कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अब भ्रम हट्यो : ओली

शिव पुरी

रौतहट — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मधेसविरोधी रहेको भ्रम हटेको दाबी गरेका छन् । नेकपा प्रदेश २ ले शनिबार गरुडा नगरपालिकामा आयोजना गरेको आमसभामा उनले तराई–मधेसमा कम्युनिस्ट सिद्धियो भन्नु निराधार रहेको बताए । 

अब भ्रम हट्यो : ओली

‘यो आमसभाले सबै सबालको जवाफ दिइसकेको छ,’ उनले भने, ‘राजतन्त्रको विरोध गर्दा म यही जिल्लाबाट गिरफ्तारीमा परेँ । अनि हामी नै मधेसविरोधी ?’ ओली ४६ वर्षअघि रौतहटको इनरबारी, कोपवा भैंसेहीलगायत गाउँमा भूमिगत बसेका थिए ।


‘त्यतिबेला धेरै मधेसी साथीहरूले सघाए,’ उनले भने, ‘तराई–मधेसको हकहितका लागि मैले धेरै कष्ट झेलेको छु ।’ उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अबको कार्यभार रहेको बताए । ओलीले तराई–मधेस विशेष पूर्वाधार कार्यक्रमका लागि ३ सय ५२ करोड छुट्याएर काम अघि बढाइएको जानकारी दिए । प्रदेश २ मा कृषि, शिक्षा, खानेपानीलगायत विकास निर्माणका काममा प्राथमिकता दिने उनको भनाइ थियो ।


प्रधानमन्त्री ओलीले सीके राउत संविधान मान्न तयार भएपछि मूलधारको राजनीतिमा आएको बताए । ‘संविधानले दिएको अधिकारभित्र रहेर जनअभिमत सम्मान गर्छु भन्ने प्रतिबद्धताका साथ राउत मूलधारको राजनीतिमा आउनुभएको छ,’ उनले भने, ‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतालाई सम्मान गर्नु, अखण्डताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य हो । म उहाँलाई सम्मान गर्छु । उहाँले विखण्डनका राजनीति छाडिसक्नुभयो ।’


ओलीले पार्टी एकताबारे केही शंका नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘पार्टी एकतापछि जिल्ला तहसम्म कमिटी गठनमा ढिलाइ भएकै हो,’ उनले भने, ‘चाँडै टुंग्याउँछौं ।’ राजपा नेताहरूप्रति लक्षित गर्दै उनले भने, ‘एउटा प्रदेशमा एकपल्ट जनतालाई झुक्याएर अलिकति भोट पायो भनेर ठूला कुरा नगर्नुस् ।’


'पार्टी एकता नभए अस्थिरता’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई एकताबद्ध गर्न नसके अराजकता र अस्थिरताको खतरा बढ्ने बताए । ‘हिजो शान्ति प्रक्रिया होला र भनी शंका गर्थे, भइछाड्यो । निर्वाचन होला र भन्थे भइछाड्यो । पार्टी एकता पनि हुन्छ र भन्थे भइछाड्यो,’ उनले भने । उनले भारत र चीनसितको सम्बन्धलाई सन्तुलित गराउन सरकार लागिपरेको बताए ।


नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी देशभक्तिको भावनाले एकताबद्ध रूपमा अघि बढेको बताए । तराई–मधेसमा कम्युनिस्टप्रति समर्थन बढ्दै गएको उनको दाबी थियो । ‘मधेसको विकासलाई सरकारले जोड दिएको छ,×’ उनले भने, ‘हामीलाई मधेसविरोधी भन्नेहरूको मुख बन्द भएको छ ।’

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?