कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जापान र चीन उडान अनिश्चित

कान्तिपुर संवाददाता

काठमाडौँ — दुइटा वाइडबडी विमान भित्र्याएको नेपाल वायुसेवा निगमले आफैंले सार्वजनिक गरेको तालिका र व्यावसायिक योजनाअनुसार जापान र चीनमा उडान गर्न सकेन  । निगमले फेब्रुअरी १ देखि जापानको ओसाका र मार्च १ देखि चीनको ग्वाङजाओमा सातामा ३/३ वटा उडान भर्ने घोषणा गरेको थियो  ।

जापान र चीन उडान अनिश्चित

यस विषयमा सोमबार संघीय संसदको सार्वजनिक लेखा समितिमा सांसदहरूले प्रश्न उठाए । समितिमा उपस्थित निगम सञ्चालक समितिका चार सदस्यले ढिलाइको कारणबारे चित्तबुझ्दो जवाफ दिन सकेनन् ।


समितिले मंसिर ९ गते डाकेको बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले फेब्रुअरीमा जापान र मार्चदेखि चीनमा उडान गर्ने सुनाएका थिए । सोमबारको बैठकमा निगम सञ्चालक समिति सदस्य अच्युत पहाडीले युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीलाई आफ्ना सदस्य राष्ट्रमा लगाएको निषेधका कारण अहिल्यै जापान र चीनमा उडान गर्न नसकिने बताए । ‘जबसम्म ईयूको कालोसूचीबाट हटदैनौं, जापान र चीनका लागि अनुमति पनि पाउँदैनौं । त्यसबेलासम्म वाइडबडीबाट दिल्ली, मलेसिया, दोहा उडाइरहने छौं,’ उनले भने ।


नेकपाका सांसद सूर्य पाठकले निगमले सबैभन्दा धेरै नेपाली रहेको जापानको नारितामा उडान नगरी ओसाकातर्फ मोडिनु देशकै लागि ठूलो आर्थिक नोक्सानी हुने बताए । उनले भने, ‘निगमको यो निर्णयले यो संस्थाको नेतृत्व अदूरदर्शी, गैरजिम्मेवार र उड्डयन व्यापार नबुझेको पृष्ठभूमिको देखिन्छ ।’ कार्यकारी अध्यक्ष खरेलले देवमान हिराचनसँगको व्यक्तिगत लाभका कारण नारिता उडानको तयारी नगरी ओसाका उडान थालेको पाठकले कान्तिपुरलाई बताए ।


बैठकमा बोर्ड सदस्यहरू पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, निजी क्षेत्रका तर्फबाट निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे र विज्ञका रूपमा सदस्य रहेका अच्युत पहाडी सहभागी थिए । उनीहरूले हालै प्रधानमन्त्रीले नियुक्त गरेका कार्यकारी अध्यक्ष खरेलले आफूहरूलाई जानकारी नदिई निर्णय गर्ने गरेको गुनासो राखेका थिए । लेखाले चारवटा एयरबस (दुइटा न्यारोबडी÷दुइटा वाइडबडी) को मर्मत सम्भार तथा इन्जिन भाडामा लिन निगमले आहवान गरेको बोलपत्रबारे सोधेको थियो ।

तर सदस्यहरूले यसबारे औपचारिक जानकारी नभएको बताए । यो टेन्डरबारे सञ्चालक समितिमा कुनै औपचारिक जानकारी नरहेको सहसचिव लामिछानेको भनाइ छ । सांसदद्वय विरोध खतिवडा र हृदयेश त्रिपाठीले सोधेको प्रश्नमा उनले भने, ‘विमान मर्मत ठेक्काको कागजात नहेरेको, हामीलाई नबुझाएको, कागजात नभएको जानकारी गराउँछु ।’ उनले निगमले टेन्डर जारी गरेका बेला आफू बोर्ड सदस्य नरहेको बताउँदै अहिले बदर भएको एउटा ठेक्काबारे अनौपचारिक रूपमा सुनेको जवाफ दिए ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?