विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

दुर्गा खनाल

काठमाडौँ — सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधि आपराधिक भएको ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए ।

फाइल तस्बिर ।

उक्त समूह राजनीतिक उद्देश्य भन्दा हिंसात्मक र आपराधिक ढंगले अघि बढेकाले कानूनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । 'वार्तामा आउन पटक पटक आग्रह गर्‍यौं तर वार्तालाई वास्ता गरेन, उल्टो हिंसात्मक गतिविधि गर्दै गयो,' एक मन्त्रीले कान्तिपुरसँग भने, 'चन्द समूहको राजनीतिक उद्देश्य पनि देखिएन, आपराधिक खालको गतिविधिमा मात्र संलगन रह्यो । त्यसैले त्यस्ता गतिविधि रोक्ने निष्कर्षमा सरकार पुगेको हो ।'

अब प्रहरीले चन्द समूहको गतिविधिमा विशेष निगरानी र कारवाही अघि बढाउने छ । 'चन्द समूहको गतिवधि नियन्त्रण गर्न यसअघि केही अन्योल थियो । मन्त्रिपरिषदको निर्णयले अन्योल हटाएको छ,' ती मन्त्रीले भने ।
चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता छैन । समान्यतया दलका रुपमा भनिए पनि कानूनी रुपमा दलको हैसियत छैन । त्यसैले यो समूहलाई दलको रुपमा सरकारले बुझेको छैन । त्यसैले हिंसात्मक गतिविधि गर्ने आपराधिक समूहको रुपमा यसलाई व्याख्या गरेको छ ।

पछिल्लो समय चन्दको समूहले विस्फोट, आगजनी, चन्दा असुली लगायतका घटनाहरु बढाएको थियो । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय केन्द्रित गरेर विस्फोट गराएको थियो । उक्त विस्फोटमा एक जनाको ज्यान गएको थियो । त्यही दिन उक्त, समूहले राजधानीको कमलपोखरीमा बम राखेको थियो । त्यस्तै फागुन २४ गते वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा विस्फोट गराएको थियो । उक्त विस्फोटमा ४ जना घाइते भएका थिए । करिब डेढ महिनाअघि संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको विद्यतुगृहमा विस्फोट गराएको थियो । त्यस्तै एनसेलका बाग्लुङ, म्याग्दी, कास्की, नवलपरासी, कपिलवस्तु लगायतका विटिएस टावरमा आगजनी गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरुलाई धम्काउँदै चन्दा असुलीलाई तिब्रता दिएको थियो । विद्यालय लगायतमा संगठित संघसंस्थाहरुमा पनि चन्दाका लागि पत्र पठाउने क्रम चन्द समूहले तीव्र बनाएको थियो ।
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हाडनाता करणीमा ३७ वर्ष ६ महिना कैद

कान्तिपुर संवाददाता

ओखलढुंगा — हाडनाता करणीको एक मुद्दाका प्रतिवादीलाई जिल्ला अदालतले मंगलबार ३७ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश कैलाश केसीको इजलासले उक्त फैसला सुनाएको हो ।

प्रतिकात्मक तस्बिर ।

गत कात्तिक ८ गते दर्ता भएको हाडनाता करणी मुद्दामा जिल्ला अदालतले फागुन ९ गते नै कसुर निर्धारण गरेको थियो । कसुर सजाय निर्धारणका लागि मंगलबार पेसी राखिएको थियो ।

गत असोज १० गते घटेको घटना हाडनाता करणीसँग सम्बन्धित भएकाले परिचय गोप्य राखिएको जिल्ला अदालतका स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए ।

जन्मकैदको २५ वर्ष र करणीबापत सोको आधा १२ वर्ष ६ महिना गरी ३७ वर्ष ६ महिना सजाय सुनाएको हो ।

नयाँ संहिता लागू भएपछि हाडनाता करणीको घटनामा सबैभन्दा धेरै सजाय सुनाएको यो पहिलो हो । प्रतिवादीलाई प्रहरीले यसअघि नै पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।

प्रकाशित : फाल्गुन २८, २०७५ २०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT