२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चोरिएका शालिग्राम भेटिए

दिप्ती सिलवाल

पर्वत — मोदीवेणी धामस्थित नृसिंह मन्दिरबाट चोरिएका शालिग्रामसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धेरै पुराना र मूल्यवान शालिग्राम शिला गत फागुन ५ मा चोरी भएपछि खोजी तीव्र पारिएको थियो । मन्दिरहरूमा सुरक्षा बढाइएको थियो ।

चोरिएका शालिग्राम भेटिए

जिल्ला प्रहरीको विशेष अनुसन्धान टोलीले चोरिएका शालिग्राम बरामद गरेको छ । चोरीमा संलग्न आरोपमा कुश्मा–४ का कसम पुन, ६ का सुमन गुरुङ र १० का लेखबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न मुख्य आरोपी धादिङका अञ्जान बराइलीको खोजी भइरहेको प्रहरीले जनायो ।


पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार पक्राउ परेकाले लुकाइराखेको अवस्थामा कोठाबाट एउटा र छमर्केको वनबाट ३६ वटा शालिग्राम शिला बरामद भएको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै बरामद शिला र पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।


उनीहरू विरुद्ध चोरी मुद्दामा कारबाहीका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको अनुसन्धान म्याद लिएको छ । चोरीमा संलग्न कसुरदार ठहरिए मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २० को भाग २४१ को कसुर तथा २४२ को सजायबमोजिम २ देखि ७ वर्ष कैद वा २० देखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अपराध संहितामा सार्वजनिक सम्पत्ति वा देवल, मन्दिरका सम्पत्ति चोरी गर्नेको हकमा यस्तो सजाय व्यवस्था गरिएको हो ।


पर्वत र बागलुङको सिमानास्थित प्रसिद्ध तीर्थघाट मोदीवेणीस्थित नृसिंह मन्दिरमा संग्रह गरी राखिएका बहुमूल्य शालिग्राम चोरी भएपछि मन्दिरका पुजारी तथा व्यवस्थापन समिति पदाधिकारीले गत घटनाकै दिन प्रहरीमा उजुरी दिएका थिए ।


अज्ञात समूहले मन्दिरको मूलगेट र ढोका फुटालेर भित्रका बहुमूल्य शालिग्रामसहित नृसिंहको मूर्ति, दानपेटिकामा रहेका पैसा, शंखलगायत चोरी गरेको भन्दै उजुरी परेको थियो । उजुरीअनुसार सबै शालिग्राम फेला पारिएको प्रहरीको दाबी छ । ‘उहाँहरूले दिएको निवेदनअनुसारका सबै शालिग्राम विशेष वैज्ञानिक पद्धतिको अनुसन्धानबाट फेला पारिएको हो,’ डीएसपी तिवारीले भने, ‘दानपेटिकामा भएको पैसा र अरू विषयमा अनुसन्धानपछि थाहा हुनेछ ।’


१८९० मा निर्मित मन्दिरमा निर्माण हुनुभन्दा करिब चार सय वर्षअघिका शालिग्राम शिला राखिएको इतिहास भएको मन्दिर व्यवस्थापक समितिको दाबी छ । मन्दिरमा एक किलोदेखि पाँच किलोसम्मका साना–ठूला शालिग्राम संग्रहित थिए ।


यी पनि पढ्नुहोस्ः

बहुमूल्य शालिग्राम चोरी

प्रकाशित : फाल्गुन २७, २०७५ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?