सीप नजाँची डाक्टर लाइसेन्स 

सीप जाँचसमेत गर्न थालिए परीक्षा परिणाम अझ तल झर्छ तर जनताले राम्रो चिकित्सक पाउँछन् – डा. धर्मकान्त बाँस्कोटाअध्यक्ष, नेपाल मेडिकल काउन्सिल 
अतुल मिश्र

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । 

सीप नजाँची डाक्टर लाइसेन्स 

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने अनुमति प्रदान गर्नुपर्ने बताउँछन् । उनले गुणस्तर कायम राख्न लाइसेन्स परीक्षाको उत्तीर्णांक ५० प्रतिशतभन्दा माथि हुनुपर्नेसमेत बताए ।


काउन्सिलले लिने लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो छ । ‘सीप जाँचसमेत गर्न थालिए हाल देखिएको परीक्षा परिणाम अझ तल झर्छ तर जनताले राम्रो चिकित्सक पाउँछन्,’ काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, ‘आर्थिक अभावले यो अत्यावश्यक प्रक्रिया सुरु गर्न सकेका छैनौं । हामीलाई सघाइए केही समयमै सुरु गर्न सक्छौं ।’


लाइसेन्स परीक्षामा ज्ञान आधारितसँगै सीप आधारित परीक्षा हुनुपर्ने उनले बताए । काउन्सिलकै एक पदाधिकारीका अनुसार यसै साता एमडी/एमएस/एमडीएस गरेका विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ४० प्रतिशत डाक्टर फेल भएका छन् । स्रोतका अनुसार यो परीक्षामा सोधिएका प्रश्न एमबीबीएस गरेकाहरूले सहजै जवाफ दिन सक्ने खालका थिए । एमबीबीएस/बीडीएस गरेकाहरूको लाइसेन्स परीक्षामा केही वर्षयता सरदर करिब ५० प्रतिशत डाक्टर फेल भइरहेका छन् ।


‘डाक्टरले बिरामी जाँच गर्ने प्रक्रिया सिके कि सिकेनन् भनेर जाँच्ने प्रक्रिया छैन,’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले भने, ‘यसले गर्दा बिरामीले कमसल वा गलत उपचार पाउने प्रबल सम्भावना हुन्छ ।’ विश्वविद्यालयको फाइनल परीक्षामा सीप परीक्षा लिइए पनि कमसल रहेको औंल्याउँदै डा. कोइरालाले भने, ‘विशेष गरी निजी मेडिकल कलेजहरूमा कडाइ कम हुन्छ । बाहिरबाट आउनेहरूले के पढे, के पढेनन् थाहा भएन ।’ सीप परीक्षा नलिइँदा आम व्यक्तिलाई कमजोर चिकित्सकबाट सेवा लिनुपर्ने सम्भावनासमेत भएकाले तत्काल यस्तो परीक्षाको प्रक्रिया सुरु गर्नुपर्ने डा. कोइरालाले बताए ।


काउन्सिलका अनुसार सीप परीक्षाका लागि पूर्वाधार निर्माण गर्न आर्थिक अभाव छ । हाल काउन्सिलमा परीक्षा केन्द्र, स्वायत्तता, स्किल ल्याब, सिमुलसेन ल्याब अभाव छ । बाँस्कोटाका अनुसार सिमुलेसन ल्याबका लागि करिब ५ करोड, स्किल ल्याबका लागि १ करोड, एक सय जना अट्ने परीक्षा हल, एक सय जनाका लागि कम्प्युटरलगायत संरचना भए सीप परीक्षा लिन सकिन्छ ।

करिब ८ वर्षअघि स्नातकोत्तर गरेका चिकित्सकका लागि लिइने लाइसेन्स परीक्षामा सीप जाँचसमेत लिन सुरु गरिएको थियो ।


त्यसताका स्किल ल्याब, सिमुलेसन ल्याब, कम्प्युटरलगायत नहुँदा बाहिरबाट बिरामी ल्याएर उक्त परीक्षा लिने गरिन्थ्यो । यो प्रक्रिया केही महिनापछि बन्द भयो । इच्छाशक्ति भए सीप परीक्षा लागू गर्नु मुलुकका लागि ठूलो कुरा नभएको डा. कोइरालाको भनाइ छ । ‘यसका लागि काउन्सिलको क्षमता वृद्घि गर्ने कुरा हुन्छ । दीर्घकालका लागि नेपाललाई दिने फाइदाको अगाडि लगानी, तयारी आदि ठूलो कुरा हुँदै होइन र यो गर्नैपर्छ,’ उनले भने, ‘तर यो लागू गर्ने बेला विरोध हुनेसमेत प्रबल सम्भावना छ ।’


काउन्सिलका एक पदाधिकारीका अनुसार हाल सीप परीक्षा सञ्चालन नगर्न डाक्टर, मेडिकल कलेज, उच्च तहका नेतालगायतको तीव्र दबाब छ । यसैले केही वर्षअघि सुरु गरिए पनि सीप परीक्षा बन्द गर्नुपरेको थियो ।


मुलुकमा चिकित्सा अभ्यास गर्न चाहने एमबीबीएस/बीडीएस गरेका डाक्टरका लागि नियमित लाइसेन्स परीक्षा र स्नातकोत्तर गरेकाका लागि विशेष परीक्षा हुने गर्छ । नियमित दर्ता प्रमाणपत्र परीक्षाका लागि नेपाल मेडिकल काउन्सिलले मान्यता प्रदान गरेको मेडिकल/डेन्टल विषयका आधारभूत शैक्षिक कार्यक्रम एमबीबीएस/बीडीएस उत्तीर्ण गरी कम्तीमा ६ महिनाको इन्टर्नसिप पूरा गरेकाहरू सरिक हुन्छन् ।


यस्तै विशेष दर्ता प्रमाणपत्रका लागि लिइने विशेष परीक्षामा स्वदेश वा विदेशबाट काउन्सिलले मान्यता प्रदान गरेको मेडिकल/डेन्टल कार्यक्रममा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरेपछि चिकित्साशास्त्रका सम्बन्धित एमडी/एमएस/एमडीएस विषयमा ३ वर्षको विशेषज्ञता हासिल गरेका चिकित्सक सहभागी हुन सक्छन् । मुलुकमा काउन्सिलमा दर्ता करिब २३ हजार चिकित्सक छन् । यीमध्ये करिब ७ हजार जना विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?