युवा उद्यम परियोजना प्रस्ताव लेखनमा देशव्यापी प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्ले उद्यम गर्न चाहने युवाका लागि गराएको परियोजना लेखन प्रतिस्पर्धामा स्याङ्जाकी सुनीता क्षत्री पहिलो भएकी छन् । सात प्रदेशका २० युवाले भाग लिएको प्रतियोगितामा काभ्रेका विजय तामाङ दोस्रो र बर्दियाका टोपलाल विक तेस्रो भए ।

नवलपरासीका देवेन्द्र चौधरी र ललितपुरकी अस्मिता महर्जनले सान्त्वना पुरस्कार जितेका छन् ।


विजेतालाई युवा तथा खेलकुदमन्क्री जगतबहादुर सुनार विश्वकर्माले त्रमशः ५० हजार, ३५ हजार, २० हजार र दस–दस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका छन् । प्रतिस्पर्धामा उत्कृष्ट परियोजनालाई नमुनाका रूपमा प्रकाशन गरिने जनाइएको छ ।


जिल्ला र प्रदेशमा उद्यम परियोजना प्रस्ताव लेखनबाट उत्कृष्ट भएर उनीहरू प्रतिस्पर्धाका लागि संघीय राजधानी आएका थिए । ‘सिर्जनात्मक काम गर्न खोज्ने युवा धेरै छन् तर विस्तृत योजना निर्माण गर्न नजान्दा ऋण, अनुदान पाउन सक्दैनन्,’ परिषदका उपाध्यक्ष माधव ढुंगेलल भने, ‘त्यसैले परियोजना प्रस्ताव लेखनमा प्रतिस्पर्धा गराएका हौं ।’


मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरेको छ । कार्यविधिअन्तर्गत युवाले सात प्रकारको परियोजनाअन्तर्गत सहुलियत ऋण लिन पाउँछन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?