१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संरक्षित वन्यजन्तुलाई कुकुरको त्रास

१५ कस्तुरी, झारल र नाउर एक साताभित्रै मारिए 
हरिराम उप्रेती

गोरखा — वनका संरक्षित जनावरलाई कुकुरले मारेको र घाइते पारेको भेटिन थालेपछि चुमनुब्री १ को सामागाउँ र साम्दोवासी चिन्तित छन् । दुवै गाउँ आसपास संरक्षित वन क्षेत्रमा साताभिक्र छाडा कुकुरले १५ वटा जंगली जन्तु मारेका छन् । 

संरक्षित वन्यजन्तुलाई कुकुरको त्रास

छाडा कुकुरको आत्रमणबाट कस्तुरी, झारल र नाउर मारिएको गाउँलेले बताए । ‘समूह समूहमा जंगल पस्ने कुकुर करिब ३०/३५ वटा छन्,’ स्थानीय मिङमार लामाले भने, ‘हामीले मार्नु हुँदैन, कानुन लाग्छ भनेका जंगली जनावर कुकुरले भकाभक मारेका छन् ।’


कतिपय कुकुरको झुन्ड जंगलमै बस्छ । ‘तीन/चार सालयताबाट भुस्याहा कुकुर विस्तारै बढेका छन्,’ उनले भने, ‘कुकुरका हूलले जंगली जनावरलाई घेरा हालेर आक्रमण गर्छ ।’ घरपालुवा जनावरलाई पनि कुकुरले आक्रमण गर्ने गरेको उनले सुनाए । ‘जंगलबाट लखेट्दै ल्याएर घर आसपासमात्र १५–२० जनावर मारेको त देखिसक्यौँ,’ उनले भने, ‘हिउँ परेर जंगल जान सकेका छैनौँ, अझै धेरै होलान् ।’ लागतारको हिमपातले खानेकुरा नपाएपछि कुकुरले जंगली जनावर सिकार गर्ने गरेको हुन सक्ने अनुमान छ ।

भुस्याहा कुकुर नियन्त्रणका लागि स्थानीयले तीन वर्षअघि जिल्ला प्रशासनसमक्ष माग गरेका थिए । ‘उतिबेला सीडीओसाप गाउँ आउँदा भुस्याहा कुकुरको समस्या सुनाएका थियौँ,’ उनले भने । यहाँका बासिन्दाले कुकुर नियन्त्रणका लागि मनास्लु संरक्षण क्षेत्र (एमक्याप) सँग पनि हारगुहार गरेका छन् । कुकुर नियन्त्रणकै लागि एमक्यापले तीन वर्षअघि तीन लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘दुई वर्षअघि भुस्याहा कुकुर नियन्त्रणका लागि भन्दै सामागाउँमा गोष्ठी नै गर्‍यौँ,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने, ‘मार्नेभन्दा पनि नियन्त्रणका लागि बन्ध्याकरण गर्ने विषयमा छलफल भएको थियो ।’


तिब्बत, मनाङ र पर्यटकसँग पछि लागेर गएका कुकुरको संख्या बढ्दै जाँदा चुनौती थपिएको उनले बताए । ‘पर्यटक र व्यापारीलाई कुकुर नल्याउन सचेत पनि पार्‍यौँ,’ उनले भने । गत वर्ष बन्ध्याकरण गर्ने भनेर सदर चिडियाखानाबाट प्राविधिक ल्याएर प्रयास गरे पनि असफल भएको उनले सुनाए ।


‘बन्दुकले सुई हानेर बेहोस पारेर बन्ध्याकरण गर्न टोली सामागाउँ पुगेको थियो । नजिक गए भाग्ने, टाढाबाट हावाले गोली निसानामा लाग्न सकेन,’ उनले भने, ‘एक/दुईवटा बाहेक अरूमा बन्ध्याकरण गर्न सकेनौं ।’ भुस्याहा कुकुरले आतंक मच्चाएपछि गत वर्ष छाउरा बटुलेर हेलिकप्टरबाट ३०/३५ वटा सल्यानटार ल्याएर छाडिएको पनि उनले बताए । ‘तल बस्तीका मान्छेले लेकको कुकुर पाल्छौं, ल्याऊ भनेपछि रित्तो फर्कने हेलीमा हालेर केही तल झार्‍यौं,’ उनले भने, ‘कुकुरको संख्या घटाउन यो विधि सफलजस्तो देखिएको थियो ।’


गाउँलेमा कुकुर नियन्त्रणका लागि एमक्यापले ‘भुस्याहा कुकुर नियन्त्रण कोष’ बनाएर एक लाख उपलब्ध गराएको छ । ‘गाउँलेले कुकुर नियन्त्रण गर्न भनेपछि हामीले सर्भे गर्दा तीन वर्षअघि ६० वटा छन् भन्ने फेला परेको थियो,’ उनले भने, ‘केहीलाई हेलीबाट ल्याएपछि अझै ३० वटा जति बाँकी छन् भन्ने हाम्रो अनुमान छ ।’


संरक्षित जंगलका वन्यजन्तुलाई मार्न थालेपछि यसको नियन्त्रणको उपाय खोजिएको उनले बताए । ‘पोहोर कुकुरले १०/१२ वटा चौंरी र घोडाका बाच्छा मार्‍यो,’ उनले भने, ‘यो वर्ष पनि खानेकुरा नपाएपछि जंगली जनावरलाई मार्न थालेको छ, ।’ बर्खामा खर्कका गोठतिर जाने कुकुर हिउँदमा बस्तीतर्फ आएर आतंक मच्चाउने गरेको उनले बताए ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?