कांग्रेसमा बहुमतबाट समिति गठन तयारी, पौडेल र सिटौला पक्ष बैठक बहिष्कारको मनस्थितिमा

अनुशासन र निर्वाचन समिति बहुमतबाट गठन गर्न खोजिए केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने पौडेल-सिटौला पक्षको चेतावनी 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले अनुशासन र निर्वाचन समिति बहुमतबाट गठन गर्न खोजिए केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने भएका छन् । समिति गठनलगायत पार्टी सञ्चालनका विषयमा पूर्वसहमति नभए केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

सभापति शेरबहादुर देउवाले समिति गठन गर्ने प्रयोजनका लागि चैत ४ गते केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। देउवाले फागुन १४ को बैठकमै अनुशासन समिति गठन गर्न खोजे पनि पौडेल-सिटौला पक्षको विरोधका कारण रोकिएको थियो। अनुशासन र निर्वाचन समिति निष्पक्ष निकाय भएकाले सर्वस्वीकृतिमा गठन हुनुपर्ने उनीहरूको माग छ। 'यो र ऊ पक्षको नभएर पार्टीमा समन्वय गर्नसक्ने, निष्पक्ष र स्वतन्त्र व्यक्तिको संयोजकत्वमा समिति गठन गर्नुपर्छ,' केसीले भने, 'सभापतिले उपेक्षा गर्ने हो भने हामी बैठकमै जाँदैनौं।'

देउवाले निर्वाचन समितिभन्दा अघि अनुशासन समिति गठन गर्न चाहेका छन्। पाँच सदस्यीय समितिमा संस्थापन पक्षले संयोजकसहित तीन र पौडेल-सिटौला पक्षले दुई सदस्य लिने भागबन्डा भएको छ। पौडलले यी दुवै समिति पार्टीका न्यायिक समिति भएकाले संयोजकसहित सदस्यहरू छलफलबाटै तय गरिनुपर्ने बताउँदै आएका छन्। देउवाले भने पौडेललाई दुई सदस्यको नाम दिन आग्रह गरिरहेको एक नेताले बताए।

अनुशासन समितिमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेलाई संयोजक बनाउने देउवाको तयारी छ। सदस्यतमा देवेन्द्रराज कँडेल, मोहन बस्नेत र किशोरसिंह राठोरमध्ये दुई जनालाई राख्ने उनको योजना छ।

सहमहामन्त्री प्रकाशशरण महतले अनुशासन समितिमा संयोजक हुन धेरैले अनिच्छा देखाएकाले भनेजस्तो समिति गठन गर्न अप्ठ्यारो परेको बताए। 'धेरै साथी यो अपजसिलो काम भनेर पन्छिन खोज्नुभयो, बल्लबल्ल भीष्मजीले बस्न मान्नुभएको छ,' उनले भने, 'उहाँहरूले भनेजस्तो व्यक्ति यो समितिमा बस्न कहाँ तयार भए त?'

संस्थापन पक्षबाट प्रस्तावित नाममा पौडेल र सिटौला पक्ष बढी सशंकित छ। आफूलाई मन नपरेका, विपक्षी खेमाका नेता-कार्यकर्तालाई छानीछानी कारबाही गर्न सक्ने संशय उनीहरूमा छ। आफ्नाविरुद्ध चर्को आलोचना गर्ने केन्द्रीयस्तरका नेताहरूलाई कारबाही गर्ने चेतावनी सभापति देउवाबाट आइरहेकाले पनि उनीहरू संशकित छन्।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा हालै बसेको बैठकले सहमतिबेगर बोलाइने बैठकमा नजाने निर्णय लिएको थियो। त्यसयता समिति गठनबारे सहमति जुटाउन संवाद नभएको केसीले बताए। 'समझदारी केही नभई बहुमतबाटै निर्णय लिन खोजिए हामी बैठकमा सहभागी हुन सक्दैनौं,' उनले भने, 'सकभर सहमतिबाटै अघि बढाउन विकल्पसमेत दिएका छौं।'

उनका अनुसार संस्थापन इतरपक्षले समिति गठन जे-जस्तो भए पनि कारबाही सिफारिस सर्वसम्मतिबाट हुने गरी कार्यविधि तय गरे सहमति गर्न सकिने विकल्प दिएको छ। 'सकभर समिति गठनमै पक्ष र विपक्षमा विभाजित हुनु राम्रो हुन्न, यसले आफ्नो र अर्को पक्ष भन्ने आँखाबाट हेर्ने काम हुन्छ,' उनले भने, 'सर्वसम्मतिबाट कारबाही प्रक्रिया अघि बढाउने गरी कार्यविधि तय भएमा सहमति हुन सक्छ।'

