'प्रचण्ड' हुन खोजे पार लाग्दैन : दाहाल

लालप्रसाद शर्मा

पोखरा — नेकपा अध्यक्ष पुष्पकमल दाहालले २०५२ सालको नक्कल गरी म पनि 'प्रचण्ड' हुन्छु भन्न खोजिए त्यो पार नलाग्ने भएकाले मूलधारको राजनीतिमा आउन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई आग्रह गरेका छन् । यतिबेला विप्लव समूहले हतियार ल्याउने र विस्फोट गराउने काम गरिरहेको भन्दै दाहालले पहिले र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आइसकेकोले नक्कल गर्नेतर्फ नलाग्न आग्रह गरे ।

'प्रचण्ड' हुन खोजे पार लाग्दैन : दाहाल

पोखरामा सोमबार हुने एक कार्यक्रममा सहभागी हुन आएका दाहालले पोखरा विमानस्थलमा पत्रकारसँको भेटमा यस्तो बताएका हुन् ।


'उहाँहरुले २०५२ सालमा अर्थात करीव २५ वर्ष अघि हामीले गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ । यो पार लाग्ने बाटो होइन,' उनले भने, 'प्रचण्डले गरेजस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भन्ने सोच्नु बिलकुल मनोगत हुन्छ । इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलााई अगाडि ल्याउने गर्छ । यसर्थ साथीहरुलाई के भन्छु भने त्यसो गर्न छाडेर अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र समाजवादको आधार निर्माण गर्ने अवसरलाई सदुपयोग गर्नुतिर सोच्नु उपयुक्त हुन्छ ।'


नक्कल गर्ने कुरामा लागेमा राज्य चुप लागेर बस्न नसक्ने र यस्तो अवस्थामा उनीहरु (विप्लव समूह) र देशको लागि राम्रो कुरा नहुने उनले बताए । आफूले विप्लवहरुलाई राम्रोसँग चिन्ने, आफैंले स्कुलिङ गरेको र चन्द बढी समय सचिवको रुपमा बसेर आफुसँग काम गरेको उनले स्मरण गरे ।


पृथकतावादीतर्फ गएकालाई वार्ता, संवाद र सहमतिको माध्ययमबाट सरकारले समस्या समाधान गर्न पहल गरेको अवस्थामा विप्लवहरु पनि सोही बाटोमा लाग्नुपर्ने दाहालले बताए । कम्युनिष्टको नेतृत्वमा सरकार भएको, सामाजिक न्याय र समाजवादतिर अग्रसरमा प्रतिवद्धता गरेको अवस्थामा उनीहरु पनि वार्ता र संवादको मार्फत अहिलेकै मूलधारको राजनीतिमा आएर आफ्ना कुरा राख्नु उपयुक्त हुने र यो निर्विवाद रहेका उनको जीकिर थियो ।


मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेको समूहसँग सरकारले गरेको समझदारी र सहमतिको चर्चा मिडियामा आएजस्तो अवस्था नरहेको उनले दाबी गरे । पार्टीको बैठक र सरकारसँगको छलफलमा पनि संविधानको मूल मर्म र भावना अनुसार अनि राष्ट्रिय एकता, स्वाधिनता, भौगोलिक अखण्डतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा आउने स्पिरिट अनुसार सहमति भएको उनको भनाइ थियो । भर्खर जेलबाट छुटेको र सहमति हुनेवित्तिकै मधेस जाँदा आफ्नो समूहसँग छलफल गरेर मूलधारमा जाने तयारी नपुगेकाले सिके राउतको जनकपुरमा भएको प्रस्तुतीबाट प्रश्न बनेपनि प्रधानमन्त्रीसँगको कुराकानीमा त्यस्तो नभएको उनले बताए ।


'यो खाली व्यवहारिक रुपले आफ्नो समूहलाई सहमति बुझाउने समय र प्रक्रियाका कारणले यस्तो भएकाले सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,' उनले भने, 'हतारमा केही भयो भन्नु भन्दा पनि सरकारको जिम्मेवारी हुन्छ । सबै राजनीतिक प्रवृत्तिलाई समेटेर संविधानको मर्म अनुसार र मूलधारको राजनीतिमा ल्याउनु प्रयास गर्नु बिलकुल जायज कुरा हो ।'


सरकारको नियत तराई मधेसमा पृथकतावादी आन्दोलन एउटा समस्याको रुपमा रहेको र भोलि बढ्नसक्ने खतरालाई मध्यनजर राख्र्दै समयमै मूलधारमा ल्याउने पहल र उद्देश्यमाथि कहीकतै शंका गर्नु नपर्ने उनले बताए ।


सहमतिविपरीत घटनाक्रम हुन थाले के गर्ने भन्ने निर्णयको अधिकार सरकारसँग सुरक्षित रहेकाले धेरै तरगिंत हुन नहुने उनको भनाई थियो । तराई मधेस र समग्र राजनीतिमा राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा संभव भएसम्म सबैलाई समेट्न गम्भीर छ भन्ने सन्देश दिएको उनले जनाए ।


जनअभिमत र जनमतसंग्रहबारे त्यति विवाद गरिराख्नु पर्ने कुरा नभएको उनले बताए । जनमत संग्रहबारे दुई तिहाइले निर्णय गर्नुपर्ने संवैधानिक अवस्थाले सरकारले चाहेर पनि जनमत संग्रह गर्न नसक्ने भन्दै उनले यसमा अल्मलिन नहुने बताए ।


अर्को एक प्रसंगमा पार्टी एकतालाई अन्तिम रुप दिने प्रक्रियामा रहेको दाहालले बताए ।

प्रकाशित : फाल्गुन २७, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?