुन सक्ने आकलन गर्दै प्रहरी औपचारिक प्रक्रियाबेगर कल डिटेल रेकर्ड हेर्न हच्किएको स्रोतले जनायो । यस घटनाको अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार अबेरसम्म पनि कल डिटेल पाइसकेको थिएन ।


सुरक्षा गोष्ठीमा सहभागी हुन कर्णाली पुगेका गृहमन्त्री रामबहादुर थापाले शनिबारै पत्रकारहरूसँग चन्द समूह त्यति ठूलो सुरक्षा चुनौती नरहेको दाबी गर्दै विध्वंसात्मक गतिविधि विस्तार हुने आधार नभएको बताएका थिए । उनले त्यसविरुद्ध कठोरताका साथ जाने दाबी गरे पनि उक्त समूहलाई हेर्ने सरकारी दृष्टिकोण प्रस्ट नहुँदा प्रहरी अधिकारीहरू अलमलमा देखिन्छन् । विस्फोटका घटनामा पार्टीको केन्द्रीय पंक्तिलाई नै जिम्मेवार ठान्ने कि संलग्नलाई मात्रै भन्नेमा अलमल रहेको प्रहरीका एक उच्च अधिकारीले बताए । 'सरकारको प्रस्ट निर्देशन नआएकाले कडा रूपमा प्रस्तुत हुन सकिएको छैन,' उनले भने ।


यसैबीच वैदेशिक रोजगार व्यवसायीको भेलाले विस्फोटको भत्र्सना गर्दै आइतबार सबै म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको छ ।


'जमिन भुक्लुक्क गरेजस्तो भयो'

मणिराम पोखरेल, घाइते

विस्फोट भएकै घरको एउटा सटरमा मेरो किराना पसल छ । शुक्रबार राति म पसलमै बसिरहेको थिएँ । एक्कासि कानै फुट्लाजस्तो ठूलो आवाज आयो । तत्काल मेरो टाउकोमा ठूलै चीज बजि्रएजस्तो भयो । मलाई त पृथ्वी नै ध्वस्त भएजस्तो लाग्यो । म लडिहालें । मलाई केही गह्रौं चिजले थिचिरहेको थियो । ढलान खसेर थिचेको हो कि ? भूकम्प पो आएको हो कि ? केही मेसो पाइनँ । होस हराएजस्तो भयो । केहीबेरमा होस आएजस्तो पनि भयो ।


मलाई पसलको र्‍याकले थिचेको रहेछ । सिसाले हातमा कताकता काटेछ । म रगताम्य थिएँ । पसल धूवाँले भरिएको थियो । मैले दायाँबायाँ केही देखिनँ । छामछाम छुमछुम गर्दै बाहिर निस्कें । बाहिरको फलामे गेट नै थिएन । छेवैको अर्को कोठामा रहेको गाडीमा आगो बल्दै थियो । यति ठूलो चर्को आवाज मैले जीवनमा कहिल्यै सुनेको थिइनँ । जमिन नै भुक्लुक्क भएजस्तो भएको थियो एकैछिन । कानको जाली फुट्यो होला भन्ने लागेको थियो, धन्न केही भएनछ । सामान्य उपचार गराएर घर फर्कें । तर विस्फोटको आवाजले रातभर निद्रा लागेन । शनिबार बिहान पसल गएर हेर्दा पो थाहा भयो, रिचार्ज कार्डको बन्डल नै हराएछ । पैसा पनि थिएन । सालाखाला ७५ हजार बराबरको नगदै नोक्सान भयो । पसलका धेरै सामान टुटेफुटेका छन् ।


प्रकाशित : फाल्गुन २५, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?