२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इथियोपियन एयरलाइन्स दुर्घटना : 'करिअर' बनाउने धोको अधुरै

हरिराम उप्रेती

गोरखा — इथियोपियमा आइतबार भएको विमान दुर्घटनामा गोरखाकी एक चेलीले ज्यान गुमाइन् । गोरखा नगरपालिका-१० छेवेटार घर भएकी  २८ वर्षीया एकता अधिकारी आठ महिना अघि इथियोपिया स्थित राष्ट्रयसंघीय विश्व खाद्य कार्यक्रममा 'पोस्टिङ' हुँदा उनका आफन्त खुसी थिए । 'करिअर' बनाउन इथियोपिया पुगेकी एकताको निधनको खबर सुनेका परिवार यतिखेर स्तब्ध छन् । 

इथियोपियन एयरलाइन्स दुर्घटना : 'करिअर' बनाउने धोको अधुरै

'परिवारका सदस्यले बिहे गर्ने उमेर भयो भन्दा पनि दुईवर्ष करिअर बनाउँछु भन्थिन्,' ठूलोबुवा नाता पर्ने इश्वरबावु अधिकारीले भने, 'मेहनेती, लगनशील र सेवा गर्ने भावना थियो, यस्तो घटना सुन्दा आश्चर्यमा परेका छौँ ।'


इथियोपियन एयरलाइन्स दुर्घटनामा परेर ज्यान गुमाएकी एकताले समाजिक क्षेत्रमा बढी रुची राख्ने गरेको उनले बताए । 'रुचि अनुसारको काम थियो, भूकम्पको बेला वारपाक लगायत गोरखाका धेरै ठाउँ पुगेको सुनाउथिइन्,' इश्वरबाबुले भने, 'पढ्न ठाटी थिइन्, आफ्नो काम जिम्मेवारीका साथ पुरा गर्थिन् ।'


काठमाडौँमा आइएस्सी सकेर बेलायत गएकी अधिकारी एमएस्सी सकेर नेपाल फर्किइन् । एकताले २०७२ वैशाख १२ को भूकम्पपछिको वर्ष काठमाडौंस्थित विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को 'कन्ट्री अफिस'मा 'लजिस्टिक अफिसर'को रुपमा आपतकालीन राहत कार्यक्रममाा काम गरिन् ।


उनले काममा देखाएको लगाव र इच्छाशक्ति भुल्नै नसकिने उनका पूर्वसहकर्मी बताउँछन् । 'मिलनासार र प्रोफेसनल थिइन्,' भूकम्पका बेला डब्लुएफपीमा उनीसँगै काम गरेका सुवास सिंहले भने, 'विमान दुर्घटनामा परेको सुन्दा 'सक'मा परेँ, करिब डेढवर्षसँगै काम गर्‍यौँ, निरन्तर काममा खटिरहने प्रोफेसनल थिइन् ।'


पुख्यौली थलो पालुङटार नगरपालिका-१० मिरकोटस्थित लाजिकोट घर भएकी अधिकारीको परिवार करिब २० वर्ष पहिले छेवेटार बसाइँ सरेका थिए । हाल उनका परिवार प्राय काठमाडौँ वनस्थलीमै बस्छन् ।


परिवारका तीन छोरी मध्ये एकता कान्छी हुन् । एकताको निधनको खबर सुनेका उनका परिवार काठमाडौंस्थित वनस्थलीको घरमा भेला भएका छन् । छोरी ज्वाइ भेट्न अमेरिका पुगेका बाआमा नेपाल फर्कने तयारीमा छन् ।


विमान दुर्घटनामा एकतासँगै १५७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?