कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साना उद्योगमा विदेशी लगानी खुला नगर्न दबाब

विजय तिमल्सिना

काठमाडौँ — साना तथा घरेलु उद्योगमा विदेशी लगानी खुलाउन नहुने पक्षमा दबाब बढेको छ  । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधेयकमा साना तथा घरेलु उद्योग, माछापालन, शैक्षिक परामर्श दिने व्यवसायलगायतमा विदेशी लगानी खुला गर्ने प्रावधान राखेपछि उद्योग व्यवसाय क्षेत्रले विरोध जनाइरहेका बेला सांसदहरूले समेत संशोधन प्रस्ताव दर्ता गराएका हुन्  ।

साना उद्योगमा विदेशी लगानी खुला नगर्न दबाब

पहिले यी क्षेत्रमा विदेशी लगानी खुला थिएन । उद्योग मन्त्रालयले संसद्मा दर्ता गरेको विधेयक छलफलका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिमा छ । सांसदहरू मोहन बानियाँ, पाल्देन छेपाङ गुरुङ, पार्वत गुरुङ, रवीन्द्रराज शर्मा, लालबहादुर थापाले पहिलेकै व्यवस्था कायम गर्न भन्दै संशोधन हालेका हुन् ।

विधेयकमा ६४ वटा संशोधनका लागि ३४ सांसदको प्रस्ताव छ । उनीहरूले लघु उद्यम, घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा पनि वैदेशिक लगानी खोल्न नहुने प्रस्ताव गरेका छन् । फलफूल खेती, पशुपालन, मौरीपालन, दुग्ध प्रशोधन व्यवसाय, कार्गो, जडिबुटीमा पनि विदेशी लगानी खुला गर्न नहुने प्रावधान राख्न उनीहरूको संशोधन छ । विधेयकमा कुखुरापालन, व्यक्तिगत व्यवसाय, घरजग्गा खरिदबिक्री, खुद्रा व्यापार, क्याटरिङ, रेमिट्यान्स सेवाजस्ता विषयमा भने विदेशी लगानी खुला नगर्ने व्यवस्था छ ।


सांसदहरूले जलस्रोत, शिक्षा, स्वास्थ्य, होटल, रिसोर्ट, एयरपोर्टजस्ता पूर्वाधारमा विदेशी लगानी आवश्यक पर्ने भनी किटान गर्नुपर्ने प्रस्ताव गरेका छन् । सांसद भरतकुमार शाहले विदेशी लगानी खुला नगरिएको सूचीमा साना, घरेलु, कृषि, वन र परम्परागत उद्योग पनि थप्ने प्रस्ताव गर्दै संशोधन दर्ता गराएका छन् । विधेयकमा साना तथा मझौला उद्योगलाई विदेशी लगानी खुला नगरिएको क्षेत्रका रूपमा प्रस्ट परिभाषित गरिएको छैन । विधेयकको अनुसूचीमा विदेशी लगानी खुला नगरिएको केही क्षेत्रलाई परिभाषित गरिएको छ ।


सांसद दिव्यमणि राजभण्डारी र पुष्पा भुसाल गौतमको लघु तथा साना उद्योग व्यवसायलाई वैदेशिक लगानी बन्देज हुने प्रावधान राख्न माग गर्दै संशोधन प्रस्ताव छ । सांसद गगन थापा र सञ्जय गौतमले विदेशी लगानी भएका उद्योगमा विशेषज्ञ, उच्च प्राविधिक र व्यवस्थापकीय कर्मचारीबाहेक अन्य कर्मचारी वा श्रमिक नेपाली नागरिक हुनुपर्ने भनेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायत निजी क्षेत्रका संघसंस्थाले पनि साना तथा घरेलु उद्योगमा वैदेशिक लगानी भिœयाउने प्रावधान हटाउन माग गरिरहेका छन् । नेपाल चेम्बर अफ कमर्सले मंगलबार विज्ञप्ति जारी गर्दै कतिपय क्षेत्रमा नेपाली नै सक्षम रहेकाले वैदेशिक लगानी खुला गर्न आवश्यक नभएको बताएको छ ।

विज्ञप्तिमा आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रविधियुक्त ठूला परियोजनामा मात्रै वैदेशिक लगानी उपयुक्त हुने उल्लेख छ । चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले यो विधेयक संसद्मा दर्ता गराएको हो । सम्मेलनअगावै विधेयक पारित गर्ने तयारी छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?