सहमहामन्त्री महतले सहमतिका लागि संवाद निरन्तर भइरहेको दाबी गरे। 'सहमति नजुटे बहुमत केही होइन भन्न मिल्दैन,' उनले भने। सबै विषय अल्पमतले भनेकै मान्नुपर्ने तर्क जायज नभएको उनले बताए। 'न्यायिक र जायज कुरामा उहाँहरू पनि सहमतिमा आइदिनुपर्छ,' उनले भने।
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेतालाई हेलिकप्टर प्रतिस्पर्धा 

हरिहरसिंह राठौर

धादिङ — राजधानीबाट सवारी साधनमा गुड्दा २ देखि अढाई घण्टामै जिल्ला सदरमुकाम धादिडवेंसी पुगिन्छ । पृथ्वीराजमाग वरपर त झनै छिटो पुगिन्छ । सदरमुकाम भन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै पनि बस्ती छैन । तर आफ्नो पहुँच  र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टरको प्रयोग गर्ने प्रतिस्पर्धा नै छ ।

गत माघ १ गते सदरमुकामको खाल्टेमा गोरु जुधाई मेला हेर्न कृषिमन्त्री चन्द्रदेव खनाल र आयोजक हरुले प्रयोग गरेका २ हेलिकप्टर । फाईल तस्बिर

गत साउन महिनादेखि फागुन १७ गतेसम्म २४ पटक २८ वटा हेलिकप्टर धादिङ आएका छन्। राजमार्गसँग जोडिएको वेनीघाट चरौंदी महोत्सव उद्घाटन गराउन आयोजकहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मङ्सिर १५ गते हेलिकप्टरमा ल्याए। अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सदरमुकाममा आयोजित ल्होसार मनाउन हेलिक्पटर मै ल्याए।

माघ १ गतेकै दिन सदरमुकामको खाल्टेमा गोरु जुधाउने मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकहरूले हेलिक्पटरमै ल्याए। आयोजकहरू अकोए हेलिकप्टरमा आफू पनि आए। अध्यक्ष दाहाललाई सल्यानकोटको कार्की गाउँ माध्यमिक विद्यालयले आफ्नो ५९औँ वार्षिकोत्सव मनाउन फागुन ४ गते हेलिक्पटरमा ओसारे। गत फागुन १७ गतेका दिन धादिङमा ३ वटा हेलिकप्टर आए। पूर्व राष्ट्रपति रामवरण यादवबाट जिल्ला सदरमुकाममा लाग्ने मेला उद्घाटन गराउन होटेल व्यवसायी सङ्घले हेलिकप्टर नै बुक गरे भने राजमार्गसँग जोडिएको महादेवस्थान ताल्तीमा चिनियाँ कम्पनीद्वारा निर्माणाधिन हुआसिन सिमेन्टको सिलन्यास गर्न सभामुख कृष्णबहादुर महरालाई नेपाली साझेदार सुरज वैद्यले हेलिकप्टरमै ल्याए। आफू अर्को हेलिकप्टरमा आए।

'जिल्लामा साना ठुला कार्यक्रममा पनि राष्ट्रियस्तरका नेतालाई उपस्थित गराएर आफ्नो पहुँच माथिल्लो स्तरसम्म नै रहेको देखाउन होडबाजी नै चल्ने गरेको छ।' जिल्ला स्थित नागरिक समाजका अगुवा सीताराम प्रसाद वर्मा बताउँछन्। जिल्लामा अन्य कार्यक्रममा सहभागी हुन आउने मन्त्रीहरूको त गणना नै हुन्न।

गत साउनदेखि विभिन्न कार्यक्रममा जिल्लामा २४ पटकमा २८ वटा हेलिकप्टरको प्रयोग गरिएको जिल्ला प्रहरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए। विष्टका अनुसार गर्भवती , सुत्केरी उद्धारमा ३ पटक, दुर्घटनामा ४ पटक, परियोजनाका सामाग्री ओसारपसारमा ३ पटक र भीआईपी उडानमा ८ पटक हेलिकप्टर प्रयोग गरिएको बताए। राजधानीबाट धादिङ नजिकै भए पनि प्रति उडान एक लाख देखि ३ लाख रुपैयाँसम्म पर्ने गरेको छ।

प्रकाशित : फाल्गुन २६, २०७५ १७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT