चारवटा कक्षाका १२ विद्यार्थी

शिव पुरी

रौतहट — चारवटा कक्षाका विद्यार्थी एउटैमा राख्दा संख्यामा कति पुग्छ होला ? अनुमान गर्ने हो भने कम्तिमा पनि सयभन्दा बढी हुन्छ । चन्द्रपुर १० स्थित पडहरियामा रहेको जनप्रिय प्राविमा आइतबार पुग्दा २,३,४ र ५ कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाइएको थियो ।

चारवटा कक्षाका १२ विद्यार्थी

तर संख्या भने जम्मा १२ जना थिए । कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी भर्ना संख्या ६४ छन् । शिक्षक, शिक्षिका तिनजना ।


विद्यालयमा विद्यार्थी भर्ना भएर पनि नआएका होइनन् । विद्यार्थी नै छैन । विद्यार्थी नभएकाले विद्यालयले चारवटा कक्षाकालाई एउटैमा राखेर पढाइएको हो । यो विद्यालयको कन्त विजोग छ । विद्यार्थी नभएकाले शिक्षक शिक्षिका पनि तनाबमा थिए । भर्ना भएकाहरू समेत नआइदिदा समस्या थपेको छ । कक्षा २ मा ८ जना भर्ना छन् । तर विद्यालयमा २ जना मात्र आउँछन् । ३ मा ११ जना भर्ना भएका छन् । ३ जनामात्र आएका थिए । ४ मा ७ जनामध्ये ४ जना आए । ५ मा १० जना भर्ना भएकोमा विद्यालयमा ५ जना मात्र आएका थिए । कक्षा एकको कोठा अलग्गै थियो । यसमा २८ जना भर्ना भएकोमा १२ जनामात्र प्राय आउछन् ।


विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रसादले गाउँमै विद्यार्थी जाने उमेरका बालबालिका नभएको बताए । ‘घरघर पुगेर बालबालिका भर्ना गराउनुस भनेका हौं,’ उनले भने, ‘हुनेखानेले निजीमा हाले । गाउँमा विद्यालय जाने उमेरका बालबालिकाहरू नै छैनन् । यस्तै गरी चलिरहेको छ ।’


त्यस्तै बालविकास कक्षमा १८ जना भर्ना गरिएकोमा ६ जनामात्र आएका थिए । विद्यार्थीहरू पढ्नै नआउने विद्यालयको भनाइ छ । यो गाउँमा ९० घरहरू छन् । बालबालिकाको संख्या २ सय बढी छ । धेरै जसोले निजी विद्यालयमा बालबालिकालाई भर्ना गराएका छन् । विद्यालयमा प्रअ विरेन्द्रको अलवा राहत कोटाका शिक्षिकाहरू अनिता चौधरी र अधिति कुमारी छन् ।

एउटा शिक्षक बराबर ५५ जना विद्यार्थी हुनुपर्ने नियम छ । यो विद्यालयको विजोग भएको पाइएको छ । विद्यालयका शिक्षिका चौधरीले नगरपालीकालाई विद्यार्थी छैन भनेर कति पटक भनिसकेको बताइन् । ‘हामीले यथार्थ जे छ त्यही भनेका छौं,’ उनले भनिन्, ‘यसरी नै अध्ययन चलेको छ । भगवान भरोसा छ ।’


विद्यालयमा कम विद्यार्थी भएपछि समस्या थपेको उनिहरूको गुनासो छ । बालबालिका नै नभएपछि उनीहरू समेत तनाबमा छन् । विद्यालयको अगाडिबाट वडाले बाटो खोलेको छ । गाउँमा जाने बाटो भएकाले बालबालिकालाई बाहिर निस्कन र खेल्न समस्या परेको छ । कुनै पनि बेला दुर्घटना हुन सक्ने त्रास छ । बालबालिकाहरू टिफिनको बेला समेत बाहिर निस्कदैनन् । शिक्षिका चौधरीले विद्यालय सँगै बाटो टासिएकाले धेरै समस्या परेको सुनाइन् ।


वडा अध्यक्षलाई भन्दा कुनै सुनवाइ नभएको उनले बताइन् । ‘कुनै बेला त मोटरसाइकल साइकलले बालबालिकालाई ठक्कर नै देला जस्तो गरी चलाएर जान्छन्,’ उनले भनिन्, ‘यहाँ समस्या नै समस्या छ ।’


सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । विद्यालयमा अहिले सम्म स्थानीय तहका कोही पनि जनप्रतिनिधिहरू नआएको विद्यालयका शिक्षक शिक्षिकाको गुनासो छ । जनप्रिय प्राविमा पहिलादेखि नै विद्यार्थी नभएको चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले बताए ।


‘विद्यालय निरीक्षणमा जादा उनले पनि विद्यार्थी नभएको पाएका थिए । ‘निकै थोरै विद्यार्थीहरू छन्,’ उनले भने, ‘विद्यालयलाई के गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’ चन्द्रपुर नगरपालिकाभित्र प्रावि, निमावि र मावि गरी वटा विद्यालयहरू रहेको प्रमुख मण्डलले बताए ।

प्रकाशित : फाल्गुन २७, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?