१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजपाको महाधिवेशन सर्ने 

फोरमको समयमै
अवधेशकुमार झा

राजविराज — राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन सर्ने भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीको एउटा समूह पार्टीमा समाहित भएकाले महाधिवेशन सर्ने भएको हो । राष्ट्रिय जनमुक्ति पार्टीको मानध्वज बलोन समुहसित राजपाको शुक्रबार राजधानीमा एकीकरण भएको हो ।

राजपाको महाधिवेशन सर्ने 

‘जनमुक्ति पार्टीको ४० जिल्लामा संगठन छ, सबैतिर एकीकरण गरेर अधिवेशनहरू गर्न समय चाहिएकाले महाधिवेशनको मिति केही दिन हेरफेर हुन सक्छ,’ राजपाका एक नेताले भने । आगामी महाधिवेशनको बैशाख ७, ८ र ९ गतेलाई तोकेको राजपाले नयाँ मिति भने निर्धारण गरिसकेको छैन ।


मधेसी मोर्चाका ७ घटकमध्ये संघीय समाजवादी फोरम नेपाल बाहेक तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सदभावना पार्टी, नेपाल सदभावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण भई ०७४ बैशाख ७ गते राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो ।


राजपाको तदर्थ विधानमा एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने भनिएको थियो । तर आन्दोलन र निर्वाचनको कारण देखाउँदै राजपा नेपालले तदर्थ विधानमा संशोधन गरी २ वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था गरेको थियो । जसअनुसार आगामी असार २३ गतेभित्र महाधिवेशन गरिसक्नुपर्छ । राजपा फागुनभिक्र साधारण सदस्यता र सत्रिय सदस्यता वितरण गरेर वडा, पालिका, क्षेत्रीय, जिल्ला र प्रादेशिक अधिवेशन गर्ने तयारीमा छ ।


एकल अध्यक्षीय प्रणालीमा जाने

राजपा नेपाल स्थापना भएदेखि अध्यक्ष मण्डलीय प्रणालीमा छ । लामो समयसम्म महन्थ ठाकुर अध्यक्ष मण्डलका संयोजक भए । अध्यक्ष मण्डलकै सदस्यहरूले पार्टी गठनताका अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीमा जानुपर्ने सहमति भएको भन्दै भनी दबाव बढाएपछि राजेन्द्र महतो अध्यक्ष मण्डलका संयोजक भए ।


महतोपछि अहिले महेन्द्र राय यादव अध्यक्ष मण्डलका संयोजक छन् । अब राजपाले एकल अध्यक्षीय प्रणालीमा जाने मनस्थिति बनाएको छ । यसको टुंगो भने महाधिवेशनले लगाउनेछ । तर गत जेठमा भएको राजपा नेपालको राजनैतिक समितिको बैठकले एकल अध्यक्षीय प्रणालीमा जाने निर्णय गरिसकेको राजपाका महासचिव केशव झाले बताए ।


तीन आकांक्षी

राजपा नेपालको राजपाको आगामी नेतृत्वका लागि महन्थ ठाकुर, राजेन्द्र महतोले कार्यकर्ता माझ लबिङङ सुरु गरिसकेका छन् । अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव पनि अध्यक्ष पदका आकांक्षी छन् । ‘महाधिवेशनसम्म पुग्दा अध्यक्ष मण्डलका सदस्यहरूको ध्रुवीकरण परिवर्तन हुन सक्छ,’ राजपाका एक केन्द्रीय नेताले भने । उनका अनुसार अहिले ठाकुरसँग अनिलकुमार झा र महतोसँग शरदसिंह भण्डारीको मतैक्यता छ । अध्यक्ष मण्डलका राजकिशोर यादवको लाइन स्पष्ट भइसकेको छैन ।


फोरमको समयमै

संघीय समाजवादी फोरम नेपालको महाधिवेशनको तयारी सुरु गरेको छ । फोरमको महाधिवेशन तोकिएको समयमै हुने महासचिव रामसहायप्रसाद यादवले बताए । फोरमले महाधिवेशनका लागि आगामी वैशाख २८, २९ र ३० गतेको तिथि तोकेको छ । फोरमको महाधिवेशन जनकपुरमा हुने तय छ ।


महाधिवेशन तयारीका क्रममा फोरमले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीव्र गतिमा अगाडि बढाएको छ । फोरमको तराई मधेस प्रादेशिक समितिका मुख्य सचिव शम्भु झाका अनुसार प्रदेश नम्बर २ को अधिवेशन आगामी चैत २१ र २२ गते लहानमा हुँदैछ । महासचिव यादवले क्रियाशील सदस्यता नवीकरण र वितरणपछि चैत १० गतेभित्र जिल्ला अधिवेशन तथा चैत मसान्तभित्रै प्रदेश अधिवेशनहरू गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?