१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीनमा पढेका ११० विशेषज्ञ फेल

चिकित्सा लाइसेन्स परीक्षा
अतुल मिश्र

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी/एमएस/एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन्  । चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्  ।

नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरू उत्तीर्ण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ ।


यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ डाक्टर सहभागी भएकामा ४० प्रतिशत फेल भएका थिए । स्रोतका अनुसार फिलिपिन्सबाट चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका ४७ डाक्टर परीक्षामा बसेकामा १८ जना अर्थात् ३८.२ प्रतिशत फेल भए । किर्गिस्तानबाट पढेका ११ मध्ये ९ जना (८१.८ प्रतिशत) डाक्टर फेल भए ।


छिमेकी मुलुक भारतका २३ मध्ये २ (८.६ प्रतिशत), पाकिस्तानका ९ मध्ये १ (११ प्रतिशत) डाक्टर फेल भए भने बेलारुस, दक्षिण कोरियाबाट पढेर आएका एक–एक जना सहभागी भए पनि पास हुन सकेनन् । रुसी महासंघबाट पढेर आएका २ मध्ये एक जना पास भए भने अर्का फेल भएका छन् । बेलायत, अमेरिका, जापानबाट पढेर आएका एक–एक जना सहभागी भएकामा सबै पास भए ।


नेपालको मेडिकल कलेजबाट स्नातकोत्तर गरेका १ सय २१ जना परीक्षामा सहभागी भएकामा ३ जना अर्थात् २.४ प्रतिसतमात्र फेल भए । गत साता लिइएको यो विशेष परीक्षामा सरिक ३ सय ६८ मध्ये १ सय ४६ जना फेल र २ सय २२ जना पास भएका हुन् ।

फेल भएका यी चिकित्सकले विशेषज्ञको हैसियतले मुलुकमा काम गर्न पुनः ४ महिनापछि लिइने लाइसेन्स परीक्षा उत्तीर्ण हुनुपर्छ । केही वर्षयता काउन्सिलले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति दिन लिने लाइसेन्स परीक्षामा सहभागी एमबीबीएस/बीडीएस गरेकासमेत करिब आधाजति डाक्टरहरू फेल भइरहेका छन् । मुलुकभर काउन्सिलमा दर्ता चिकित्सक करिब २३ हजार छन् । यीमध्ये करिब ७ हजार विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् ।


रेडियोलोजीमा सबैभन्दा बढी फेल
नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सबैभन्दा बढी रेडियोलोजी र त्यसपछि इन्टरनल मेडिसिनका डाक्टरहरू फेल भएका छन् । स्नातकोत्तरमा रेडियोलोजी पढेका ४९ जना विशेषज्ञ डाक्टर विशेष परीक्षामा संलग्न भए पनि ३७ जना अर्थात् ७५.५ प्रतिशत फेल भए ।

यस्तै इन्टरनल मेडिसिन पढेका ७१ डाक्टर परीक्षामा संलग्न भए पनि ४३ जना (६० प्रतिशत) फेल भएका थिए । पेडियाट्रिक्स पढेका २८ डाक्टरमध्ये १२ जना (४२.८ प्रतिशत) फेल भए । जनरल सर्जरीमा ३१ मध्ये १२ (३९ प्रतिशत) तथा अर्थोपेडिक्सका १८ मध्ये ७ (३८.८ प्रतिशत) फेल भए ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?