वैदेशिक रोजगार व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले गैरकानुनी रूपमा आर्थिक सहायता नदिँदा विप्लव समूहले विस्फोट गराएको भन्दै दोषीलाई कडा कानुनी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

सङ्घद्वारा गठित घटना समन्वय समितिका संयोजक दिलप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले मङ्गलवार प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कारबाहीको माग गरेको हो।

विप्लव नेतृत्वको भातृ सङ्गठन युवा सङ्गठन नेपालले गत शुक्रवार सङ्घका अध्यक्ष रोहन गुरुङको निवास/कार्यालयमा बम विस्फोट भएको थियो। विस्फोटबाट गाडी, घर, कार्यालयमा क्षति पुगेको छ।

टोलीले विस्फोट गर्नुअघि युवा सङ्गठन नेपालले चन्दा मागेको प्रधानमन्त्री समक्ष बताएका छन्। 'माग गरिएको आर्थिक चन्दा नदिइएको कारणले व्यवसायीलाई आतंकित बनाई डर, त्रास पैदा गरी आर्थिक सङ्कलन गर्ने नियतले विस्फोट गराइएको हो,' समितिका संयोजक पोखरेलले भने, 'यो विस्फोट व्यवसायीमाथिको मात्र नभई राज्यमाथि कै आक्रमण भएको हाम्रो ठहर छ।'

टोलीले सङ्घका अध्यक्षको घर, सवारी साधन, र कार्यालयमा गराइएको विस्फोटबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेको छ।

प्रकाशित : फाल्गुन २८, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भीषण आगलागी गाउँ पस्यो, ६ परिवारको घर गोठ जले अझै नियन्त्रणमा आएन

कुम्भराज राई

ओखलढुंगा — यहाँको सिद्धिचरण नगरपालिका-२ चुहानछापमा नजिककै जंगलबाट सुरु भएको डढेलो गाउँ पसेपछि छ परिवारको घरगोठ जलेको छ । ठूलो हावाहुरी बढ्दै गएपछि गाउँमा आगो लाग्न थालेको हो । पानीको अभाव र बतासको कारण हालसम्म आगो नियन्त्रणमा आउन नसकेको प्रत्यक्षदर्शी गेजराज श्रेष्ठले बताए ।

सेना, प्रहरी र स्थानीय लगायतले निरन्तर प्रयास गरेपनि नियन्त्रणमा ल्याउन गाह्रो भएको हो । 'एकातिर निभाउन जाँदा अर्कोतिर घर जलिसकेको अवस्था छ,' प्रत्यक्षदर्शी श्रेष्ठले भने, 'केही गर्दा नियन्त्रण होला जस्तो छैन ।' गाईवस्तु र मानवीय क्षति नभएपनि घरभित्रको कुनै सामान निकाल्न नसकिएको गाउँलेको भनाइ छ ।

जिल्ला प्रहरीका प्रहरी निरिक्षक राजीव श्रेष्ठका अनुसार आगलागी केही नियन्त्रणमा आइसकेपनि पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

प्रकाशित : फाल्गुन २८, २०७५ १५:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT