कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गैंडा गन्न दाताकै भर

काठमाडौं/चितवन — चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि डेढ लाखभन्दा बढी पर्यटक भित्रिन्छन् । त्यसबाट वार्षिक ३० करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । बर्दिया राष्ट्रिय निकुञ्जले पनि पर्यटकबाट बर्सेनि ६ करोड रुपैयाँ हाराहारी आम्दानी गरिरहेको छ ।

गैंडा गन्न दाताकै भर

पाटे बाघ र एकसिंगे गैंडा दुवै निकुञ्जका मुख्य आकर्षण हुन् । एकसिंगे गैंडा रहेका पर्सा र शुक्लाफाँटा निकुञ्जमा पनि छन् । गैंडाको अवस्था थाहा पाउन सरकारले सन् १९९४ देखि गैंडा गन्दै आएको छ । जसअनुसार यो वर्ष गैंडा गणना गर्ने तालिका छ । तर बजेटको टुंगो नलागेकाले गणना मिति तय हुन सकेको छैन ।


निकुञ्जहरूको व्यवस्थापन जिम्मा लिएको राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का गैंडा गणनाका लागि सरकारसंग बजेट नै नभएको बताउँछन् । ‘गैंडा गणनाका लागि संरक्षण सहयोगी दातृ निकायहरूलाई आग्रह गरिरहेका छौं,’ उनले भने । उनका अनुसार पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्मका चार वटा निकुञ्जमा गैंडा गणना गर्न एक करोड ३४ लाख रुपैयाँ आवश्यक पर्छ ।


सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । तिनै गैंडा, बाघ, हात्ती सफारीलगायत अन्य पर्यटकीय गतिविधिमार्फत निकुञ्जहरूबाट अर्ब रुपैयाँ आम्दानी गरिरहे पनि विभागले गणनाका लागि रकम छुट्याएको छैन । ‘चालु आवमा बजेट राख्नुपर्ने हो,’ विभागको योजना शाखा प्रमुखसमेत रहेका सुचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘तर, हामीसँग गणनाका लागि बजेट छैन ।’


विगतमा डब्लूडब्लूएफ नेपाल/हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लगायतले गैंडा गणनामा आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेका थिए । विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले संरक्षण सहयोगी संस्थाहरू डब्लूडब्लूएफ, जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल) लगायतलाई आर्थिक सहयोगका लागि आग्रह गरिए पनि कसले कति सहयोग गर्ने एकिन नभएको बताए ।


सन् २०१५ मा भएको गणनाले चितवन निकुञ्जमा सबभन्दा बढी ६०५ गैंडा देखाएको थियो । पर्सा, बर्दिया र शुक्लाफाँटासहित भने ६ सय ४५ गैंडा थिए । गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरण पनि भएका छन् । गणनापछि चोरी सिकारबाट धेरै गैंडा मरेका छैनन्, प्राकृतिक कारणले भने धेरै गैंडा मरेका छन् ।


त्यसैले गैंडाको संख्या अद्यावधिक गर्नु जरुरी भएको सरोकारवालाहरू बताउँछन् । गणनापछि चितवन र बर्दिया दुवै निकुञ्जमा प्राकृतिक कारणले मर्ने गैंडाको संख्या उकालो लागिरको छ । चितवन निकुञ्जमा चालु आवको साउनदेखि फागुन १४ सम्ममा ३१ वटा गैंडा मरेका छन् ।


गैंडामा विद्यावारिधि गरेका एनटीएनसीका विज्ञ नरेश सुवेदी यसलाई ‘विपत्ति’ नै ठान्छन् । ‘चोरी सिकार रोकियो र गैंडा स्थानान्तरण गरिएन भने रोगव्याधीलगायत प्राकृतिक कारणले मर्ने गैंडाको संख्या बढ्छ भनेर मेरो अध्ययनमै भनेको थिएँ,’ उनले भने । २०५८ सालमा एक वर्षमै ३८ वटा गैंडा चोर सिकारीले मारेका थिए ।


चोरसिकारीबाट गैंडा मर्ने क्रम सन् २०११ पछि रोकिएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा पनि चितवन निकुञ्ज र आसपासमा २६ गैंडा मरेका थिए । आर्थिक वर्ष ०७३/७४ मा २५ गैंडा मरेका थिए ।


चितवन निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेले गैंडाको प्राकृतिक मृत्य बढ्नु राम्रो संकेत नभएको बताउछन् । यो वर्ष त गैंडाका बच्चा (केटो) मात्रै सात वटा मरिसकेका छन् । औसत ३५/४० वर्ष उमेर भएपछि गैंडा अशक्त भएर मर्छन् । बूढो भएर मर्ने गैंडाको संख्या कम देखिन्छ । ‘जुधेर र दलदल/हिलोमा परेर पनि धेरै गैंडा मरेको देखिएको छ’ विभागका सूचना अधिकारी श्रेष्ठले भने, ‘करेन्ट लागेर पनि मरेका छन् ।’


गैंडा विज्ञ सुवेदीका अनुसार एउटै क्षेक्रमा संख्या वृद्धि, बासस्थान क्षय र त्रिम बासस्थान र आहार अभावले गैंडाबीच बाँच्नका लागि आन्तरिक प्रतिस्पर्धा बढेको छ । ‘एउटै क्षेत्रमा गैंडाको घनत्व बढेपछि समस्या निम्तियो,’ उनले भने ।


चितवन निकुञ्जको पूर्वी क्षेत्र, सौराहा आसपासमा गैंडाको घनत्व घटेको छ भने सबै गैंडा निकुञ्जको पश्चिम क्षेत्रमा सरेका छन् । पूर्वी क्षेत्रमा तिनलाई फर्काउन पानीको घोलका साथै घाँसे मैदान व्यवस्था गर्नेतिर ध्यान दिनुपर्ने सुझाव सुवेदीको छ । चितवनका तुलनामा बर्दिया निकुञ्जमा प्राकृतिक कारणले मर्ने गैंडाको संख्या कम छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?