कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार–राउत सम्झाैतामा भाषालाई दुवैले फरक व्याख्या गर्नु खतराको संकेत : कांग्रेस सांसद

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकार र स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतसंँग भएको ११ बुँदे सम्झौता लगतै तराइ-मधेसमा देखिएका स्वतन्त्र मधेससम्बन्धी प्रचारप्रसारलाई लिएर प्रमुख प्रतिपक्ष कांग्रेसले आपत्ति जनाएको छ । सरकारले 'स्वतन्त्र मधेस' को मुद्दामा जनमतसंग्रह स्वीकार गरिएको आशंकालाई यस्ता गतिविधिले बल पुर्‍याएको भन्दै कांग्रेसले सरकार र राउतबीचको सम्झौताप्रति नै आशंका जनाएको हो ।

सरकार–राउत सम्झाैतामा भाषालाई दुवैले फरक व्याख्या गर्नु खतराको संकेत : कांग्रेस सांसद

सरकार र राउतसँग भएको सम्झौताको ६ नम्वर बुँदामा स्वतन्त्र मधेसका नाममा किताब, पर्चा-पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री प्रयोग गर्न नपाईने उल्लेख छ । तर, राजधानीमा सम्झौता गरेर मधेस पुग्न साथ राउत स्वतन्त्र मधेस राज्यको माग राखेर आयोजना गरिएका र्‍यालीमा सहभागी भएका थिए । 'मधेस इज न्यू कन्ट्री इन एशिया' लेखिएको व्यानर र स्वतन्त्र मधेस लेखिएका झण्डा सहितको र्‍यालीले राउतलाई स्वागत गरिएको थियो ।

'मधेस इज न्यू कन्ट्री इन एशिया' भन्ने व्यानरमा राउतको सहभागिताले मुलुक टुक्याउने खतराको संकेत गरेको छ' राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने, 'यो कदमले सरकार र राउतसँग भएको ११ बुँदे सम्झौता नै राष्ट्रघाती हो भन्ने पुष्टि भएको छ ।'

कांग्रेसले बाहिर एउटा र भित्री रुमपा अर्को सम्झौता गरिएको दाबी समेत गरेको छ । 'भित्री रुपमा 'स्वतन्त्र मधेस' को मुद्दामा जनमतसंग्रह स्वीकार गरिएको यो गतिविधिले पनि प्रष्ट पार्छ' उनले भने, 'प्रधानमन्त्री केपी ओली र राउत एउटै शक्ति केन्द्रबाट निर्देशित त होइनन् भन्ने आशंका हामीलाई परेको छ ।'

सम्झौतामा 'जनअभिमत' भन्ने भाषालाई दुई पक्षले फरक-फरक व्याख्या गर्नु नै खतराको संकेत भएको अर्का नेता बालकृष्ण खाँणले बताए । 'सम्झौता भइसकेपछि दुवै पक्षले एउटै व्याख्याका साथ कार्यन्वयनमा जानुपर्ने हो, तर अर्को पक्ष (राउत) ले जनमत भनेको जनमत संग्रह हो भनेको छ । यसमा दुवै पक्ष इमान्दार देखिएका छैनन्,' प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले भने, 'बाहिर आएको भन्दा पनि भित्री रुपमा भएका सम्झौताप्रति गम्भीर आशंका छ ।'

राष्ट्रियसभा संसदीय दलका नेता पाण्डे, प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक खाँण, राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक सरिता प्रसाई र प्रतिनिधिसभा संसदीय दलका सचेतक पुष्पा भूषालले सयुक्त विज्ञप्तिमार्फत समेत राष्ट्रिय एकता र भगौलिक अखण्डताप्रति आँच आउने गतिविधि प्रति आपत्ति जनाएका छन् ।

'जनकपुर भ्रमणमा प्रदर्शन गरिएको प्लेकार्ड, व्यनारले नेपालको राष्ट्रिय एकता, भगौलिक अखण्डतालाई प्रतिकुल प्रभाव पार्ने अवस्था सृजना भएको छ' उनीहरुको विज्ञप्तिमा उल्लेख छ, 'सहमतिप्रति दुवै पक्ष इमान्दार रहदैँ समान धारणाका साथ कार्यन्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशंका उत्पन्न भएको छ ।'

प्रकाशित : फाल्गुन २७, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?